खोटाङमा जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन सुरु

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा ‘जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन– २०८३’ शुक्रबारदेखि सुरु भएको छ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुहरूको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो।

दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा जारी सम्मेलनमा नेपाल, भारत, भुटान, बंगलादेश, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जर्मनीका प्रतिनिधि सहभागी छन्। कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू–संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँं र त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा तीनदिने सम्मेलन आयोजना भएको हो।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। जिल्लामा पहिलोपटक आयोजना गरिएको सम्मेलनले स्थानीय स्वरोजगार, स्थानीय सिप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा १० वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको नगरपालिकाले जनाएको छ। जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयहरूको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूसँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिए।

रेडपान्डा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १०, पाथेका र केपिलासगढी गाउँपालिका– १, फेदीमा ‘समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम’समेत सञ्चालन गरिएको छ। विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने जनावर खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम’ सुरु गरिएको हो। 

सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गनजिकको जंगलमा रेडपान्डा पाइने भएकाले ‘मुन्दुम ट्रेल–रेडपान्डा–थार रुट’ पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ। किराँत समुदायको उद्गमस्थल हलेसीस्थित तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपान्डा–थार रुट’ नामकरण गरिएको छ।

सुझावित समाचार