द्रुत ‘ब्रिडर रिएक्टर’मार्फत भारतको आणविक छलाङ

विश्वमा रुससँग मात्र व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिने ‘ब्रिडर रिएक्टर छ, अब भारत यसमा दोस्रो हुनेछ

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

भारतको सबैभन्दा उन्नत आणविक रिएक्टर आत्मनिर्भर चरणमा पुगेको छ । यसलाई भारतको आणविक ऊर्जा कार्यक्रमको एक महत्वपूर्ण छलाङ बताइँदै छ । नयाँ विकसित प्रविधिले युरेनियममाथि निर्भरता घटाउन सघाउनेछ । गत अप्रिल ६ मा भारतले देशको दक्षिणी राज्य तमिलनाडुको कल्पक्कममा रहेको ‘प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर)’मा ‘क्रिटिकलिटी’मा सफलता हासिल गर्यो । यो यस्तो चरण हो, जसपछि आणविक ऊर्जा उत्पादनका लागि अत्यावश्यक हुने ‘आणविक चेन रियाक्सन’ स्वचालित रूपमा चल्न थाल्छ । 

हाल परीक्षणमा सफल भएको यो प्रविधि रिएक्टर पूर्ण रूपमा सञ्चालनमा आउन थालेपछि, भारत रुसपछि व्यावसायिक रूपमा ‘द्रुत ब्रिडर रिएक्टर’ भएको दोस्रो देश बन्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस सफलतालाई ‘भारतका लागि गर्वको क्षण’ र देशको आणविक कार्यक्रमलाई अगाडि बढाउन ‘एक निर्णायक कदम’को संज्ञा दिए । अन्तर्राष्ट्रिय रूपमा पनि धेरैले यसलाई ठुलो सफलता मानेका छन् । आखिर द्रुत ब्रिडर रिएक्टर के हो र यसमा भएको यो प्रगति भारत र विश्वका लागि किन महŒवपूर्ण छ ?

५०० मेगावाट क्षमताको भारतको द्रुत ब्रिडर रिएक्टर ‘इन्दिरा गान्धी आणविक अनुसन्धान केन्द्र (आरजिसिएआर)’ले डिजाइन र विकास गरेको हो । उसो त हाल विश्वका अधिकांश देशमा प्रयोगमा रहेको आणविक रिएक्टरलाई ‘प्रेसराइज्ड हेभी वाटर रिएक्टर’ भनिन्छ, जसले युरेनियमलाई आफ्नो इन्धनको रूपमा प्रयोग गर्छन्, जसमा अन्तिममा प्लुटोनियम बाँकी रहन्छ । द्रुत ब्रिडर रिएक्टरले यही अन्तिममा बाँकी रहने प्लुटोनियमलाई समेत इन्धनका रूपमा प्रयोग गर्दै स्वचालित आणविक प्रतिक्रियालाई गति दिन्छ । उसो त द्रुत ब्रिडर रिएक्टरमा पनि युरेनियमको प्रयोग हुन्छ, तर निकै 
थोरै परिणाममा । 

विश्वमा रुससँग मात्र व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिने ‘ब्रिडर रिएक्टर छ, अब भारत यसमा दोस्रो हुनेछ 
 

कल्पक्कम रियक्टरको सफल परिक्षणपछि भारत सरकारले यस्ता रिएक्टरमार्फत ‘भारतले देशमा रहेको थोरै युरेनियम भण्डारबाट पनि उल्लेख्य ऊर्जा निकाल्न सक्ने’ प्रतिक्रिया दिएको थियो । तथापि, यस्ता रियाक्टरका केही समस्या पनि छन् । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका निःशस्त्रीकरण, विश्वव्यापीकरण र मानव सुरक्षा विषयका प्राध्यापक एमभी रमनले यस प्रविधिबाट उत्पादन हुने बिजुली खर्चिलो हुने बताए । ‘भारतमै पिएफबिआरको खर्च प्रारम्भिक अनुमानभन्दा दोब्बर बढी परेको छ । पिएफबिआरबाट उत्पादन हुने बिजुली सामान्य ‘प्रेसराइज्ड हेभी वाटर रिएक्टर’ले उत्पादन गर्ने बिजुलीभन्दा ८० प्रतिशतभन्दा महँगो पर्ने देखिन्छ । यसले गर्दा यो प्रविधिबाट बन्ने बिजुली सौर्य ऊर्जासहित अन्य विकल्पभन्दा धेरै महँगो पर्नेछ,’ रमनले भने । 

