स्वास्थ्य मन्त्रालयले अन्य सरकारी कार्यालयमा जस्तै अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन बिदा दिने योजना अघि बढाएको छ । बिहीबार स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा सातामा दुई दिन बिदा दिनेमा सहमति जुटे पनि कुन–कुन बिदा दिने भन्ने सम्बन्धमा निर्णय नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
स्वास्थ्यकर्मीहरूको चर्को दबाबपछि मन्त्रालयले बिहीबार बैठक बसेर छलफल गरेको थियो । तर, आइतबार र शनिबार लगातार बिदा दिने निर्णय नभएको प्रवक्ता बुढाथोकीले बताए । उनका अनुसार अब देशभरका सरकारी अस्पतालहरूमा सातामा दुई दिन ओपिडी बन्द हुनेछन्। मन्त्रालयले कुन–कुन दिन बन्द गर्ने भनेर शुक्रबार मात्रै बार तोक्नेछ ।
‘दुई दिन बिदा दिनेमा सबै सहमत छौँ, तर आइतबार नै बिदा दिने कि अन्य बार अझै टुंगिएको छैन,’ उनले भने, ‘बिदाको दिन पनि आकस्मिक र अन्तरंग सेवाहरू भने बन्द हुने छैनन्। ती सेवा २४ सै घण्टा सञ्चालन हुनेछन्। गएको आइतबार ओपिडी चलेको थियो, अब आउँदो आइतबार वा अरू बार बिदा गर्ने भन्नेमा शुक्रबार निर्णय हुन्छ ।’ उनले अस्पताल सुधार कार्यविधि, २०८२ मा असर नपर्ने गरी बिदा तोकिने बताए ।