अचाक्ली महँगी, जनजीवन झन् कष्टकर

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण
  • अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणसँगै मध्यपूर्वमा बढेको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालीको भान्सासम्मै पुग्यो महँगी । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायातको भाडासम्म वृद्धि ।

शक्तिशाली नयाँ सरकारको आगमनसँगै राहतको अपेक्षा गरेका नागरिकको जनजीवन सर्वत्र चुलिएको महँगीले झन् कष्टकर बन्दै गएको छ । अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणसँगै मध्यपूर्वमा बढेको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालीको भान्सासम्मै महँगी भित्रिएको छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायातको भाडासम्म बढेको छ । किसानले बारीमा राम्रो भाउ नपाएको तरकारीलाई उपभोक्ताले भने चर्को मूल्य तिर्नुपरेका घटनाले कालोबजारी रोक्न सरकारका निकाय निष्प्रभावी बनेको देखाउँछ ।

सरकारको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नै गरेको अध्ययनमा बढी मूल्यवृद्धि सबैभन्दा धेरै खपत हुने चामल, तेल, दाल, गेडागुडीलगायतमा भएको छ । चामलमा पनि सबैभन्दा धेरै बिक्री हुने स्टिम जिरा मसिनोमा फागुनको तुलनामा चैतमा औसत खुद्रा मूल्य प्रतिकेजी १७ रुपैयाँले बढेको छ, जुन २५ केजीको बोरामा ४२५ रुपैयाँले वृद्धि हो । त्यस्तै, सोना मन्सुली चामल २५ केजीको बोरामा २५० रुपैयाँले बढेको छ भने बासमती चामल २० केजीको बोरामा तीन सय रुपैयाँले महँगिएको छ ।

खानेतेलतर्फ सबैभन्दा धेरै खपत हुने सनफ्लावर तेल लिटरमा १५ रुपैयाँ बढेर ३०५ रुपैयाँ पुगेको छ । त्यस्तै, जिरा र धनियाँ (दाना) क्रमशः प्रतिकेजी ५० र ७० रुपैयाँले बढेको छ । चिउराको भाउ प्रतिकेजी २५ देखि ५० रुपैयाँसम्म र राज्मा प्रतिकेजी ६० रुपैयाँले बढेको छ ।

वाणिज्य विभागले प्रत्येक महिना बजार मूल्य संकलन गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । विभागका निरीक्षण अधिकृतहरूले खुद्रा बजारमा पुगेर मूल्य संकलन गर्दै आएको प्रवक्ता नरहरि तिवारीले जानकारी दिए । संकलित मूल्यसूचीका आधारमा तुलनात्मक विवरण सार्वजनिक गर्दै आएको उनले बताए ।

खाद्यान्नभन्दा पनि अकासिएको छ हरियो तरकारीको भाउ । एक महिनाको अवधिमा झन्डै दुई सय प्रतिशतसम्म महँगिएको छ । सबैभन्दा महँगो टाटेसिमी छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ चैतमा औसत ३७ रुपैयाँ प्रतिकेजी थोक (होलसेल) मूल्य रहेको टाटेसिमी सोमबार ११० रुपैयाँमा बिक्री भयो । त्यस्तै, काउली, फर्सी, बरेलालगायतको भाउ दोब्बरले बढेको छ ।

कालीमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले नियमित परिमाणमै तरकारी आपूर्ति भइरहेको, तर ढुवानी लागतमा भएको वृद्धिले मूल्यमा चाप परेको बताए । ‘दैनिक औसत आवागमन सात सय टन हो, अहिले सोही परिमाणबराबरको तरकारी आयात भइरहेको छ,’ उनले भने, ‘ढुवानी लागतले केही असर गरेको देखिन्छ । ढुवानी भाडा बढेपछि स्वाभाविक रूपमा उपभोक्ता मूल्यमा केही चाप पर्छ ।’

