बढ्न थाल्यो गर्मी, भोलि पश्चिम तराईमा तातो हावा चल्ने

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

अधिकतम र न्यूनतम तापक्रम उकालो लागेसँगै तराईमा गर्मी बढेको छ। पश्चिम तराई र त्यहाँका उपत्यकामा भने सोमबार तातो लहरको चेतावनी दिइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार धनगढी, नेपालगन्ज र दिपायलमा तातो हावाको लहर तथा घोराहीमा तातो दिन हुने सम्भावना छ। यसबाहेक मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनीका तराई तथा उपत्यका र खोँचमा पनि तापक्रम बढ्ने अनुमान छ।

‘अन्य ठाउँहरूमा पनि गर्मी बढ्ने सम्भावना रहेकोले ख्याल गर्नुहोला,’ मौसमविद् सञ्जीव अधिकारीले भने। विभागका अनुसार मंगलबार पनि मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई साथै उपत्यका र खोँचमा तापक्रम औसतभन्दा धेरै हुनेछ।  उच्च तापक्रमका कारण दिउँसोको समयमा बाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन सुझाव दिइएको छ।

आइतबार अधिकतम तापक्रम नेपालगन्जमा ४०.३ र न्यूनतम २१ डिग्री सेल्सियस पुगेको थियो। त्यस्तै, अधिकतम तापक्रम दिपायलमा ४०, धनगढीमा ३९.४ र भैरहवामा ३७.५ डिग्री सेल्सियस मापन भएको छ। 

यद्यपि, तराई र उपत्यकामा अत्यधिक गर्मी  रहे पनि पहाडी र हिमाली क्षेत्रका केही स्थानमा भने हल्का वर्षा हुने देखिएको छ। सोमबार दिउँसो कोशीलगायत अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने आकलन छ।

सुझावित समाचार