तथापि, केही खर्चिलो परे पनि यस प्रविधिले आणविक इन्धनको भण्डारण उल्लेख्य रूपमा बढाइदिने बर्मिङ्घम विश्वविद्यालयका आणविक भौतिकशास्त्र र आणविक ऊर्जाका प्राध्यापक पल नर्मनले भने । ‘परम्परागत आणविक रिएक्टरले युरेनियमको सानो हिस्सा मात्र प्रयोग गरेर धेरै हिस्सालाई प्रयोग गर्न नसकिने बनाउँथ्यो । यसमा त स्रुमा प्रयोग गरिएको युरेनियम प्लुटोनियम बन्छ र त्यो पनि इन्धनका रूपमा प्रयोग हुन्छ । यसले इन्धन सुरक्षा बढाउँछ,’ नर्मनले भने ।‘त्यसमाथि यस प्रविधिमा थोरै बदलाब गरियो भने युरेनियमको साटो थोरियम पनि प्रयोग गर्न सकिन्छ ।

थोरियम पृथ्वीमा युरेनियमभन्दा धेरै बढी मात्रामा पाइने भएकाले आणविक इन्धनको मात्रामा थप ठुलो वृद्धि हासिल हुन्छ,’ नर्मनले अर्थ्या{ए । विश्वमा, थोरियमको भण्डार युरेनियमको भण्डारभन्दा चार गुणा ठुलो रहेको छ । र भारतमा त थोरियम थप उल्लेख्य पाइन्छ । विश्वमा पाइने कुल युरेनियमको लगभग १–२ प्रतिशत मात्र भारतमा पाइन्छ । यसका आधारमा थोरियमको कुल भन्डारमध्ये २५ प्रतिशत भारतमै रहेको भन्न सकिन्छ ।

भारत चीन र संयुक्त राज्य अमेरिकापछि विश्वको तेस्रो ठुलो ऊर्जा खपतकर्ता हो । विश्वको सबैभन्दा ठुलो जनसंख्या र द्रुत गतिमा बढ्दो अर्थतन्त्रका कारण भारतमा ऊर्जा खपत दिनानुदिन बढिरहेको छ । अमेरिका–इजरायलले इरानमाथिको युद्ध र इन्धनको मूल्यमा भएको वृद्धिले भारतजस्ता देशलाई जीवाश्म इन्धनमाथिको निर्भरताले जोखिम निम्त्याउने देखायो । हाल, भारतमा आणविक ऊर्जाले देशको कुल उर्जा उत्पादनको केवल ३ प्रतिशत मात्र हिस्सा ओगटेकामा सरकारले यसलाई नाटकीय रूपमा बढाउन चाहेको छ । सन् २०२४ मा आणविक संयन्त्रबाट भारतले ८,१८० मेगावाट बिजुली उत्पादन गरिरहेकामा सन् २०४७ सम्ममा एक लाख मेगावाट पुर्याउन चाहन्छ । 

अमेरिका, फ्रान्स, बेलायत, जापान, चीन र रुसलगायत अन्य देशले फास्ट ब्रिडर रिएक्टर प्रविधिमा काम गरेका छन् । तर, अहिलेसम्म केवल रुससँग मात्र व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिने ब्रिडर रिएक्टर छ । भारतले हाल परीक्षणमा सफलता पाएको प्रोटोटाइप रिएक्टरलाई व्यावसायिक आणविक–ऊर्जा–उत्पादनमा कार्यान्वयनमा ल्याउन सक्यो भने यसले अन्य देशलाई पनि सो प्रविधि हासिल गर्न प्रेरित गर्न सक्छ । 

‘भारतले आफ्नो ऊर्जा क्षेत्रमा अर्थपूर्ण प्रभाव पार्न चाहेको हो भने उसले आफ्नो आणविक ऊर्जा कार्यक्रमलाई छिटो–छिटो बढाउनु आवश्यक छ,’ रमणले भने । अन्यथा, यस्तो लामो समय लाग्ने प्रविधिमा भन्दा अन्य नवीकरणीय ऊर्जामा बढी ध्यान दिनुपर्ने रमणको सुझाव छ । 

(फ्रिलान्स पत्रकार शंकर प्रेस स्वतन्त्रता, मानव अधिकारबारे लेख्छिन्) अलजजिराबाट

सुझावित समाचार