श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी काममा नलगाउन निर्देशन दिएको छ। प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै मन्त्रालयले अन्यथा कारबाही गर्ने चेतावनी दिएको छ।
श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता नगरी काममा लगाउन नहुने, प्रशिक्षार्थीलाई काममा लगाउँदा दैनिक आठ र साप्ताहिक ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नहुने, सोभन्दा बढी काममा लगाउनु परे प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउनुपर्नेलगायतका व्यवस्था छन्।
‘केही अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफलगायतका कर्मचारीहरूको साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानुनले तोकेभन्दा बढी समय काममा लगाइएको भन्ने प्रशिक्षार्थीसमेतबाट उजुरी तथा गुनासाहरू प्राप्त भएको’ मन्त्रालयको सूचनामा उल्लेख छ।