कालीमाटीको औसत मूल्यको तुलनामा काठमाडौं उपत्यकाका अन्य साना बजारमा थप मूल्यवृद्धि हुने प्रवृत्ति छ । तर, कालीमाटीमै दैनिक तरकारीको औसत भाउ बढिरहेको छ । समितिको तथ्यांकअनुसार आइतबार गाजरको औसत मूल्य ५० रुपैयाँ प्रतिकेजी रहेकोमा सोमबार बढेर ५५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको भाउका कारण नेपाली बजारमा पनि इन्धनको भाउ समायोजन भइरहेकाले असर परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए । ‘इन्धनको भाउ बढेपछि सबैतिर असर पर्ने नै भयो,’ उनले भने, ‘अहिले भइरहेको इन्धनको भाउ वृद्धिमा अन्तर्राष्ट्रिय कारक तत्व नै प्रमुख रहेकोमा हामी सबै जानकार नै छौँ ।’ उनले बजार भाउ नियन्त्रणका लागि मौजुदा कानुनअनुसार अधिकतम खुद्रा बिक्री मूल्यको कार्यान्वयनमा वाणिज्य विभागमार्फत कडाइ भइरहेको पनि दाबी गरे ।

केराको भाउ मनलाग्दी : बारीमा ८५, बजारमा ३५० 
केराको मूल्य महिना दिनयता बढेकोबढ्यै छ । काठमाडौं उपत्यकाको बजारमा एक दर्जन केराको औसत मूल्य ३५० रुपैयाँ पुगेको छ । बजारमा मागको तुलनामा आपूर्ति घटेका कारण मूल्य अकासिएको थोक फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँ बताउँछन् । ‘केरा आयातमा प्रतिबन्ध लागेको छ, तर स्वदेशी केराले माग धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले बजारमा अभाव भएकाले मूल्यमा चाप परेको हो ।’

मागभन्दा आपूर्ति थोरै हुँदा बढेको मूल्यको लाभ किसानले पाएका छैनन् । उपभोक्ताले एक दर्जन केरालाई औसत ३५० रुपैयाँ खर्च गर्नुपरे पनि उपभोक्ताले बारीबाट जम्मा ८५ रुपैयाँमा बेच्नुपरेको छ । केरा उत्पादक किसान महासंघका अध्यक्ष विष्णुहरि पन्तले कोसाको ६–७ रुपैयाँका दरले बारीबाट केरा बिक्री भइरहेको बताए ।

‘बारीमा किसानले धेरै मूल्यमा केरा बिक्री गरेकै छैनन् । औसतमा प्रतिदर्जन ८५ रुपैयाँ पाउने हो,’ उनले भने, ‘तर, बजारमा भने मूल्य अकासिएको देख्दा अचम्म लागेको छ ।’ स्वदेशी केरालाई धराशयी बनाउने अभिप्रायले नियोजित रूपमा मूल्य बढाइको उनको भनाइ छ ।

‘टिआर–फोर’ नामक रोग नियन्त्रणका लागि सरकारले गत २ असोजदेखि केरा आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धविरुद्ध केही व्यवसायीहरू संगठित रूपमै उत्रेर स्वदेशी किसानलाई अप्ठ्यारोमा पार्न खोजेको महासंघको बुझाइ छ । भारतबाट आयात भएको केरामा ढुसी आउने रोग (टिआर–फोर) देखिएपछि केही समयअघि चितवनमा स्वदेशी केराको बोट नै नष्ट गर्ने अभियानसमेत थालिएको थियो । नयाँ रोग भित्रिन नदिन र स्वदेशी केरालाई प्रवर्द्धन गर्न आयात प्रतिबन्धको निर्णय स्वागतयोग्य भएको पन्तले बताए । ‘सरकारले स्वदेशी किसानलाई प्रोत्साहन गर्ने गरी लिएको नीतिलाई जोगाइराख्नु जरुरी छ,’ उनले भने ।

किसानले बारीमा ८५ रुपैयाँ दर्जनका दरले बिक्री गरेको केरा होलसेल बजारबाट १५० देखि १८० रुपैयाँ दर्जनका दरले बिक्री भइरहेको बानियाँले बताए । केराको मूल्यमा मनोमानी गर्ने खुद्रा व्यापारी भएको उनको आरोप छ । ‘किसानबाट किनेको केरा होलसेल बजारमा आधा नै नष्ट हुन्छ, ढुवानी लागत पनि महँगो छ,’ बानियाँले भने, ‘त्यसैले, होलसेलबाट अधिकतम १८० रुपैयाँ प्रतिदर्जनमा केरा बिक्री भइरहेको छ, खुद्रा बजार नियन्त्रण भइरहेको छैन ।’ होलसेल मूल्यको दोब्बर भाउमा खुद्रा बजारमा केरा बिक्री भइरहेको छ ।

