रंगमञ्चमा देशको दर्शन

अबको समय अतिरञ्जित हल्ला पछ्याएर होइन, देश बनाउने दर्शनको खोजीमा बितोस्

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

नयाँ वर्षमा ‘अतिरञ्जनको मनोरञ्जन’ नाटक हेर्ने मौका मिल्यो । नाटकको विषयवस्तु थाहा थिएन । शीर्षक सुन्दा नै नाटक मनोरञ्जनात्मक होला भन्ने थियो । मण्डला नाटक घरभित्र स्यानिटाइजर छर्किरहेको दृश्य मात्र देखिन्छ । सरसफाइमा ध्यान दिन दबाब दिइन्छ । ताली बजाउन पनि हात सफा हुनुपर्‍यो अरे सबैको । एउटा अद्भूत कलाकारको कन्सर्टबारे चर्चा चल्छ । त्यति महान् कलाकारको प्रस्तुतिमा रमाएर ताली बजाउने हात फोहोर हुनुहुन्न भन्छन् ।

रंगमञ्चमा दर्शक नै कलाकार, कलाकार नै दर्शकजस्ता देखिन्छन् । अनेक रंग र ढंगका दर्शकजस्ता देखिने कलाकार रंगमञ्चमा थपिँदै जान्छन् । स्यामुयल बेकेटको निस्सारवादी नाटक ‘गोडोटको पर्खाइ’जस्तो भान गराउने नवीन दृश्य देखिन्छन् । अतिरञ्जित अभिव्यक्तिमा रमाउने अर्धपागल ढंगका ढोँगी, स्वार्थी, लोभी, कठपुतली कलाकार ओसियन दास नामधारी कलाकारको प्रस्तुतिको पर्खाइमा व्याकुल देखिन्छन् । उनीहरूको एकपछि अर्को अतिरञ्जित अभिव्यक्ति गुन्जिरन्छ ।

....ओसियन रकस्टार मात्र होइन, एउटा जिउँदो ज्वालामुखी हो...उसको कन्सर्ट कति वेला जंगली, कति वेला शान्त, र फेरि नरम वा गरम हुन्छ ग्यारेन्टी गर्न सकिन्न.... मुटु दह्रो बनाएर बस्नुस्....कसैको सातो गयो, सुसु वा आची आयो, हार्टअट्याक भयो भने जिम्मा लिइन्न....यहाँ कला होइन पागलपन पस्किइन्छ... 

यस्ता अतिरञ्जित अभिव्यक्ति नाटकघरभित्र गुन्जिइरहन्छ । प्रचारवादी दलालजस्ता, दासजस्ता, सस्ता शब्द ओकल्ने, स्वार्थ समूह पर्खेर बस्छन् । अनेक अनुमानका कुरा गर्छन् । देवत्वकरणका शब्दहरू प्रतिध्वनित हुन्छन् । उनीहरू ओसियनलाई देवत्वकरण गरी विकाउ वस्तुका रूपमा बेच्न हरबखत तम्तयार देखिन्छन् । नयाँ वर्षमा नाटकघरभित्र नाटक मञ्चन होइन, कन्सर्ट प्रदर्शनी हुँदै छ । त्यो केवल कन्सर्ट मात्र होइन अरे । एउटा सांगीतिक सुनामी आउनेवाला अवस्थाको वर्णन गर्दै आ–आफ्नो स्वार्थ बेच्न स्वार्थ समूहको भिड बढ्दो छ । पपुलिस्टका पपेट ओसियन आउँदा कन्टेन्ट बनाएर बेच्न तँछाडमछाड गर्दै छन् । ती विचारविहीन भिड वर्तमान विश्वबजारमा देखिएका भिडसँग मिल्दाजुल्दा छन्, जसलाई सामाजिक सञ्जालमा भ्युज बढाउनु छ । कमाउनु छ, रमाउनु छ, राक्षसी डिस्टोपियामा ।

ओसियनको कन्सर्टमा सब सफा हुनुपर्छ । ताली बजाउनेका हात त फोहोर हुनैहुन्न । दर्शकको हात मात्र होइन दर्शक, कलाकार, जनमानस सबैको जुत्ता, भुइँ, टेबल, कपडा, कुर्सी जहाँतहीँ स्यानिटाइजर छर्किइँदै छ । अर्धपागल खालका कन्टेन्ट क्रिएटर पागल बनेर प्रतीक्षारत छन् । अन्यहरू पनि उस्तै बेचैनीमा पर्खिबसेका छन् । बिमा गराउने इन्स्योरेन्स दलाल उत्तिकै उत्सुकताका साथ सक्रिय देखिन्छ, भिडमाझ । ऊ सपनाको पनि बिमा गराउन खोज्छ ।

