नयाँ वर्षमा तुलसी घिमिरेको फिल्म ‘पहाड’ नेपालभर प्रदर्शन

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

नयाँ वर्षलाई लक्षित गर्दै आज वैशाख १ गतेदेखि फिल्म ‘पहाड’ नेपालभर प्रदर्शन भएको छ । बेरोजगारी, मानवविहीन रित्तिएको पहाड र पानीको समस्यामा आधारित फिल्मलाई वरिष्ठ निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका छन् । फिल्मले अहिलेको नेपालकाे समसामयिक विषय उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए ।

उनले भने, ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सदभावसँगै रित्तो हुँदै गइरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भए पनि यो समग्र देशकै चित्रण हो ।’

उनका अनुसार आज फिल्मका कलाकारले काठमाडौं उपत्यकाका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन् । फिल्म ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनील थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नवअभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनील थापालाई पनि ‘पहाड’मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायांकन गरेका छन् । भाग्यरत्न फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएकोे ‘पहाड’मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रूपमा डेब्यु गर्दै छिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।

फिल्ममा रञ्जितसिंह गजमेर संगीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा बैंबटेस इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेसनल फिल्मसले वितरण गर्नेछ ।

यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ ।

See More On

सुझावित समाचार