रास्वपाले संसदीय दललाई पूर्णता दिएको छ । २१ फागुनको निर्वाचनबाट १८२ सिटसहित पहिलो दल बनेको रास्वपाले बिहीबार संसदीय दलका सबै पदाधिकारी चयन गरेको हो ।
१२ चैतमा रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेता चयन गरेको थियो । दलका नेता शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो । दलको उपनेतामा पार्टीको सचिवालय सदस्य गणेश पराजुली चयन भएका छन् । प्रमुख सचेतकमा महामन्त्री कवीन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन् ।
मन्त्री, सांसद र स्वकीयलाई लेबी
रास्वपा संसदीय दलले मन्त्री, सांसद र उनीहरूका स्वकीय सचिवलाई लेबी तोकेको छ । महामन्त्री बुर्लाकोटीका अनुसार मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ लेबी तोकिएको छ । सांसदहरूका लागि १६ हजार पाँच सय रुपैयाँ लेबी तोकिएको छ । रास्वपाले मन्त्री र सांसदहरूको स्वकीय सचिवका लागि दुई हजार लेबी तोक्ने निर्णय गरेको बुर्लाकोटीले बताए ।