नबोल्ने महिला पात्र, कुरुस आमा, पनि स्विटर बुन्दै कन्सर्ट हेर्न आएकी छिन् । शब्द सुन्न नसक्नेहरू पनि ओसियनको संगीतको कम्पन महसुस गर्न आएको भनिन्छ । प्रचारवाजलाई त्यो दृश्य पनि मसला बन्छ । कसैको कपडा, जुत्ता, मोजा, हाउभाउ, गरिबी, मानसिक बिमारी, बेरोजगारी, मृत्यु सबै कन्टेन्ट बनाइन्छ ।

ओसियनको सांगीतिक शक्ति दर्शकको रगतको थोपाथोपामा दौडन्छ भन्दै अज्ञात वा अन्जान कलाकारको देवत्वकरण जारी रहन्छ । कोही त अझ शरीरभरि ओसियनको ट्याटु खोपेर भक्तिगान गर्दै सामाजिक सञ्जालमा भ्युज बढाउन अर्धपागलपन पस्किरहेका हुन्छन् । कोही ‘मान्छेको सपनालाई पेनड्राइभमा हाल्ने मेसिन बनाउने मान्छे हुँ म’ भन्छन् । ब्ल्याक होलका बारेमा विद्यावारिधि गरेका व्यक्ति पनि ओसियन पर्खिबसेका देखिन्छन् । कतिपय दर्शक लामो समयदेखि पर्खिबसेका हुन्छन् । भर्खर आएर ओसिएनको सबैभन्दा ठुलो फ्यान बनिटोपल्नेविरुद्ध उनीहरू प्रतिकारमा उभिन्छन् ।

व्यक्तिवादी दासतारूपी स्तुतिगान जारी रहन्छ : ओसियन दास यस्तो दबाइ हो, त्यस्तो लत हो, जसले जँड्याहाको रगत पनि सफा गर्छ, अपवित्र आत्मा पनि सफा गर्छ....।

विश्वविद्यालयबाट दीक्षित बेरोजगार कन्भोकेसनको गाउन नै पहिरिएरै ओसियनको कन्सर्ट हेर्न आएका छन् । उनलाई परदेसिनु परेको छ, सरकारलाई कर तिर्न पनि । कन्भोकेसनको गाउ नै लगाएर खाडी देश भासिनुअघि ओसियनको देशभक्ति गीत सुन्ने र त्यही कन्भोकेसन गाउनमै उड्न विमानस्थल जाने तयारीसहित सुटकेससमेत बोकेर ऊ त्यहाँ आएको हुन्छ । ऊ सुन्न चाहन्छ देश छाड्नुअघि देशभक्ति गीत– 

पहिले देशलाई समात..., 
छोड्देउ इँजार, छोड्देऊ कन्दनी 
पहिले देशलाई समात । 

ओसियन दास रक, हेभी मेटल, शास्त्रीय उस्ताद, लोकगायक, दर्शनवादी रोमान्टिक प्रस्तुतिकर्ता, सम्बन्ध काउन्सिलर, जेन्टर फ्लुइड फेसनबाजजस्ता बहुआयामिक व्यक्तित्वको चर्चा चल्छ । एक झगडिया जोडी उनको गीतमा दैवीशक्ति भएकाले उनीहरूको डिभोर्स रोकिदिने सपना बोकेर कन्सर्ट कुरी बसेको देखिन्छ । अन्ततः अस्पष्ट स्वरूपमा, मुखमा मुखुन्डो भिरेर, अर्धपहिचानसहित ओसियन भिडमाझ उपस्थित हुन्छ । उसको लिंग, वर्ग, वर्ण, विधा, सुरताल, प्रदर्शनी केही स्पष्ट छैन । विचार, चिन्तन, दर्शन पनि स्पष्ट छैन । हल्लैहल्लाको महाध्वनिमा ऊ महामानव बन्ने प्रयास गरिरहन्छ ।

ओसियन दास आफैँले आफ्नो मुटुको घड्कनलाई विश्वव्यापी लय, युनिभर्सल रिदम स्वघोषणा गर्छ । संगीतको नाममा नानाभाती नाटक देखाउन खोज्छ, अतिरञ्जनको मनोरञ्जन । उनलाई महामानवको मूर्तिमा स्थापित गर्न खोज्ने भिडमाझ पागलपनमा उफ्रँदै गाउँदागाउँदै ऊ ढल्छ, कोमामा जान्छ । उसको त्यो दुर्दशालाई पनि सबैले केहीबेर कन्टेन्ट बनाएर बेच्न खोज्छ । उनको अवनति बिकाउ चिज बन्दैन । अन्ततः आफ्नो स्वार्थ पूर्ति नहुने चाल पाएपछि उनको समर्थक लाखापाखा लाग्छन् । उसको लासलाई जुम्राउपियाँले मरेको पशुलाई छाडेर गएजसरी बेवारिसे छाडेर जान्छ । भिडैभिडको बिचमा बाँचेको ओसियन दासलाई स्वार्थी दासहरूले छाडेर हिँड्दाको दृश्यले दर्शकको मन चसक्क हुन्छ । भिडले सिर्जेको प्रसिद्धि, अतिरञ्जन मनोरञ्जन, अन्ततः व्यर्थता, शून्यतामा अन्त्य हुन्छ । प्रचारवाद युटोपिया होइन, डिस्टोपिया रहेछ भन्ने भान गराउँछ ।

सबैजनाले मर्‍यो, बेकार बन्यो स्तुतिगान, भनेर छाडेर गएपछि केहीबेरमा ओसियन उठ्छ । नयाँ जीवन पाएझैँ फेरि चर्चित बन्ने आधार खोज्दै प्रस्तुति दिन थाल्छ । उसको मृत्युमा अवसर देख्नेहरू सलबलाइकेको हुन्छ । कसैको मृत्यु कसैको विजयको बाटो बन्दै गरेको दृश्य त्यहाँ देखिन्छ । सामूहिक विजयको सौन्दर्य होइन, निषेधको संस्कृति मौलाइसकेको हुन्छ । ऊ आफूलाई अझै समुद्र अरू सबलाई एक थोपा पानी सम्झन्छ । भिडले उसलाई छाडिसकेपछि उसको अलौकिक क्षमता लौकिक संसारमा जब तासको घरझैँ भत्किन्छ तब गुलियोपन सबै तीतोपनमा परिणत भइसक्यो । ओसियनले आफूलाई समुद्र अन्य सबै आफ्नो दास सम्झेर प्रस्तुत भइरहन्छ । सबैलाई छाड्दा पनि एक्लै भए पनि उभिन खोज्छ । त्यो अन्ततः व्यर्थ बन्छ । असफल प्रयाससिद्ध हुन्छ ।

अतिरञ्जन मनोरञ्जनमा उभिएको एक अर्थहीन मान्छेको अहंकार भत्किएपछि ऊ समुदाय सिध्याउन सक्रिय हुन्छ । सबैलाई सराप्न थाल्छ । उसको लय, सौन्दय, सिर्जना सबै स्वाहा हुन्छ । भगवान् बनाउने, जिउँदो मान्छेलाई मूर्ति बनाउने, भिडमाथि प्रहार गर्छ । जब मूर्ति बनाउनेहरू नै उनको मूर्ति तोड्न खोज्दै गरेको देख्छ तब उसले मूर्ति बनाउनेहरूलाई बाँकी राख्दैन । त्यस क्रममा उसले आफू, आफूलाई मूर्ति बनाएर पुज्ने स्वार्थ समूह सबैलाई सराप्न थाल्छ । बौलाहाझैँ बन्छ । 

उसको बर्बराहट दर्शन बनेर गुञ्जन्छ । ऊ भन्छ : ‘म कसैको छोरो होइन । म मेरै आमाको पनि छोरो होइन । मेरी आमाले मलाई संगीतको नाममा यति भद्दा हल्ला उत्पादन गर्न जन्माएकै होइन । धिक्कार छ मलाई, जसले यस्ता हल्ला उत्पादन गर्‍यो । यस्ता हल्ला उत्पादन गर्न उक्साउने भिड बढायो । अतिरञ्जनामा रमायो । पवित्र संगीतलाई प्रदूषित बनायो ।’ यस्तै, अन्तर्मनको उकुसमुकुस ओकल्दै अतिरञ्जन मनोरञ्जनका लागि पहिरिएको पत्रैपत्र वस्तु खोल्दैखोल्दै नांगो बन्छ महानायक । आफ्नो खोक्रो यथार्थ सबैसामु देखाइदिन्छ । व्यर्थतामा बाँच्न बाध्य पार्ने भिडलाई ब्ल्याकहोलमा भस्म पार्न खोज्छ, बौलाहा बनेर । विश्वजगत् अतिरञ्जनामा मनोरञ्जन रोज्नेहरू, अतिरञ्जित भिडमै भविष्य खोज्नेहरू बढिरहेकै छ । तिनकै जगजगी, रजगजीको लहरमा कतै आफैँ बगिरहेको त छैन ? हल्लाहरू उत्पादनकै घनचक्करमा हामी घुमिरहेको त छैनौँ ।

