लाइट जडान नै नगरी करिब आठ लाख भुक्तानी, स्थानीयले गुहारे अख्तियार र प्रशासन

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

सिराहाको कल्याणपुर नगरपालिकामा कर्मचारी, जनप्रतिनिधि र व्यवसायीको मिलेमतोमा काम नहुँदै भुक्तानी गरी सरकारी रकम अपचलन गरेको आरोप लगाउँदै स्थानीयले छानबिनका लागि अख्तियार दुरुपयोग आयोग र स्थानीय प्रशासनलाई गुहारेका छन् । नगरपालिका केन्द्रसमेत रहेको कल्याणपुर– ११ को मुख्य बजारस्थित दुर्गा मन्दिरमा लाइट जडान कार्य सम्पन्न नै नगरी अमित सप्लायर्सलाई सात लाख ९१ हजार ३७४ रुपैयाँ भुक्तानी दिइएको भन्दै स्थानीयले गत २७ चैतमा छानबिनका लागि स्थानीय प्रशासनमा उजुरी गरेका छन् । त्यसअघि नै स्थानीयले अख्तियारमा समेत उजुरी गरेका छन् ।

उजुरीमा नगरको आर्थिक वर्ष ०८२/८३ को नगरसभाबाट स्वीकृत दुर्गा मन्दिरमा लाइट जडानका लागि १० लाख रुपैयाँ बजेट योजना नै सञ्चालन नगरी कागजी प्रक्रिया पुर्याएर कार्यवाहक प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र जिन्सी शाखा प्रमुखले रकम अपचलन गरेको सम्बन्धमा तत्काल छानबिन गरी आवश्यक कारबाहीको माग गरिएको छ । उक्त योजना सञ्चालनका लागि गत २९ असोजमा दिइएको सम्झौता कार्यादेश, १२ कात्तिकको खरिद आदेश र २५ चैतमा प्राप्त भुक्तानीको प्रमाणसहित स्थानीयले दिएको उजुरीमा जिल्ला प्रशासन कार्यालयले नगरको प्रशासन र लेखाका कर्मचारी झिकाएर यथार्थ बुझी विस्तृत प्रतिवेदन बुझाउन भनेको छ ।

सम्झौता भएको १५ दिनमै भुक्तानी
सप्लायर्सले मन्दिर र परिसर क्षेत्रमा लाइट जडानसँगै फ्लड लाइट, एलइडी बल्ब, एडप्टर, प्रोजेक्टर बत्ती, बिजुलीको तारसहित अन्य नेटवर्किङ सामग्रीलगायत विद्युतीय सामग्री उपलब्ध तथा जडान गराउने जिम्मा लिए पनि सामान मात्र खरिद गरी त्यसको भुक्तानी लिएर अन्य काम नगरेको स्थानीयको आरोप छ । स्थानीय विजयकुमार साह भन्छन्, ‘काम नै नगरी रकम भुक्तानी दिनु भ्रष्टाचार हो, त्यसमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनुपर्छ ।’ कार्यादेशअनुसारको काम नै सम्पन्न नगरी सम्झौता भएको १५ दिनमै भुक्तानी दिनुले पनि कमिसनको खेल भएको पुष्टि हुने उनको दाबी छ ।

नगरपालिकाले मन्दिरमा लाइट जडानसम्बन्धी योजना बजेटको र कामको विषयमा सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गरी कागजात माग गरेपछि आफूहरूले काम नै नगरी भुक्तानी दिएको जानकारी पाएको स्थानीय शीतल साहले बताए । ‘कामै नगरी भुक्तानी गरिएको सूचना पाएपछि पुष्टिका लागि अर्को सूचना माग गर्यौँ,’ उनले भने, ‘त्यसपछि मात्र कार्य सम्पन्न नगरी रकम भुक्तानी गरिएको यकिन भएको हो ।’ सरकारी रकम अपचलनमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

कल्याणपुर नगरपालिका– ११ का अध्यक्ष परमेश्वर साहले नगरस्तरीय योजना भएकाले वडाबाट कार्य सम्पन्नताको सिफारिस आवश्यकता नभएको र भुक्तानी प्रक्रियाको विषयमा आफूलाई थाहा नभएको बताए । ‘सप्लायर्सले खरिद गरेको सामान स्टोरमा दाखिला भएको र मन्दिर व्यवस्थापन समितिले गरिरहेको कामको कारणले लाइट जडान नभएको भन्ने सुनेको छु,’ उनले भने, ‘त्यसबाहेक के–के भयो भन्न सक्दिनँ ।’ यो विषयमा नगरका प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव पटक–पटक फोन, म्यासेज गर्दासमेत सम्पर्कमा आउन चाहेनन् ।

योजनाको सम्झौता, कार्यादेश खरिद भुक्तानीमा जोडिएका तत्कालीन प्रशासकीय अधिकृत श्रीदेव यादवले आफ्नै कार्यकालमा कोटेसेनमार्फत काम भएको बताए । सम्झौतापछि कार्यादेशबमोजिम काम गर्न ठेकेदार गएको, तर मन्दिर निर्माण भएपछि मात्र लाइट जडान गर्न अनुरोध गरेपछि काम रोकिएको उनले बताए । योजना सम्पन्न नगरी भुक्तानी दिन मिल्छ भन्ने प्रश्नमा उनले सामग्री खरिदको बिलबापतको मात्र भुक्तानी दिइएको अन्य भुक्तानी नदिइएको बताए ।

भौतिक पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर सुधीरकुमार यादवले फाइल हेरेपछि मात्र के भएको रहेछ भन्ने सक्ने बताए । नगरका जिन्सी शाखा प्रमुख परशुराम कार्कीले भने प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र जाने भएकाले हतारमा भुक्तानी गरिएको बताए ।

अमित सप्लायर्सका प्रतिनिधि हरेराम साहले भने आफूले जिम्मा लिएको सबै काम सम्पन्न गरिसकेको दाबी गरे । ‘हामीले काम गरे–नगरेको विषयमा मन्दिरमै गएर हेर्नुस्,’ उनले भने, ‘स्थानीयको अवरोधका कारणले नोक्सानी व्यहोरेर पनि सम्झौताबमोजिमको काम सम्पन्न गरेका छौँ ।’

सुझावित समाचार