‘एक मुठ्ठी बादल’को दुई पोस्टर सार्वजनिक

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

चलचित्र एक मुठ्ठी बादलले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले चलचित्रमा रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै पारिवारिक कथामा चलचित्र केन्द्रित रहेको संकेत गरेको छ।

पोस्टरको केन्द्रमा आँचल शर्मा छिन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन्। पोस्टरको अग्र भागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं छन्। ब्याकग्राउन्डमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन्। त्यसैगरी भीमा मैनेली, उषा रजक, मनीष निरौला र अविरलप्रताप अधिकारी देखिन्छन्।

सार्वजनिक अर्को पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजकलाई मात्र स्थान दिइएको छ। यसमा पनि आँचललाई केन्द्रमा राखिएको छ र  निशा शर्मा र उषा रजकका उत्सुक आँखाले आँचललाई हेरिरहेका छन्। यसले तीन महिलाबिचको सम्बन्धलाई संकेत गरेको छ।

सहारा शर्माद्वारा लिखित तथा निर्देशित यस चलचित्रका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन्। निर्माताहरूमा सारा फाजिलात, सामीप्य राज तिमल्सेना, अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्।

छायांकन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरवकुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, वेशभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा र पोस्टप्रोडक्सन सुपरभिजन आश्मा गौतमले सम्हालेका छन्।

गौथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सहनिर्माणमा बनेको यो चलचित्र नेपालभर जेठ १ बाट प्रदर्शनमा आउनेछ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

सुझावित समाचार