प्रेरक प्रसंग : भौतिक सम्पत्तिको महत्व

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

एक धनी व्यापारी थिए । उनकी एउटी छोरी थिइन्, छोरा थिएनन् । पत्नीको पहिल्यै मृत्यु भइसकेको थियो । छोरीको पनि बिहे भइसकेको थियो । छोरीज्वाइँ व्यापारीसँगै उनकै घरमा बस्थे । 

व्यापारी वृद्धावस्थामा पुगिसकेका थिए । त्यसैले, उनले आफ्नो बाँकी सम्पूर्ण सम्पत्ति छोरीको नाममा नामसारी गरिदिए । सम्पत्ति पाएपछि छोरी र ज्वाइँ मोजमस्तीमा डुब्न थाले । उनीहरू व्यापारीको सम्पत्ति मनखुसी उडाउन थाले । उनीहरूले वृद्ध व्यापारीको देखभाल गर्न छाडिदिए । उनले खाए या खाएनन्, उनलाई सन्चो या बिसन्चो के छ, यस्ता कुरामा चासोसम्म राख्न छाडे ।

छोरीज्वाइँको यस्तो चाला देख्दा वृद्ध व्यापारी निकै दुःखी भए । उनले आफ्ना एक व्यापारी मित्रबाट एक लाख स्वर्णमुद्रा सापटी लिए । त्यसलाई फलामका बलिया दुई बाकसमा टम्म भरेर राखे । साथमा उस्तै आकारका थप आठ बाकससमेत बनाउन लगाए । एकदिन उनले आफ्ना छोरीज्वाइँलाई बोलाएर स्वर्णमुद्रा राखिएका दुई बाकस खोलेर देखाउँदै भने– मसँग अझै १० बाकस स्वर्णमुद्रा छन् । मेरो मृत्युपछि एक बाकस स्वर्णमुद्रा गरिबमा बाँडिदिनू र बाँकी तिमीहरू आफैँले राख्नू । 

यस दिनदेखि छोरीज्वाइँले पुनः वृद्ध व्यापारीको खुब सेवा गर्न थाले । उनीहरूले उनका सुखदुःख र आवश्यकतालाई ध्यान दिए । व्यापारीले बाँकी जीवन निकै सुखसाथ बिताए । एकदिन व्यापारीको मृत्यु भयो । काजकिरियापछि छोरीज्वाइँले खुसी हुँदै स्वर्णमुद्रा राखिएका बाकस खोले । तर अचम्म ! ती बाकस त स्वर्णमुद्राको साटो ससाना ढुंगाले भरिएका थिए । व्यापारीले स्वर्णमुद्रा त पहिल्यै आफ्ना मित्रलाई फिर्ता गरिसकेका थिए । बाकसमा छोरीज्वाइँका नाममा एउटा चिठी थियो ।

जसमा लेखिएको थियो– प्यारी छोरी, यी ढुंगाले त्यस मूर्खको टाउको फुटाइदिनू, जसले आफू जिउँदो छँदै आफ्नो सारा सम्पत्ति सन्तानलाई दिन्छ । त्यसैले छोरी, जबसम्म आफ्नो शरीरमा सास रहन्छ, तबसम्म आफ्नो सम्पत्ति आफैँसँग राख्नू । सम्मान सम्पत्तिले पाइन्छ, स्नेहले होइन । व्यापारीको चिठी पढेपछि छोरीज्वाइँका आँखा रसाए । उनीहरूले एक–अर्कालाई पुलुक्क हेरे र आँखा झुकाए । 

सुझावित समाचार