मकवानपुरमा आजदेखि राहदानी (पासपोर्ट) घरमै पुग्ने सेवा सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने व्यवस्था लागू गरेको हो ।
सेवाको सुरुवातका रूपमा हुलाक कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका– ४, कपुर कम्प्लेक्सनजिक बस्ने २२ वर्षीय निश्चल मानन्धरको घरमै पुगेर राहदानी बुझाएको छ । राहदानी वितरणका लागि हल्कारा, जिल्ला हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी मानन्धरको घरमै पुगेका थिए ।
घरमै राहदानी पाउँदा खुसी व्यक्त गर्दै मानन्धरले सरकारको यो कदम स्वागतयोग्य भएको बताए। ‘बल्ल सरकारले राम्रो कामको सुरुवात गर्यो, यस्तै सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ,’ उनले भने। जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणका लागि बुधबार हुलाक कार्यालयलाई ५० वटा राहदानी उपलब्ध गराएको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेका अनुसार ती सबै राहदानी आजै सेवाग्राहीको घर–घरमा पुर्याउने तयारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राहदानी तयार भएपछि फेरि कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्न यो सेवा सुरु गरिएको हो। सेवा प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयसँग समन्वय गरेर तयारी गरेको उनले बताए।
प्रारम्भिक चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मात्र सेवा सञ्चालन गरिनेछ। हालसम्म तयार भइसकेका, तर लिन नआएका करिब पाँच सय राहदानी पहिलो चरणमा हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याउने योजना प्रशासनको छ। हुलाक कार्यालयका प्रमुख लामिछानेका अनुसार उपमहानगरका नजिकका वडामा सोही दिन राहदानी पुर्याइनेछ भने टाढाका स्थानमा अधिकतम भोलिपल्ट बेलुकासम्म वितरण गरिनेछ। हाल स्रोतसाधन र सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा सेवा विस्तार गर्न नसकिए पनि आवश्यक जनशक्ति र साधन उपलब्ध भएपछि विस्तार गरिने योजना रहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारीचालक अनुमतिपत्र (लाइसेन्स)समेत हुलाकमार्फत घरमै उपलब्ध गराउने योजना बनाएको छ। यो सेवा नेपाल सरकारले घोषणा गरेको सयबुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको हो।
सरकारले चैत १३ गते सार्वजनिक गरेको उक्त कार्यक्रमअनुसार सय दिनभित्र नागरिकमैत्री सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । सोही कार्यक्रमको बुँदा नम्बर २७ अन्तर्गत घरदैलोमै सेवा पुर्याउने नीति कार्यान्वयनका रूपमा मकवानपुरमा राहदानी घरघरमै वितरण सुरु गरिएको प्रशासनले जनाएको छ । यस व्यवस्थाले सेवाग्राहीलाई प्रशासन कार्यालय धाउनुपर्ने झन्झट कम हुनुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।