नेपाल बुद्ध जन्मिएको दसी प्रमाण बोकेको देश हो । पारिस्थितिक प्रणालीले अत्यन्त हराभरा देश । हिमाल, पहाड, तराईभित्र अनगिन्ती पहिचान सौन्दर्यले सजिएको देश । रंगीन विविधताबिच बाँचेको विशिष्टतम् देशको दर्शन कस्तो हुनुपर्छ ? नाटकमा देखिएझैँ कुनै एकाध ‘अर्धपागल’जस्ता व्यक्तिले यो देशको दर्शन बोक्न सक्दैनन् । ‘अतिरञ्जित मनोरञ्जन’ले नेपालको मौलिकता र विविधताको सम्पन्नता समेट्न सक्दैन । व्यक्तिवादी प्रचारवादमा उभ्याइएको महामानव मानकले नेपालको बहुलता बोक्न कदापि सक्दैन । नाटकको नायकजस्तो खोक्रो पात्र जतिसुकै अतिरञ्जित आभूषणले सिँगारिए पनि ऊ अन्ततः नांगिन्छ, खोक्रिन्छ । प्रोसेस नै गलत भएपछि प्रोडक्ट सही निस्कन्न । अन्ततः अप्राकृतिक प्रक्रियाले अपवित्र परिणाम निम्त्याउँछ । हाम्रा राष्ट्रिय अभिभावकहरूले आजसम्म हामीलाई हाम्रो देशको दर्शन सिकाएकै छैनन् । हाम्रो देशको दर्शन यस्तो हुन्छ भनेर देखाएकै छैनन् । अतिरञ्जनामै जन्मिएर, हुर्किएर, बढेर उचाइ चढेका अग्रज अन्ततः नाटकको ओसियनदासझैँ नांगिएको देखियो । एकाध लौकिक पिलन्धरेलाई अलौकिक अवतारमा भिडले उभ्याइँदा तिनले केही समय हल्ला मात्रै उत्पादन गरेछन् । देशले खोजेको दर्शन पाइएन, केवल हल्ला पो पाएछौँ । समग्र विकास र खुसियालीको साटो देशमा विनाश र विरक्ति छायो । देश बन्न हल्लाहरू होइन, विचारविहीन भिड होइन, मौलिक दर्शन चाहिन्छ । देशको दर्शन कसले खोज्छ ? आकाशीय कि क्षितिजीय कुन बाटोबाट देशको दर्शन खोज्ने ? स्वदेशमा हराएको दर्शन विदेशमा गएर खोज्ने कि नखोज्ने ? हिजोका हाम्रा भाषणबाजले हल्ला मात्रै उत्पादन गरे, आजका आसनवालाले उही गल्ती गर्दैनन् भनेर यो देशमा ढुक्क रहने आधार के छ ? एकथरी हल्लाबाजको ठाउँमा अर्कोथरी हल्लाबाज प्रतिस्थापित भइरह्यो भने देशले हल्लाबाजको भार कतिन्जेल थेग्न सक्ला ? नाटकले अनेकौँ प्रश्न उब्जायो ।

जाँदाजाँदै, अतिरञ्जनको भुलभुलैयाबाट आफू बचौँ, अरूलाई पनि बचाऔँ । अबको समय अतिरञ्जित हल्ला पछ्याएर होइन, देश बनाउने दर्शनको खोजीमा बितोस् । देश बनाउने दर्शन कर्मशील समुदायमा जीवित हुन्छन्, हल्ला उत्पादकभन्दा पर । अब व्यक्तिवादी चिन्ता होइन, सामूहिकताको चिन्तन गरौँ । अतिरञ्जित विचारविहीन भिडभन्दा पर, हल्लाहरूभन्दा पनि पर, कुनै महानायकभन्दा पनि पर, श्रमजीवी समुदायको संगीतमा देशले खोजेको दर्शन देख्न सकिन्छ कि ? नयाँ वर्षको सिर्जनशील शुभकामना !  

See More On

सुझावित समाचार