सालपा कृषि कम्पनी प्रालि खोटाङले दिक्तेल बजारको किराँतचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवं प्रांगारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बिउ, प्रविधि, सिप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्वबजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले दिक्तेल बजारमा कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
कृषकको उत्पादनले बजारसम्मको पहुँच पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा पैदा हुँदै गएकाले त्यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न सालपा कृषि कम्पनी स्थापना गरेर कृषि मार्ट सञ्चालन गरिएको कम्पनीका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिएका छन् । ‘देशमा युवा जनशक्तिको पलायन, जनसंख्या वृद्धिदरमा कमी र बसाइँसराइका कारण खेतबारी बाँझिनेक्रम बढ्दो छ । जिल्ला आयातित खाद्यान्नमा निर्भर हुँदै गएको छ,’ उनले भने, ‘जिल्लामा प्रांगारिक खेती प्रणाली तथा रैथाने प्रजातिका बालीनालीहरू क्रमिक रूपमा लोप हुँदै गएका छन् । खुला तथा प्रतिस्पर्धात्मक बजार प्रणाली तथा स्थानीय कृषकलाई राज्यबाट प्रदान गरिनुपर्ने उचित संरक्षण अभावका कारण उनीहरू बाहिरी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउँदै उनीहरूले उत्पादन गरेका कृषि उपज विश्वबजारसम्म पुर्याउने लक्ष्यका साथ सालपा कृषि कम्पनीको स्थापना भएको हो ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले बुधबार संयुक्त रूपमा उद्घाटन गरेको कृषि मार्टमा लेकाली सिमी, कालो दाल, सेतो ड्वांगे दाल, लेकाली मकै, भटमास, सातु, कागुनो, नफलेको (ब्राउन) स्थानीय अटेमार्सी चामल, फलेको अटेमार्सी चामल, मकैको च्यांख्ला, जुवाइँ कोदोको पिठो, फापरको पिठो, कालो गहत, खैरो गहत, गुन्द्रुक, पिँडालुको सिम्टा र भुजुरी, जौ, आलुको मस्यौरा, रावाखोलाको असला माछाको सुकुटी, तिल, बदाम, सुकेको अकबरे खुर्सानी, सुकेको जिरे खुर्सानी, बेसार, स्थानी तोरीको तेल, उसिनेको लेकाली मकै, घ्यू, मेहेलको सर्बत, सखर, जुनेलोलगायतका कृषि उपज बिक्रीका लागि राखिएको छ । बिउबिजनमा भटमासहरू, जुवाइँ कोदो, लेकाली सिमी, मकै, जौ, कागुनो, जुनेलो, गहतहरू, दालहरू, मुला, गाँजर, गोलभेँडा, प्याज, लसुन, धनियाँ, रायो सागलगायत रहेको कम्पनीका व्यवस्थापक देवकुमार राईले जानकारी दिएका छन् ।
कृषि मार्टमा विभिन्न प्रकारका आधुनिक कृषि सामग्री तथा औजारहरूसमेत रहेको जनाइएको छ । हजारी, स्प्रे मेसिन, प्रांगारिक मलहरू, भिटामिन, प्लास्टिक टनेल, फेन्सिङ जाली, हर्मेटिक ब्याग, साइलेज ब्याग, च्याउको प्लास्टिक, गार्डेनिङ पाइप आदि आवश्यकीय कृषि सामग्री तथा औजारहरू बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।
कृषिजन्य सामग्री उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि रैथाने तथा गुणस्तरीय बिउबिजन, मल, सिप औजार र प्रविधिसम्बन्धी किसानसँग सहकार्य गरेर दिगो कृषि विकासका लागि विभिन्न कार्यक्रम तथा योजना सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । यस्तै, कृषिजन्य वस्तुहरूको संकलन, प्रशोधन र प्याकेजिङ गरी गुणस्तयुक्त उत्पादन बजारमा पुर्याउन, स्थानीय कृषि उपजका बिउबिजन संकलन, संरक्षण गर्ने तथा जैविक अर्गानिक कृषि उत्पादनलाई सुरक्षित भण्डारण तथा चिस्यान केन्द्र व्यवस्थापन गरी बिक्री–वितरण गर्ने, कृषक र कृषक समूहको कृषि उत्पादन खरिद गरी बजारीकरण गर्ने, रैथाने कृषि उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने जनाइएको छ ।
जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका १५ जना व्यक्तिको सेयर लगानीमा स्थापना गरिएको कृषि कम्पनीले सरकारी तथा गैरसरकारी कार्यालय, सहकारी संस्था, किसान समूह, बैंक तथा वित्तीय संस्था र उद्देश्य मिल्ने अन्य व्यवसायीसँग साझेदारी र सहकार्य गर्ने, वातावरणमैत्री प्रविधि, जैविक खेती र दिगो कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । यस्तै, स्थानीय प्रविधिको नवप्रवर्तन, अध्ययन, अनुसन्धान र प्रयोगमार्फत उत्पादन प्रणालीमा सुधार गर्ने, कृषि फर्म, कृषि पर्यटन, कृषि उद्योग, कृषि उपज बिक्री केन्द्र र तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने, पशुपालन, पशुजन्य उत्पादन तथा प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने कम्पनीले जनाएको छ ।
कृषि कम्पनीले कृषि प्राविधिक परिचालन गरी जिल्लाभरिका विभिन्न कृषक समूहमार्फत रैथाने बाली खेती प्रणालीको सम्भावनाको खोजी, खेतबारीदेखि बिउ भण्डारण, समर्थन मूल्य निर्धारण, ग्रेडिङ तथा प्याकेजिङ, गुणस्तर प्रत्याभूति आदि आवश्यक सिप तथा प्रविधि हस्तान्तरण गर्ने जनाएको छ । जिल्लामा उत्पादित सम्पूर्ण कृषि उपजहरू आवश्यक प्रक्रिया पूरा गरी ब्रान्डिङमार्फत बजारसम्म पुर्याउने र आउटलेटका निकट भविष्यमा नै काठमाडौंमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।
कम्पनीले जिल्लाभित्रका स्थानीय कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने मात्र नभई विभिन्न रैथाने प्रजातिका बिउबिजन संरक्षण गरेर जैविक विविधता संरक्षण र दिगो विकासमा समेत सहयोग पुर्याउने लक्ष्य लिएको छ । कम्पनीको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सरोकारवालाहरूबाट आवश्यक रचनात्मक सहयोग र साझेदारीको अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।