सरकारले मंगलबार १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कृषि पेसालाई सम्मानजनक र सुरक्षित बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले कृषि नै प्रमुख पेसा र कर्म हो भन्ने मनोविज्ञानको विकास गरी यसलाई सम्मानजनक र सुरक्षित बनाउन किसान क्रेडिट कार्ड, बिमा र सहुलियत ऋण उपलब्ध गराउने जनाइएको छ ।
त्यस्तै, भूउपयोग योजनाको पुनरावलोकन गरी बाँझो कृषि जग्गाको उपयोगसहित चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ । नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत कानुनी र भन्सारसुधारलगायतका कार्य गर्ने जनाइएको छ ।
यसले आयात प्रतिस्थापनलाई टेवा पुग्ने सरकारको आकलन छ । हरेक स्थानीय तहमा सामुदायिक बिउ बैंक स्थापना गरी स्वदेशी र रैथाने बिउ संरक्षण र प्रवर्द्धन गर्ने जनाइएको छ ।