केरा उत्पादक संघले स्वदेशको माग धान्ने क्षमता नेपाली किसानमै रहेको दाबी गरे । अहिले पनि बारीमा नयाँ केरा लगाइसकेको र दुई–तीन महिनामा पर्याप्त उत्पादन हुने स्थिति रहेको संघका अध्यक्ष पन्तको दाबी छ ।

प्रशोधित पानीमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि
जार तथा बोतलमा पाइने प्रशोधित खानेपानीको मूल्य पनि बढेको छ । पानी उद्योग महासंघका अध्यक्ष विक्रम लिम्बूका अनुसार बोतलको पानीमा चार रुपैयाँ र जारको पानीमा पाँच रुपैयाँ बढाउने निर्णय भएको छ । ‘सबै खालका कच्चा पदार्थको भाउ ४० प्रतिशतले बढेको छ,’ उनले भने, ‘त्यसैले हामी मूल्य समायोजन गर्न बाध्य छौँ, तर उपभोक्ता मूल्य ४० प्रतिशतले बढाउने निर्णय भने भएको छैन ।’

महासंघले विज्ञप्ति नै जारी गरेर पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार, जार क्यापलगायत कच्चापदार्थको मूल्यमा करिब ४० प्रतिशतभन्दा बढीसम्म वृद्धि भएको, पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि भएकाले ढुवानी लागत बढेको र अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति असहज भएकाले अहिलेकै भाउमा बिक्री मूल्य निर्धारण गर्न असमर्थ रहेको जनाएको छ । महासंघमातहत ६२० उद्योग छन् । यी सबैलाई ४० प्रतिशतसम्म भाउ बढाएर बिक्री गर्न महासंघले अनुरोध गरेको छ ।

‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च, कच्चापदार्थ मूल्यवृद्धि र उद्योग सञ्चालनको वास्तविक अवस्थाबाट सिर्जित बाध्यात्मक परिस्थिति हो,’ महासंघले भनेको छ, ‘तसर्थ, महासंघ सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चापदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री–वितरण गर्न अनुरोध गर्दछ ।’

महासंघको सर्कुलरपछि बजारमा उपलब्ध पानीको बोतलको अधिकतम खुद्रा बिक्री पनि बढेको अध्यक्ष गुरुङले बताए । ‘पहिले प्रतिबोतल १६ रुपैयाँ रहेको एमआरपी अब २० रुपैयाँ उल्लेख भएर आउनेछ,’ उनले भने, ‘जारको पानी पनि पाँच रुपैयाँ बढेर एमआरपी उल्लेख हुनेछ ।’ औसत ५० रुपैयाँ प्रतिजार रहेको पानी अबदेखि ५५ रुपैयाँ पुग्ने उनले जानकारी दिए ।

एक महिनामा ६ पटक पेट्रोलियमको भाउ वृद्धि

  • महिना दिनमै पेट्रोल ६२, डिजेल र मट्टीतेल ९५, हवाई इन्धन १३५ र ग्यास १०० रुपैयाँ महँगियो 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ र प्रशोधन शुल्कमा भएको वृद्धिका कारण आयल निगमले एक महिनामै ६ पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । ६ पटक गरेर निगमले पेट्रोल ६२ रुपैयाँ, डिजेल र मट्टीतेल समान ९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन १३५ रुपैयाँ प्रतिलिटर बढाएको छ । त्यस्तै, बाह्य हवाई इन्धन ८१९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास सय रुपैयाँ प्रतिसिलिन्डर वृद्धि गरेको छ ।

