काठमाडौं महानगरपालिकाले बसुन्धरा नदी किनारामा रिटेनिङ पर्खाल निर्माणको जिम्मा पाएको टक्सार–रानीवन जेभीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । पर्खाल बनाउने क्रममा जग कमजोर बनाएको, सिमेन्ट लगाउनुपर्ने ठाउँमा माटो राखेको, पुराना ढुंगा प्रयोग गर्दा ढुंगामा भएको माटो नपखालेको पाइएपछि जरिवाना गरिएको वडा नम्बर ३ का अध्यक्ष एवं महानगरपालिकाको विपत् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले बताए ।
कमसल निर्माण भएको भन्दै स्थानीयले गुनासो गरेपछि महानगरले निर्माणस्थलको निरीक्षण गरेको थियो । निर्माण पक्षलाई बोलाएर निर्माण सामग्री र निर्माण प्रक्रियाका विषयमा जानकारी लिइएको थियो । यसरी जानकारी लिने क्रममा गरिएको छलफलमा प्रोजेक्ट म्यानेजरले बालुवामा माटो मिसिएको, पुराना ढुंगा राम्ररी नपखाली प्रयोग गरिएको स्वीकार गरेपछि जरिवाना गराइएको थापाले बताए ।
सार्वजनिक निर्माण विभागका इन्जिनियरहरूले रेटेनिङ पर्खाल निर्माणस्थलबाट निर्माण सामग्रीको नमुना लिएर प्रयोगशाला परीक्षणका लागि पठाएका छन् । प्रयोगशाला परीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा स्थानीयको गुनासो र निर्माण कार्यका विषयमा निर्णय लिइने महानगरले जनाएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले ३० असोज ०८४ मा पर्खाल बनाइसक्नुपर्नेछ ।