नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार गृह मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा राजदूत योङले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।
सो अवसरमा नेपाल–कोरियाबिचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउँदै आएको सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सो क्रममा गृहमन्त्रीले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरे। राजदूत योङले नेपालीहरू अनुशासित एवं मिहिनेती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेको उल्लेख गरेका थिए।
गृहमन्त्री गुरुङले कोरिया सरकारको सहयोगमा साइबर ब्युरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेकोमा कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे। साथै, उनले भिड नियन्त्रण तथा आमनागरिकको सुरक्षाका लागि नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक पर्ने सुरक्षा सामग्री एवं उपकरणको व्यवस्था गर्न दुई देशका सरकारबिच सहकार्यका लागि प्रस्ताव गरे।
उनले नेपालमा कोरियाली लगानीमा सञ्चालित व्यवसाय तथा लगानीकर्ताको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिए। साथै, बौद्ध संस्कृतिको प्रवर्द्धन तथा लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न दुई मुलुकबिच साझेदारी आवश्यक रहेकोमा उनको जोड थियो।