प्रत्येक त्रैमासको अन्तिम महिना कर्जा प्रवाह उच्च

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण
  • पहिलो त्रैमासको अन्तिम महिना असोजमा कर्जा प्रवाह सामान्य देखिए पनि पुस र चैतमा अन्य महिनाको तुलनामा कर्जा प्रवाह अत्यधिक

बैंकहरूले त्रैमासको अन्तिम महिनामा उच्च दरमा कर्जा प्रवाह गर्ने गरेको देखिएको छ । चालू आवको पहिलो त्रैमासको अन्तिम महिना असोजको कर्जा प्रवाह सामान्य देखिए पनि पुस र चैतमा अन्य महिनाको तुलनामा कर्जा प्रवाह ह्वात्तै बढेको नेपाल बैंकर संघको तथ्यांकले देखाउँछ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले हरेक त्रैमासको अन्तिम महिनाको पनि अन्तिम साता कर्जा प्रवाह उच्च हुने गरेको बताए । त्रैमासको अन्तिम समयमा असुल नभएको ब्याज पुँजीकरण गर्दा पनि कर्जा बढेको देखिन्छ । यसैगरी सञ्चालक तथा व्यवस्थापनले शाखा प्रमुखहरूलाई कर्जा तथा निक्षेप बढाउन त्रैमासिक लक्ष्य दिएका हुन्छन् ।

त्यसले गर्दा पनि उक्त समयमा प्रत्येक शाखाले कर्जा प्रवाह बढाउने कोसिस गर्दा कर्जा बढ्ने गरेको उनको भनाइ छ । ‘त्रैमासभित्र कर्जाको किस्ता असुल गर्नैपर्छ । तर, असुल नभएको ब्याज पुँजीकरण गर्दा पनि यस्तो देखिन्छ । यसैगरी सञ्चालक तथा व्यवस्थापनले शाखा प्रमुखहरूलाई कर्जा तथा निक्षेप बढाउन त्रैमासिक लक्ष्य दिएका हुन्छन् । त्यसले गर्दा पनि यो वेलामा कर्जा प्रवाह बढाउने गर्छन्,’ उनले भने, ‘कतिपय अवस्थामा बैंकहरूले एभरग्रिनिङ (ऋण तिर्न पनि ऋण दिएका) गरेका हुन सक्छन् । त्यो भने गलत प्रवृत्ति हो, त्यस्तो गरेमा राष्ट्र बैंकले कारबाहीसमेत गर्न सक्छ । यस्तो प्रवृत्तिलाई भने निर्मूल पार्नुपर्छ ।’ 

चालू आवको पहिलो त्रैमासको पहिलो महिना साउनमा १० अर्ब ८६ करोड रुपैयाँले कर्जा घटेको थियो । त्यसपछि प्रमुख चाडपर्वको समय भदौमा ४३ अर्ब २५ करोड रुपैयाँ र असोजमा ४० अर्ब ६८ करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ । त्यसलगत्तै दोस्रो त्रैमासको पहिलो महिना कात्तिकमा २२ अर्ब ४१ करोड रुपैयाँले कर्जा प्रवाह घट्दा मंसिरमा २६ अर्ब ५५ करोड रुपैयाँले बढेको थियो । दोस्रो त्रैमासको अन्तिम महिना पुसमा एकैपटक एक खर्ब चार अर्ब ८१ करोड रुपैयाँ कर्जा बढेको देखिन्छ । पुसको अन्तिम साता (२६–३०) मात्र ५३ अर्ब ५१ करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ । 

यसैगरी, तेस्रो त्रैमासको पहिलो महिना माघमा ६५ करोड रुपैयाँले मात्रै कर्जा प्रवाह भएको छ । त्यसपछि फागुनमा १५ अर्ब ७३ करोड कर्जा प्रवाह भएको छ । तर, चैतमा एकैपटक ७७ अर्ब ९९ करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ । चैतको २१–२७ मा २९ अर्ब १८ करोड रुपैयाँ र चैतको २८–३० मा ३१ अर्ब ८४ करोड रुपैयाँले कर्जा प्रवाह बढेको तथ्यांकमा उल्लेख छ । 

