नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक र सामाजिक परिवेशअनुसार पार्टी रूपान्तरण नगरे चुनाव जित्न कठिन हुने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न वागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले संगठनलाई डिजिटल, सन्देशमुखी र समाजसँग जोडिने ढाँचामा पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री पौडेलले परिस्थितिको परिवर्तनसँगै कांग्रेस पनि बदलिनु अनिवार्य भएको उल्लेख गर्दै पुरानो अभ्यासले नयाँ पुस्ता र समाजलाई समेट्न नसक्ने बताए । ‘हामीले नेतृत्व खराब भएर होइन, परिस्थितिका कारण परिवर्तन आवश्यक भएको हो,’ उनले भने, ‘अब बदलिएको समाजअनुसार एजेन्डा र कार्यशैली विकास गर्नुपर्छ ।’
उनले कांग्रेस देशकै ठूलो सदस्यता र संरचना भएको पार्टी भए पनि प्रभावकारी सन्देश अभावका कारण चुनावी प्रतिस्पर्धामा कमजोर देखिएको स्वीकार गरे । ‘सदस्यता र संरचना मात्रै भएर हुँदैन, आम जनतामा सकारात्मक म्यासेज निर्माण गर्न सके मात्रै चुनाव जित्न सकिन्छ,’ उनले भने ।
महामन्त्री पौडेलले वर्तमान समयमा क्रियाशील सदस्यहरूको भूमिका पनि बदलिएको उल्लेख गर्दै सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत पार्टीको धारणा निर्माण गर्नुपर्ने बताए । ‘आजको दिनमा क्रियाशील सदस्यको काम डिजिटल प्लेटफर्ममा कांग्रेसको इमेज बनाउनु हो,’ उनले भने ।
उनले नयाँ पुस्ताले नयाँ प्रविधि प्रयोग गरेर संगठन विस्तार र एजेन्डा निर्माण गरिरहेको उदाहरण दिँदै कांग्रेसले पनि त्यही शैली आत्मसात् गर्नुपर्ने बताए । डिस्कर्ट जस्ता प्लेटफर्ममार्फत युवाहरू स्वतःस्फूर्त रूपमा संगठित भइरहेको उल्लेख गर्दै उनले परम्परागत प्रचार शैली मात्र पर्याप्त नभएको धारणा राखे ।
सदस्यता अद्यावधिक अभियानलाई चुनावी तयारीको आधारका रूपमा प्रस्तुत गर्दै उनले सबै तहका नेताहरूलाई सक्रिय हुन आग्रह गरे । ‘सदस्यता अद्यावधिक मेरो मात्रै जिम्मेवारी होइन, सबैले आफ्नो जिम्मेवारी ठानेर लाग्नुपर्छ,’ उनले भने, ‘एक वर्षभित्र हुने स्थानीय र प्रदेश निर्वाचन जित्नका लागि अहिलेको अभियान निर्णायक हुनेछ ।’
महामन्त्री पौडेलले वडा तहसम्म सदस्यता अद्यावधिक प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै युवाहरूलाई सहज रूपमा सदस्यता दिन आग्रह गरे । ३० वर्षमुनिका युवालाई बिना अवरोध सदस्यता प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।
महामन्त्री पौडेलले संगठनलाई समयानुकूल रूपान्तरण गर्न सके कांग्रेसले पुनः राजनीतिक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।