पश्चिम एसियामा युद्ध सुरु भएयता आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको भाउ बढाइरहेको छ । १ चैत, ११ चैत, १७ चैत, १९ चैत, २६ चैत र २ वैशाखमा निगमले मूल्य बढाएको हो । १ चैतअघि पेट्रोल १५७ र डिजेल तथा मट्टीतेल १४२ रुपैयाँ थियो । अन्तिमपटक २ वैशाखमा भएको मूल्यवृद्धिपछि पेट्रोल २१९ र डिजेल तथा मट्टीतेल २३७ रुपैयाँ प्रतिलिटर छ । त्यस्तै, १२७ रुपैयाँ प्रतिलिटर रहेको आन्तरिक हवाई इन्धनको भाउ बढेर अहिले २६२ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाले प्रयोग गर्ने इन्धनको भाउ प्रतिकिलोलिटर ९६६ डलरबाट एक हजार ७१६ डलर पुगेको छ । त्यस्तै, खाना पकाउने ग्यास एक हजार ९१० रुपैयाँबाट बढेर दुई हजार १० रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारमा बढेको भाउअनुसार नेपालमा समायोजन भइरहेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा उच्च दरले भाउ बढेको छ, त्यसैले नेपालमा असर पर्ने नै भयो,’ उनले भने । खरिद मूल्यअनुसार अझै पनि नेपालमा मूल्य समायोजन नभएकाले पाक्षिक रूपमा पाँच अर्ब ७५ करोड घाटा रहेको निगमको प्रक्षेपण छ ।

गाडी चढ्नासाथ २५ रुपैयाँ
काठमाडौं उपत्यकामा सवारी चढ्नासाथ सुरु भाडादर २५ रुपैयाँ पुगेको छ । बस चढेर छोटो दूरीमै ओर्लिए पनि यात्रुले २५ रुपैयाँ दिनुपर्छ । यसअघि २० रुपैयाँ तिर्नुपर्थ्यो । पेट्रोलियम पदार्थको भाउ बढेकाले सरकारकै सहमतिमा सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरिएको हो । उपत्यकामा २८ चैतदेखि लागू नयाँ भाडादर २५.९६ प्रतिशतका दरले बढाइएको छ ।

लामो दूरीको भाडादर पनि वृद्धि गरिएको छ । सार्वजनिक सवारीसाधनको यात्रु भाडादर १६.७१ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ढवानी भाडादर १५.७५ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालवाहक ट्रकको ढुवानी भाडादर २१.६८ प्रतिशतले बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनको मूल्यमा भएको वृद्धिका कारण हवाई भाडासमेत बढेको छ । सबैभन्दा लामो रुट काठमाडौं–धनगढीको हवाई भाडा महँगिएर एकतर्फी मात्रै अधिकतम २२ हजार ७५५ रुपैयाँसम्म पुगेको छ । यो रुटको न्यूनतम भाडा ११ हजार आठ सय रुपैयाँ छ । यसअघि उक्त भाडादर सात हजार पाँच सयदेखि १२ हजार रुपैयाँ आसपाससम्म थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिना भन्छन्–बजार पूर्ण रूपले अस्तव्यस्त छ र उपभोक्ता मारमा छन्, सरकारले यस्तो वेला राहतको प्याकेज ल्याउन जरुरी छ

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले उपभोक्तालाई मर्कामा पार्ने काम गरेको बताए । ‘उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने र त्यसबाट प्राप्त आयबाट देश चलाउँछौँ भन्ने सरकारी सोच त्याग्नुपर्छ । जति मूल्यमा खरिद भएको छ, त्यसमा कुनै लागत नजोडी उपभोक्तालाई बिक्री गरेर सरकार भएको अनुभूति दिन सक्नुपर्छ,’ उनले भने, ‘कम्तीमा दक्षिण एसियाली राष्ट्रहरूसँगको प्रतिस्पर्धी मूल्यमा पेट्रोलियम पदार्थको कारोबार हुनुपर्छ ।’ अन्य उपभोग्य वस्तुको मूल्यवृद्धिलाई पनि उनी अस्वाभाविक भन्छन् । बजारमा कुनै वस्तुको अभाव नरहेको, तर सबै वस्तुको भाउ बढ्नु जायज नभएको उनको भनाइ छ । ‘अहिले कुनै पनि वस्तुको अभाव छैन, तर बजारमा सबै वस्तुको मूल्य अकासिएको छ । मूल्य नियन्त्रणका लागि सरकारको उपस्थिति शून्य छ,’ उनले भने, ‘बजार पूर्ण रूपले अस्तव्यस्त छ र उपभोक्ता मारमा छन् । सरकारले यस्तो वेला राहतको प्याकेज ल्याउन जरुरी छ ।’

See More On

सुझावित समाचार