त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनअन्तर्गत २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् । पुरुषतर्फ राजनले पहिलोपटक उपाधि हात पारेका हुन् ।
महिलातर्फ सन्तोषीले लगातार दोस्रोपटक जितेकी हुन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा रन फर नेपाल नारासहित शनिबार १४औँ संस्करणको हाफ म्याराथन आयोजना गरेको हो ।
हाफ म्याराथनबाहेक कर्पोरेट एन्ड इन्फ्लुएन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । यसपटक हाफ म्याराथनमा अहिलेसम्मकै सबैभन्दा बढी चार हजारजना धावकले सहभागिता जनाएका थिए । यसअघि ०७५ मा दुई हजार पाँच सय ६० जना दौडिएका थिए ।
शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो । अर्जुन बुढा एक घण्टा ६.०४ मिनेटका साथ दोस्रो र सुशील शाही एक घण्टा ६.५ सेकेन्डका साथ तेस्रो भए । महिलामा सन्तोषीले एक घण्टा १८.११ मिनेटमा पूरा गरेर विजेता बनेकी हुन् । धादिङकी उनले गत वर्ष एक घण्टा २३.२८ मिनेटमा पूरा गरेकी थिइन् । पुरुष र महिला विजेताले एक लाख ५० हजार रुपैयाँ पाएका छन् । कलेज रनकै महिलामा अनुसिया तण्डुकारले उपाधि जितिन् ।
उनले ३४ मिनेट २१.८५ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । पुकार बस्नेत र कुसुम तामाङले कर्पोरेट तथा इन्फ्लुएन्सरतर्फ विजेता बने । पाँच किलोमिटर दूरीमा भएको दौडमा माउन्ट एभरेस्ट सेकेन्डरीका पुकारले १७ मिनेट ४२ः६० सेकेन्डमा पूरा गरे । श्री सगरमाथा सेभिङ एन्ड क्रेडिटका रामचन्द्र श्रेष्ठले १८ मिनेट २० सेकेन्डबाट दोस्रो र जयमाता दुर्गा यातायातका युन राई १९ मिनेट ०१ सेकेन्डबाट तेस्रो भए ।