बुटवल उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ। बुटवलमा फुटपाथ अतिक्रमणको समस्या बढिरहेको अवस्थामा उपमहानगरपालिकाले अतिक्रमण हटाउन माइकिङ गर्दै समयसिमा दिएपछि हटाउन थालेको थियो । विभिन्न सडक खण्डको अतिक्रमण हटाउने क्रममा शुक्रवार बुटवल मिलनचोक तथा चौराहा क्षेत्रमा फुटपाथ अतिक्रमण गरेकाहरूलाई तीन दिनभित्र हटाउन उपमहानगरपालिकाले अल्टिमेटम दिएको छ ।
सहरलाई व्यवस्थित र सुन्दर बनाउने लक्ष्यसहित सडक तथा सडक फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको भन्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अतिक्रमण हटाउन तीन दिनको सीमा दिइएको बताए। उनले हात जोड्दै अतिक्रमण हटाउन आग्रह गरे तीन दिनभित्रमा नहटाए नगर प्रहरीले हटाइदिने बताए। यात्रुका लागि सडक पेटीलाई सरक्षित बनाउन कसैको अनुहार नहेरी काम गर्ने उनले बताए।
उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वेच्छिक रूपमा सडक अतिक्रमण खाली गर्न आग्रह गरेपछि यही बैशाख २ गतेपछि अभियानलाई तीव्रता दिएको छ। स्वेच्छिक खाली नगरेकालाई बुधवार उपमहानगरपालिकाले डोजरसहितको टोलि परिचालन गरी खाली गराएको थियो।बुधबार अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइसकिएको थियो। सडकमा व्यापार व्यवसाय गर्नेदेखि अतिक्रमण गरी सामान राख्नेहरुलाई अतिक्रमण नगर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएको छ ।
प्रमुख पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो। फुटपाथ खाली गरिएसँगै पैदलयात्रीलाई सहज आवागमनको सुविधा पुगेको छ भने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ । यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरुले बताएका छन् ।