सिलिचोङ ट्रेल रेसको उपाधि नारद राईले जिते

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

संखुवासभाको सिलिचोङ गाउँपालिकाले आयोजना गरेको ‘सिलिचोङ ट्रेल रेस’ को उपाधि चिचिलाका नारद राईले जितेका छन्। आज (मंगलबार) संखुवासभाको सदरमुकाम खाँदबारीस्थित टुँडिखेलदेखि सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कूसम्म ४२.२ किमि दूरीको ‘सिलिचोङ ट्रेल रेस’को उपाधि राईले जितेको हो।

राईले ६ घण्टा २६ मिनेटको दूरी पार गर्दै उपाधि हात पारेका हुन भने सिलिचोङ गाउँपालिका प्रसान राईले ६ घण्टा २७ मिनेटको दूरी पार गर्दै दोस्रो उपाधि जिते। रेसमा सहभागीहरू खाँदबारी–मानेभञ्जाङ–अरुणथान–हरेलोडाँडा–दिदिङ हुँदै बुधबारे ताम्कू पुगेका थिए । उक्त ट्रेल रेस प्रतियोगितामा सिन्धुली, खोटाङ, उदयपुर, भोजपुर र संखुवासभा जिल्लाबाट गरी जम्मा ४७ जना प्रतिस्पर्धी सहभागी भएका थिए । प्रतियोगिताका विजेताले  नगद रु. २५हजार र प्रमाणपत्र र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको सिलिचोङ गाउँपालिका खेलकुद समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । 

‘सिलिचोङ ट्रेल रेस’ को खाँदबारीमा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले औपचारिक रूपमा रिबन काटेर उदघाटन गर्दैै सहभागीहरूलाई शुभकामना दिएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस प्रमुख सुमन शाक्यले यस्ता प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति आकर्षण बढाउनुका साथै स्वास्थ्य र अनुशासनको विकासमा टेवा पुग्ने बताए। उनले प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिलिचोङ क्षेत्रलाई खेलकुदमार्फत राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा यस प्रतियोगितालाई लिनुपर्नेमा जोड दिए।

त्यसैगरी, गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले स्थानीयस्तरमा खेलकुद प्रवर्धन गर्दै पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यसले सिलिचोङ क्षेत्रको पहिचान अझै बढाउने विश्वास व्यक्त गरे ।

सुझावित समाचार