- बागमतीको पानीमा प्राणघातक पारो र सिसादेखि एन्टिबायोटिक्स औषधि, ट्वाइलेटजन्य, अस्पतालजन्य र मृत जीवसम्मका फोहोरका कारण माछालगायत कुनै पनि जलचरको जीवन नै असम्भव
देशकै राजधानीको बिचबाट बग्ने एक मात्र मुख्य नदी बागमती जसले उपत्यकाको सभ्यता बोकेको छ, यही बागमतीको पानी कुनै वेला पिउनदेखि नुहाइधुवाइमा प्रयोग हुन्थ्यो । वर्षौँदेखि बागमतीको प्रदूषणको चर्चा मात्र हुँदै आएको छ । बागमती दूषित बनेको होइन, बनाइएको हो । मान्छेले नै दूषित बनाएको हो ।
बागमतीको मूल क्षेत्र बागद्वारमा अहिले पनि पिउनयोग्य पानी सुन्दरीजलबाट तल लागेपछि अत्यधिक विषाक्त छ । सरकारी निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले गरेको अध्ययनको प्रारम्भिक रिपोर्टमा बागमतीको पानीमा प्राणघातक पारो र सिसादेखि एन्टिबायोटिक्स औषधि, ट्वाइलेटजन्य, अस्पतालजन्य र मृत जीवसम्मका फोहोर रहेको उल्लेख छ । परिषद्ले सात महिना अघिदेखि इएमआर (इन्भर्मेन्ट मनिटरिङ रिसर्च) अध्ययन थालेको थियो । बागमतीमा सबैखाले फोहोर मिसिएको र यहाँ कुनै पनि जलचर नभएको अध्ययनमा देखिएको छ ।
‘बागमतीको पानीमा कुनै पनि जलचर नहुने डरलाग्दो कुरा हो । जीवजन्तु मात्रै होइन, बोट–बिरुवाका लागि समेत बागमती हानिकारक देखिएको छ । बागमतीको पानी पुगेका दक्षिण ललितपुर क्षेत्रका फाँटहरूमा खेती नै हुन छाडेको छ,’ अध्ययनमा सहभागी अनुसन्धानकर्ता डा. सन्तोष दुलालले भने, ‘बागमतीको पानी कालो छ, सबै किसिमको फोहोर यहाँ मिसिएको छ, एक हिसाबले भन्दा यहाँ पानी बगेको छैन, ढल बगेको हो ।’
अत्यधिक ढल मिसिएको बागमतीको पानीमा माछा, भ्यागुता, बिच्छीदेखि पानीमा कुनै पनि जलचरको जीवन सम्भव नरहेको अध्ययनले देखाएको छ । डा. दुलालका अनुसार बागमतीको पानीमा एन्टिबायोटिक्स औषधि, हेभी मेटल (फलाम, मर्करी, पारो र अन्य धातु), ट्वाइलेटजन्य, सिसाजन्य, प्लास्टिकजन्य, अस्पतालजन्य, मृत जनावर र पशुपति क्षेत्रस्थित घाटबाट फालिने फोहोर मिसिएको छ । ‘यहाँ माछा र नदीमा हुने कुनै पनि जीव बाँच्ने अवस्था छैन, अतिदूषित छ, ढलमा मानव शरीर मात्रै नभएर प्रकृति नै बिगार्ने किसिमका घातक सूक्ष्म जीवाणु छन्,’ उनले भने, ‘पानीमा अक्सिजनको मात्रा निकै कम छ, नदीआसपासमा सर्ने र नसर्ने रोगहरू फैलाउन सक्ने सूक्ष्म जीवाणुहरू छन् ।’
बागद्वारदेखि सुन्दरीजलसम्म प्रशोधन गरेर पानी पिउनयोग्य हुने देखिए पनि सुन्दरीजलदेखि चोभारसम्म अतिप्रदूषित देखिएको छ । सबैजसो घरबाट ढल नदीमै मिसाइएकाले बस्ती क्षेत्रमा बढी प्रदूषित देखिएको छ । सबैभन्दा धेरै दूषित टेकु दोभानमा देखिएको डा. दुलालले बताए ।
‘बागमती प्राकृतिक नदी हो, तर अहिले नदी सिध्दिएको छ,’ उनले थपे, ‘सहरीकरण हुँदै जाँदा नदी फोहोर पारियो, ढल व्यवस्थापन गरिएन ।’ उनका अनुसार अध्ययन गर्दा रौतहट पुगेपछि मात्रै पानी थिग्रिएर सफा बनेको र माछालगायत नदीजन्य जीव देखिएका छन् ।
बागमतीबाट आउने गन्धले नदीआसपासमा बस्नेहरूलाई समेत सर्ने र नसर्ने रोगको जोखिम निम्त्याएको डा. दुलाल बताउँछन् ।
