मध्यपूर्वको युद्धले वैदेशिक लगानी प्रतिबद्धता थप प्रभावित

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण
  • युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता देखिएसँगै नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धतामा पनि देखियो असर 

वैदेशिक लगानी प्रतिबद्धतालाई जेन–जी आन्दोलन पछि मध्यपूर्वमा जारी इरान–अमेरिका युद्धले थप प्रभावित बनाएको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धता प्रभावित भएको थियो । तर, नेपालमा लगानी गर्न खोज्ने विदेशी लगानीकर्ता २१ फागुनको चुनावपछि बन्ने सरकारसम्मका लागि पर्ख र हेरको अवस्थामा थिए । सरकार गठन भएसँगै लगानी आकर्षित हुने अपेक्षा पनि थियो । तर, झन्डै दुईतिहाइको बहुमत पाएको स्थायी सरकार बने पनि १६ फागुनमा अमेरिका र इजरायल मिलेर इरानमाथि गरेको आक्रमण र त्यसपछिका तनावका कारण वैदेशिक लगानी प्रतिबद्धता थप प्रभावित बनेको छ ।

युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको अभाव बढ्नुका साथै मूल्य पनि उच्च दरमा बढेको छ । युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता देखिएको छ । त्यसको असर नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धतामा पनि देखिएको हो । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत महिनामा ६१ परियोजनामा एक अर्ब १२ करोड ९२ लाख रुपैयाँ मात्रै वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन अपेक्षाकृत र उत्साहजनक नभएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए । 

गत आवको चैतमा ५३ परियोजनामा १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तर, चालू आवको चैतमा भने एक अर्ब १२ करोड ९२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । यो पुस, माघ र फागुनको तुलनामा केही बढी भए पनि उत्साहजनक नभएको बस्नेतको भनाइ छ । 

‘यसै पनि जेन–जी आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धता कम थियो । नयाँ सरकार बनेपछि भने प्रतिबद्धता बढ्ने अपेक्षा थियो । तर, मध्यपूर्वमा जारी युद्धका कारण वैदेशिक लगानी प्रतिबद्धता थप प्रभावित भएको महसुस गरेका थियौँ,’ उनले भने, ‘मध्यपूर्वको तनावले विश्व अर्थतन्त्रमै अनिश्चितता थपेको छ । विश्वव्यापी रूपमा कच्चा पदार्थलगायतका वस्तु तथा सेवाको मूल्य बढेको छ । यो अवस्थामा जो कोही पनि लगानी गर्ने निर्णयबाट पछि हट्छन् । त्यसको असर नेपालमा पनि परेको छ । यही परिस्थिति कायम भएमा प्रतिबद्धता भएका लगानीसमेत नआउने जोखिम छ ।’

यस सम्बन्धमा विभागले थप विश्लेषण गर्ने उनले बताए । ‘इरान युद्धले के कसरी असर गरेको छ, त्यो विषयमा थप विस्तृत रूपमा विश्लेषण गर्ने तयारी पनि छ,’ उनले बताए । 

नौ महिनामा ४१ अर्ब ७९ करोड प्रतिबद्धता 
चालू आवको नौ महिनामा ६ सय १५ परियोजनामा ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो संख्याको आधारमा गत आवको यसै अवधिको तुलनामा बढी हो । गत आवको नौ महिनामा चार सय ८० परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । रकमका आधारमा भने कम हो । गत आवको नौ महिनामा ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएका थियो । गत आवभर भने आठ सय ४० परियोजनामा ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

महानिर्देशक बस्नेतले चालू आवको लगानी प्रतिबद्धता सन्तोषजनक नभएको बताए । ‘गत आवमा ६५ अर्ब हाराहारीमा प्रतिबद्धता आएको थियो । चालू आवको चैतसम्म कम्तीमा पनि ५० अर्बको प्रतिबद्धता आउनुपर्ने हो,’ उनले भने, ‘तर, त्यसअनुसार प्रतिबद्धता आउन सकेन ।’

कुन महिना कति ?
तथ्यांकअनुसार चालू आवको साउनमा एक सय २७ परियोजनामा २४ अर्ब १० करोड ५० लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यसपछि भदौमा एक सय नौ परियोजनामा आठ अर्ब ९८ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको देखिन्छ । त्यसपछि असोजमा ७५ परियोजनामा दुई अर्ब चार करोड ५७ लाख रुपैयाँ, कात्तिकमा ७१ परियोजनामा एक अर्ब ५४ करोड ३९ लाख रुपैयाँ र मंसिरमा ५६ परियोजनामा एक अर्ब ९१ करोड ४९ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यसपछि पुसमा ३९ परियोजनामा ५९ करोड ९५ लाख रुपैयाँ, माघमा ४९ परियोजनामा एक अर्ब चार करोड ७२ लाख रुपैयाँ र फागुनमा ३० परियोजनामा ३८ करोड ६० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चैत महिनामा भने ६१ परियोजनामा एक अर्ब १२ करोड ९२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । 

कुन क्षेत्रमा कति ? 
समीक्षा अवधिमा कृषि क्षेत्रमा सबैभन्दा धेरै २२ अर्ब आठ करोड ८० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । १६ परियोजनामा सोबराबरको लगानी प्रतिबद्धता आएको हो । यस्तै, पर्यटनमूलक क्षेत्रका १६४ परियोजनामा ११ अर्ब ४६ करोड २० लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । सेवा क्षेत्रका ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रका ३८ परियोजनामा दुई अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, ऊर्जाका दुई परियोजनामा २३ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । संख्याका आधारमा सूचना प्रविधि क्षेत्रमा धेरै आकर्षण देखिएको छ । सूचना प्रविधिका ३४६ परियोजना एक अर्ब ४५ करोड ७२ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत भन्छन्–
यसै पनि जेन–जी आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धता कम थियो । नयाँ सरकार बनेपछि भने बढ्ने अपेक्षा थियो । तर, मध्यपूर्वमा जारी युद्धका कारण वैदेशिक लगानी प्रतिबद्धता थप प्रभावित भएको महसुस गरेका थियौँ । मध्यपूर्वको तनावले विश्व अर्थतन्त्रमै अनिश्चिता थपेको छ । विश्वव्यापी रूपमा कच्चा पदार्थलगायतका वस्तु तथा सेवाको मूल्य बढेको छ । यो अवस्थामा जोकोही पनि लगानी गर्ने निर्णयबाट पछि हट्छन् । त्यसको असर नेपालमा पनि परेको छ । यही परिस्थिति कायम भएमा प्रतिबद्धता भएका लगानीसमेत नआउने जोखिम छ ।

सुझावित समाचार