कपिलवस्तुका सीमानाकालाई चुस्त बनाउँदै सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। करिब ९३ किलोमिटर लामो नेपाल–भारत सीमामा हुने सुरक्षा चुनौती र राजस्व चुहावटलाई लक्षित गर्दै सीमा सुरक्षा बल २८ नम्बर हेडक्वार्टर कपिलवस्तुले ‘सीमाना सुरक्षा’ अभियान सुरु गरेको हो।
जिल्लाभर रहेका २३ वटा नाका, दुई मुख्य भन्सार नाका र एक सहायक भन्सार नाकाबाट हुँदै आएका चोरी पैठारी, तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध सशस्त्रले आक्रामक रूपमा निगरानी बढाएको छ। माघदेखि सुरु भएको अभियानबाट तीन महिनामै एक करोड २८ लाख रुपैयाँबराबरको राजस्व संकलन भएको सशस्त्र प्रहरीले जनाएको छ।
अभियानका क्रममा मेसिनरी सामग्री, लत्ताकपडा, कस्मेटिक, खाद्यान्न, चौपाया तथा सवारीसाधनलगायतका सामग्री बरामद गरिएको छ। ‘भन्सार छलेर ल्याइएका सबै सामग्री कानुनी प्रक्रियामार्फत लिलामीमा पठाइसकिएको छ,’ एसपी अधिकारीले जानकारी दिएका छन्।
सीमा क्षेत्रमा मात्र होइन, जिल्लाभित्र हुने राजस्व चुहावट नियन्त्रणमा पनि सशस्त्रको सक्रियता बढेको छ। अवैध काठ तस्करी, नदीजन्य पदार्थको चोरी निकासी तथा राजमार्ग क्षेत्रमा हुने राजस्व छली नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ। साथै, सीमाआसपासका २४ स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयलाई समेत सचेत बनाइएको छ।
यसैबिच, नेपाल–भारत सीमामा रहेका जीर्ण, भास्सिएका तथा मक्किएका सीमास्तम्भहरूको मर्मत कार्य पनि अघि बढाइएको छ। जिल्लामा मुख्य र सहायक गरी २२० सीमास्तम्भ रहेकोमा मर्मत, रंगरोगन तथा सरसफाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन भारतीय सीमा सुरक्षा बलसँग संयुक्त गस्तीलाई समेत तीव्रता दिइएको छ। ‘दुवै देशका सुरक्षा निकायबिच दैनिकजसो समन्वयमा गस्ती भइरहेको छ, आवश्यकताअनुसार संयुक्त गस्तीलाई अझ मजबुत बनाएका छौँ,’ एसपी अधिकारीले बताएका छन् ।