मोटरसाइकल र हायस ठोक्किँदा दुई युवाको मृत्यु, राजमार्ग अवरुद्ध

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

कैलालीको लम्कीचुहा नगरपालिकामा हाइस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा– ७, गुलारामा मंगलबार बेलुकी भएको घटनापछि बुधबार बिहानबाट स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाइस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई युवाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परेको मोटरसाइकलमा सवार लम्कीचुहा– ८ मलभंगाका २४ वर्षीय पुष्प सुनार र ३३ वर्षीय गगन रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

घटनाको छानबिन हुनुपर्ने, राजमार्गमा भइरहने दुर्घटना न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । मृतक दुवैको शव टीकापुर अस्पतालमा राखिएको छ ।राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका र राजमार्ग नियमित गर्न पीडित पक्षसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तिमिल्सिनाले बताए ।
 

सुझावित समाचार