कोरियन कम्पनी एसवाई लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनको रत्ननगर नगरपालिका– १४, पिठुवामा नयाँ ‘एसवाई युपिभिसी’ उद्योग खोल्ने भएको छ । सोमबार एक कार्यक्रमबिच रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) होङ सङ–बुले संयुक्त रूपमा उद्योगको शिलान्यास गरेका हुन् ।
मेयर सापकोटाले आफ्नो नगरपालिका क्षेत्रभित्र नयाँ उद्योग खोल्दा स्थानीय तहको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै निर्माण सामग्री उत्पादनले आत्मनिर्भरता बढ्ने सापकोटाको भनाइ छ ।
‘नगरपालिका क्षेत्रभित्र उद्योग स्थापनामा गर्न चाहने लगानीकर्तालाई के–के सहयोग आवश्यक पर्छ, त्यसमा सहजीकरण स्थानीय तहले गर्छ । तर, रोजगारीमा पहिलो प्राथमिकता स्थानीयलाई हुनुपर्छ, प्रत्यक्ष विदेशी लगानी रहेको एसवाईले एक चरणको सफलता पार गरिसकेको छ, आगामी दिनमा अझ सशक्त भएर ठुलो मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास छ,’ उनले भने ।
युपिभिसी उद्योग स्थापना भएपछि चितवनसहित आसपासका जिल्लामा औद्योगिक विकासले थप गति लिने अपेक्षा मेयर सापकोटाले गरे । यस्तै, उक्त उद्योग सञ्चालनमा आइसकेपछि नेपालमै अत्याधुनिक प्रविधिबाट गुणस्तरीय युपिभिसी ढोका, झ्यालका प्रोफाइल तथा अन्य निर्माण सामग्री उत्पादन हुने बताइएको छ । कम्पनीका सिइओ होङ सङ–बुले चितवनमा स्थापना हुने युपिभिसी प्रोफाइल कारखाना कोरियाको अत्याधुनिक प्रविधि र नेपालको गतिशील जनशक्तिको संगमबाट जन्मिएको आशाको केन्द्र हुने बताए ।
शिलान्यास समारोहले कोरिया र नेपालबिचको आर्थिक सहयोगलाई अझ मजबुत बनाउने र चितवन क्षेत्रको विकासका लागि उत्प्रेरकको काम गर्ने पनि सिइओ सङ–बुको भनाइ छ । ‘नेपालमा राजनीतिको स्थिरता हुँदै छ र आर्थिक विकासका ढोका खुल्दै छन्, यस अवसरको लहरमा एसवाईले नेपाल सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्न र उन्नत प्रविधि हस्तान्तरण गर्न नेतृत्वदायी भूमिका खेल्नेछ,’ उनले भने । कम्पनीका अनुसार उद्योगको अनुमानित लागत ५६ करोड रुपैयाँ रहेको छ । प्रत्यक्ष कोरियन लगानी रहेको एसवाई प्यानल नेपालले रत्ननगरमै प्यानलका प्रडक्ट पनि उत्पादन गर्दै आएको छ ।