कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ पक्राउ

ज्यानसम्बन्धी कसुरमा गाउँपालिका उपाध्यक्ष पक्राउ

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले बिहीबार साँझ नाथलाई पक्राउ गरेको बताए ।

प्रवक्ता शाहीले उपाध्यक्ष नाथलाई किसान हरिकृष्ण राना हत्याकाण्डको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । रानाकी श्रीमती फिरिया रानाले नाथविरुद्ध ज्यान कसुरमा मुद्दा दिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीकाे भनाइ छ ।

‘हामीले उहाँ उपाध्यक्षलाई पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएका छौँ, अहिले प्रहरीकै हिरासतमा हुनुहुन्छ,’ प्रवक्ता शाहीले भने, ‘ज्यान कसुरमा मुद्दा परेकाले अनुसन्धान अघि बढाएका छौँ ।’ नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष नाथ  ज्यान कसुरमा पक्राउ परेपछि कांग्रेससमेत हैरान भएका छन् । उनी समय–समयमा विवादमा पर्दै आएकी थिइन् ।

९ वैशाख ०८२ मा बेलडाँडी गाउँपालिका- ३, खैरीघाटका स्थानीयसमेत रहेका ५० वर्षीय किसान हरिकृष्ण राना बेलौरी नगरपालिका- १०, शिवनगर नाला किनारमा जलेको अवस्थामा फेला परेका थिए । कृषि अनुदानको विषयमा उपाध्यक्ष  नाथ र रानाबिच वादविवाद र आरोप–प्रत्यारोप पनि चलेको थियो ।

घरपरिवारले नाथविरुद्ध एक वर्षपछि मात्रै आएर किटानी जाहेरी दिएको विषयमा नाथनिकट व्यक्तिहरूले फसाउन खोजेको आराेप लगाएका छन् । तर, पीडित परिवारदेखि स्थानीयले घटना कसैमाथि लक्षित नभई सत्यतथ्य छानबिन गर्दै दोषीउपर कानुनी कारबाहीको माग अघि सारेका छन् । 

See More On

सुझावित समाचार