परिषद्ले बागमतीको पानीले जीवजन्तु र वातावरणमा पारिरहेको असरबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा निजी ल्याबको समन्वयमा उक्त पानीको नमुना परीक्षण गराएको थियो । पहिलो चरणमा ६–७ स्थानबाट पानीको नमुना संकलन गरी ‘वाटर क्वालिटी टेस्ट’ गरिएको थियो । फरक–फरक स्थानबाट पानीको नमुना परीक्षण गरेपछि पानी अत्यधिक विषाक्त देखिएको परिषद्का कार्यकारी निर्देशक तथा सदस्यसचिव डा. प्रमोद जोशीले जानकारी दिए । उनका अनुसार नदीको फोहोर र त्यसले आसपासमा पारेको असरबारे पहिलोपटक अध्ययन गरिएको हो, अध्ययनको पूर्ण निष्कर्ष आउन अझै डेढ वर्ष लाग्छ ।
‘हामी अहिले बागमती नदीको इएमआर जाँच्दै छौँ । पहिलो चरणमा वाटर क्वालिटी टेस्ट भएको छ । बागमती कुनै पनि जीवन बाँच्न नसक्ने अत्यधिक दूषित रहेको प्रारम्भिक अध्ययनमा देखिएको छ । यसको कारण पत्ता लगाउन हामीले नमुना जाँच गरिरहेका छौँ,’ डा. जोशीले भने, ‘करिब डेढ वर्षमा हामीले यसको अध्ययन सकाएर प्रतिवेदन तयार पार्छौँ ।’
जोशीका अनुसार बागमतीको शिर बागद्वारको पानी परीक्षण गर्दा पिउनयोग्य देखिएको छ । सुन्दरीजल, पशुपति, सिनामंगल, तीनकुने हुँदै चोभारसम्म कुनै किरा पनि बाँच्न नसक्ने विषाक्त देखिएको उनले बताए । यस्तो किन भयो भनेर थप पुष्टि गर्न पटक–पटक ल्याब परीक्षण गरिने उनको भनाइ छ । ल्याबमा धेरै खर्च हुने भएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र निजी क्षेत्रका ल्याबको सहायता लिइएको डा. जोशीले बताए ।
परिषद्का अनुसार चोभार क्षेत्रमा बागमतीको करिब एक किलोमिटर आसपाससम्म गन्ध आउँछ । त्यस्तै, काठमाडौंको घना बस्ती रहेको क्षेत्रमा पाँच सय मिटरसम्म दुर्गन्ध फैलिने गरेको छ । मकवानपुर लागेपछि पनि बागमती प्रदूषित नै छ । त्यस क्षेत्रमा केही स्थानको नमुना परीक्षण गर्दा पानी प्रदूषित नै देखिएको परिषद्को प्रारम्भिक रिपोर्ट छ । चुरे पहाड क्षेत्र पुगेपछि भने प्रशोधन गरेर पिउन मिल्ने देखिएको डा. जोशीले बताए ।
‘हामी पटक–पटकको अध्ययन, नमुना संकलन र रिपोर्टपछि अन्तिम रिपोर्ट निकाल्छौँ, बागद्वारमा पिउन मिल्ने भए पनि चोभारमा पुग्दा एकदमै प्रदूषित छ, चुरे पहाड पुगेपछि त्यसलाई प्रशोधन गरेर पिउन मिल्ने किसिमको छ,’ उनले भने, ‘माइक्रोअर्गानिज्म, डिअक्सिमिनेसन, आइरन, ब्याक्टेरियाको अवस्था अध्ययनबाट पत्ता लाग्छ, यो पानीले नदीआसपासका मानिसलाई प्रत्यक्ष असर गरिरहेको छ, अन्तिम नतिजामा त्यो पक्ष पनि स्पष्ट रूपमा समेटिनेछ ।’
यो अध्ययनका लागि परिषद्ले नै लगानी गरेको छ । अध्ययनपछि नदी क्षेत्रको वातावरण सफा बनाउन, पानी सफा गर्न, मानिसलाई असर नपर्ने गरी नदी सफा गर्नलगायत काममा सहयोग मिल्ने डा. जोशी बताउँछन् ।
बागमती धार्मिक आस्था बोकेको नदी पनि हो । उपत्यकाका अधिकांश मठ–मन्दिर बागमती नदीसँग जोडिएका छन् । उपत्यकाको मानव बस्ती सुरुमा बागमतीआसपासमै बसेको इतिहास छ । तर, उपत्यकाको बस्ती र मानव सभ्यता बोकेको नदीमाथि अहिले मान्छेबाटै ठुलो अन्याय भइरहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।
कस्तो पानी पिउन मिल्छ ?
