चीनले स्वच्छ र दिगो ऊर्जा विकास गर्न हाइड्रोजन प्रविधिलाई उच्च प्राथमिकता दिएको छ । देशको पहिलो मानवविहीन हाइड्रोजन–इलेक्ट्रिक हाइब्रिड खानी ट्रक इनर मंगोलियाको सेंगली कोइलाखानी सञ्चालनमा आएको छ ।
यो ट्रक हाइड्रोजन र ब्याट्रीले सञ्चालनमा आउँछ । ट्रकले देशमा वार्षिक एक हजार टन कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ । यो प्रविधिले जाडो मौसममा समेत राम्रोसँग काम गर्ने क्षमता राख्छ । चीन सरकारले हाइड्रोजन ऊर्जा प्रवर्द्धन गर्न ठोस नीति अपनाउँदै सन् २०२१–२०३५ रणनीति ल्याएको छ । साथै, सन् २०३० सम्म हाइड्रोजन उद्योगलाई व्यवस्थित रूपमा विस्तार गर्ने योजना बनाइएको छ ।
हालै पूर्वीचीनको यान्ताई सहरमा समुद्री हाइड्रोजन उत्पादन केन्द्र निर्माण सम्पन्न भएको छ, जसले भविष्यमा लामो दूरीका पानीजहाजका लागि हरित इन्धन आपूर्ति गर्न सक्छ । यस्तै, सांघाईलगायत सहरमा हाइड्रोजन बस, ट्याक्सी, ट्रक तथा अन्य सवारीसाधन परीक्षणका रूपमा सञ्चालन भइरहेका छन् ।
तर, हाइड्रोजन प्रविधिले अझै केही चुनौती सामना गरिरहेको छ । उच्च लागत, प्रविधिगत सीमा र पूर्वाधार अभावका कारण यसको व्यापक प्रयोगमा केही कठिनाइ देखिएको छ ।
हाल विश्वभर हरित हाइड्रोजन उत्पादन एक प्रतिशतभन्दा कम छ, जसले थप अनुसन्धान र लगानी आवश्यक रहेको देखाउँछ । देशभरि विभिन्न ठाउँमा हाइड्रोजन प्रविधिको प्रयोग बढिरहेको छ ।