तथ्यांकअनुसार गत आवमा पनि यही प्रवृत्ति देखिन्छ । गत आवको साउनमा दुई अर्ब र भदौमा ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यसपछि असोजमा ५६ अर्ब रुपैयाँले कर्जा प्रवाह भएको देखिन्छ । 

त्यसपछि कात्तिकमा दुई अर्बले कर्जा प्रवाह घट्दा मंसिरमा ४२ अर्ब रुपैयाँले बढेको थियो । त्यसपछि पुसमा एकैपटक ९४ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको थियो । त्यसपछि माघमा १२ अर्ब र फागुनमा २३ अर्ब रुपैयाँले कर्जा बढेको देखिन्छ । त्यसपछि चैतमा आएर एकैपटक ६५ अर्ब रुपैयाँले बढेको थियो । त्यसपछि वैशाखमा चार अर्बले कर्जा प्रवाह घट्दा जेठमा ३६ अर्ब र असारमा २७ अर्बले बढेको देखिन्छ । 

नौ महिनामा पौने तीन खर्बले बढ्यो कर्जा
चालू आवको नौ महिनामा २० वाणिज्य बैंकको कर्जा प्रवाह दुई खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले बढेको छ । गत असारसम्म वाणिज्य बैंकको कर्जा प्रवाह ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ थियो । चैत मसान्तसम्म आउँदा त्यो ५२ खर्ब ५० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यसैगरी, निर्देशित कर्जाको सीमा पुर्‍याउन पनि बैंकहरूले लक्षित क्षेत्रमा छोटो अवधिको ऋण दिएर असुल गर्ने प्रवत्ति पनि रहेको एक बैंकरले बताए । 

६ खर्बले बढ्यो निक्षेप 
चालू आर्थिक वर्ष ०८२/८३ को नौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप पाँच खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले बढेको छ । गत असारसम्म वाणिज्य बैंकमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ निक्षेप थियो । चैतसम्म आउँदा त्यो ७१ खर्ब २७ अर्ब ९६ करोड रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ । 

संघका अनुसार ५२ अर्ब २२ करोड रुपैयाँले निक्षेप घट्दा भदौमा ९३ अर्ब ९४ करोड रुपैयाँ, असोजमा एक खर्ब ७९ अर्ब रुपैयाँ, कात्तिकमा तीन अर्ब २३ करोड रुपैयाँ र मंसिरमा ५९ अर्ब ७० करोड रुपैयाँले निक्षेप बढेको छ । यसैगरी, पुसमा एक खर्ब २९ अर्ब ६८ करोड रुपैयाँ, माघमा १० अर्ब ३१ करोड रुपैयाँ, फागुनमा ५० अर्ब सात करोड रुपैयाँ र चैतमा एक खर्ब २३ अर्ब ४१ करोड रुपैयाँले निक्षेप बढेको छ ।

भुवन दाहाल, पूर्वअध्यक्ष, नेपाल बैंकर्स संघ
हरेक त्रैमासभित्र कर्जाको किस्ता असुल गर्नैपर्छ । तर, असुल नभएको ब्याज पुँजीकरण गर्दा पनि यस्तो देखिन्छ । यसैगरी सञ्चालक तथा व्यवस्थापनले शाखा प्रमुखहरूलाई कर्जा तथा निक्षेप बढाउन त्रैमासिक लक्ष्य दिएका हुन्छन् । त्यसले गर्दा पनि यो वेलामा कर्जा प्रवाह बढाउने गर्छन् । कतिपय अवस्थामा बैंकहरूले एभरग्रिनिङ (ऋण तिर्न पनि ऋण दिएका) गरेका हुन सक्छन् । त्यो भने गलत प्रवृत्ति हो, त्यस्तो गरेमा राष्ट्र बैंकले कारबाहीसमेत गर्न सक्छ । यस्तो प्रवृत्तिलाई भने निर्मूल पार्नुपर्छ ।

सुझावित समाचार