बागमतीको पानीको अवस्था अध्ययन गरिरहेका डा. सन्तोष दुलालका अनुसार प्रोटेबल वाटर (पिउनयोग्य)मा इकोआई (दिसाजन्य) किराहरू हुनुहुँदैन । कुनै पनि रोग लगाउने जीवाणु हुनुहुँदैन । पानीमा गन्ध आउनुहुँदैन । हेभी मेटल (फलाम, मर्करी, पारो र अन्य धातु) मिसिएको हुनुहुँदैन । तर, बागमती नदीमा पानी २० प्रतिशत मात्रै छ, अन्य ८० प्रतिशत ढल रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
‘हिउँद र बर्खा दुवै याममा पानी पिउनयोग्य छैन,’ उनले भने, ‘हामीले सात महिनाअघि र दुई महिनाअघि पानीको नमुना परीक्षण गरेका थियौँ, बर्खायाममा प्रदूषण केही कम देखिए पनि जीव बाँच्न र पिउनयोग्य देखिएको छैन ।’
बागमती सरसफाइका नाममा १२ वर्षमा २३ अर्ब खर्च, अभियानमाथि नै प्रश्न
सरकारले ५ जेठ ०७० देखि बागमती सफाइ महाअभियान थालेको थियो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आह्वान गरिएको अभियानले १२ वर्ष पार गर्दा पनि नदी दुर्गन्धित अवस्थामै छ । सरकारी टोलीले अध्ययन गर्दा बागमतीमा अतिदूषित पानी देखिएपछि बागमती सरसफाइ अभियानसमेत व्यर्थ देखिएको छ । अध्ययनमा सहभागी डा. दुलालले बागमती सरसफाइ र हरियालीको नाममा अर्बौँ बजेट सकिए पनि बागमती ढलमतीका रूपमा रहेको बताए । ‘यत्तिका वर्षदेखि बागमती सरसफाइ अभियान भनेर सञ्चालन भयो । २२–२३ अर्ब नै खर्च भएछ, तर त्यसको खासै प्रभाव देखिएन,’ उनले भने, ‘बागमती नदी सफा पारेर वरिपरि बोट–बिरुवा रोप्ने, डुंगा सवार गर्ने हो भने पर्यटनको सम्भावना पनि छ, त्यसकारण यो नदीलाई संरक्षण गरी पुनर्जन्म दिन सक्नुपर्छ ।’
दक्षिण ललितपुरका किसानसमेत प्रभावित
दक्षिण ललितपुरको प्युटार, गिम्दी र आश्राङ क्षेत्रका फाँटमा समेत बागमतीको पानी प्रयोग गर्दा खेती नहुने समस्या देखिएको छ । ‘यस क्षेत्रमा बागमतीको गन्ध र पानीले खेती नै हुँदैन, माथि गाउँसम्म समेत हिउँदमा बागमतीको गन्ध आउँछ, काठमाडौंवासीका कारणले हामीले प्रदूषण सहनुपरेको छ,’ गिम्दीका कृष्ण सञ्जेलले भने, ‘कम्तीमा नदीमा ढल नमिसाउने र फोहोर नफाल्ने हो भने पनि धेरै कम हुन्थ्यो कि ?’
बागमतीको दूषित अवस्था र आफूहरूले भोगिरहेको समस्याबारे ललितपुर दक्षिण क्षेत्रका स्थानीयले काठमाडौं र ललितपुरका जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराउँदै आएका छन् । बागमती गाउँपालिकाले काठमाडौंका पालिकाहरूसँग क्षतिपूर्तिसमेत मागेको थियो । तर, ती पालिकाले बेवास्ता गरेको बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले बताए । ‘यस क्षेत्रमा बागमती निकै फोहोर बग्छ, बस्नसमेत अप्ठ्यारो हुन्छ, खेतीपाती हुँदैन,’ उनले भने, ‘त्यसैले काठमाडौंका पालिकाहरूले कि नदी सफा पार्नुपर्छ, नत्र क्षतिपूर्ति दिनुपर्छ ।’ बागमतीको पानी प्रयोग गर्दा खेतीपाती नहुने गुनासोसमेत किसानबाट आएको परिषद्ले पनि जनाएको छ ।