सरकारले स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र)मा ३९ वटा विशेषता थप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै लाइसेन्समा भिन्न–भिन्न सुरक्षण विशेषता समावेश गरिएको जनाएको हो ।
सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भइरहेको स्मार्ट लाइसेन्समा प्राविधिक पक्ष र सुरक्षा सुदृढीकरण गर्दै ‘स्मार्ट चिप’ पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन–अफलाइन प्रमाणीकरणको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
‘हाल छपाइ भइरहेको स्मार्ट चिपमा पूर्ण रूपमा अन्तर्राष्ट्रियस्तरको आइएसो ७८१० आइडी–१ गुणस्तरमा आधारित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर प्रचलित क्रेडिट कार्डको मानक आधारित रहेको र विकसित मुलुकहरूले आफ्ना संवेदनशील र अनुमतिपत्रमा दशकौँदेखि प्रयोग गर्दै आएको प्रविधिमा आधारित छ ।’ यो स्मार्ट लाइसेन्स हालसम्म जारी भएकामध्ये सबैभन्दा सुरक्षित र अत्याधुनिक अनुमतिपत्र भएको पनि मन्त्रालयको दाबी छ ।