जेन–जी आन्दोलनपछि सार्वजनिक प्रशासन सुधारका लागि रूपान्तरण अभियान छेडेका संयोजकले सरकारी सेवाबाटै राजीनामा दिएका छन्। शाखा अधिकृत गणेश घिमिरेले सोमबार सेवाबाटै राजीनामा दिएका हुन्।
जेन–जी आन्दोलनपछि सार्वजनिक प्रशासनमा पनि सुधारको आवश्यकता औँल्याउँदै घिमिरेले अभियान छेडेका थिए। उनको संयोजकत्वमा ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान– २०८२’ गठन भएको थियो।
अभियानले सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै गतिविधि गर्दै आएको छ। अभियानलाई प्रशासनमा जेन–जी समूहका रूपमा चिनिँदै आएको थियो। उक्त अभियानले प्रशासनिक भ्रष्टाचार, बेथितिको अन्त्य र दलीय ट्रेड युनियन खारेजीसम्मका दर्जनौँ विषय उठाउँदै आएको थियो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत घिमिरेले आयोगसमक्ष राजीनामापत्र बुझाएका छन्। स्वेच्छाले राजीनामा दिएको उनको भनाइ छ। उनी ०६७ पुसमा सरकारी सेवामा प्रवेश गरेका थिए।