प्रेरक प्रसंग : बाघ र अर्नाको जम्काभेट

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

एउटा घना जंगल थियो । जंगलमा विभिन्न जनावर बस्थे । सबैको आआफ्नै बसोवास क्षेत्र र समूह थिए । उनीहरूमध्ये कतिको त एक–आपसमा भेट पनि हुँदैनथ्यो । उनीहरूले एक–अर्कालाई चिन्दा पनि चिन्दैनथे । 

एक दिन भर्खरै जवान भएको एउटा बाघ जंगलमा एक्लै घुमिरहेको थियो । उसले केही समयदेखि एक्लै सिकार गर्न थालेको थियो । ऊ जंगलका अनेक दृश्य हेर्दै र रमाउँदै सिकारको खोजीमा अघि बढ्दै थियो । अर्कातिर एउटा जवान अर्ना पनि त्यसैगरी आफ्नो समूह छाडेर जंगलमा एक्लै घुमिरहेको थियो । ऊ पनि कता नरम र स्वादिलो घाँस पाइन्छ भनेर चाख्दै हिँडिरहेको थियो । 

केही टाढाबाटै बाघ र अर्नाले एक–अर्कालाई देखे । दुवैले पहिलोचोटि एक–अर्कालाई देखेका थिए । त्यसैले, दुवैलाई दुवैको स्वभाव र क्षमता थाहा भएन । बाघले अर्नालाई आफूभन्दा ठुलो देख्यो । दुइटा जब्बर सिङ र मोटोघाटो शरीर देखेर ऊ अर्नामाथि आक्रमण गर्नबाट हच्कियो । उता अर्ना पनि बाघ देखेर हच्कियो । कस्तो जनावर हो, नजिक जाँदा केही हानि पो हुने हो कि भनेर ऊ टक्क रोकियो ।

बाघ र अर्ना दुवै एक–अर्कालाई हेरिरहेका थिए । दुवै एक–अर्काका गतिविधि नियाल्दै थिए । अर्नाले नजिकै नरम र स्वादिलो प्रजातिको घाँस देख्यो । त्यो देखेर ऊ त्यहीँ चर्न थाल्यो । यो देखेर बाघले मनमनै सोच्यो– ए, यो त घाँस खाने जनावर पो रहेछ । आखिर घाँस खाने जनावरलाई त म सिकार गर्न सकिहाल्छु नि ! यो सोचर ऊ बिस्तारै अघि बढ्यो । घाँस खानमा मस्त भएको अर्नाले बाघ आफूतिर आउँदै गरेको पत्तै पाएन । एक्कासि बाघले घाँटीमा आक्रमण गरेपछि मात्र उसले थाहा पायो । तर, त्यतिन्जेल ढिलो भइसकेको थियो । ऊ बाघको पन्जाबाट उम्किन सकेन र बाघको सिकार बन्यो । 

आखिर आफ्नो स्वभाव र कमजोरी शत्रुलाई थाहा दिएकाले नै अर्नाको ज्यान गयो । त्यसैले, हामीले पनि शत्रु या अरू कसैसामु आफ्नो कमजोरी थाहा दिनु बुद्धिमानी हुँदैन ।

सुझावित समाचार