उदयपुरमा दुई छुट्टाछुट्टै घटनामा दुईजनाकाे मृत्यु

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुईजनाकाे मृत्यु भएकाे छ। एक बेवारिसे पुरुषको शव फेला परेको छ भने सवारी दुर्घटनामा एक बालकको ज्यान गएको हाे।

जिल्लाको कटारी नगरपालिका–१, खसीबासस्थित हडैया–कटारी कच्ची सडक खण्डको भित्री सडक छेउमा आज करिब ४:३० बजे अन्दाजी ५५–५६ वर्ष उमेरकाे जस्तो देखिने एक पुरुष मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाले जानकारी दिए।

उनका अनुसार स्थानीयले सडक छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक व्यक्ति तराई मूलका जस्तो देखिए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन। 

इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

यसैबिच, मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ जोगीटोल खण्डमा सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। 

नेपालटारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६८५ नम्बरको सिटी सफारी दुर्घटनामा रौतामाई गाउँपालिका–७, मुर्कुची बस्ने दीपक मंग्रातीका ४ वर्षीय छोरा सुरज मंग्रातीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी थापाले जानकारी दिए।

दुर्घटनामा सिटी सफारीचालक त्रियुगा नगरपालिका–३, भुल्केका ३४ वर्षीय जयराम चौधरी र बालकका बुबा दीपक मंग्राती घाइते भएका छन्। 

डिएसपी निरञ्जन थापाका अनुसार दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार