कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवा पक्राउ

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

कपिलवस्तु नगरपालिका– १ को व्यस्त चोकबजार क्षेत्रबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले विशेष निगरानी बढाएका वेला सोमबार गरिएको अपरेसनमा मायादेवी गाउँपालिका– ८, बरकुलका २१ वर्षीय अभिषेक गुप्तालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकललाई पछ्याएको थियो। प्रहरीको निगरानी देखेपछि मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका गुप्तालाई महेन्द्रगेटनजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । खोजतलासीका क्रममा मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय दरका २८ गड्डी भारतीय रुपैयाँ बरामद गरिएको छ।

कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले घटनाबारे जानकारी दिँदै भने, ‘हामीले विशेष सूचनाका आधारमा निगरानी बढाएका थियौँ। मोटरसाइकलको सिटमुनि र डिक्कीमा अत्यन्त गोप्य तरिकाले लुकाएर राखिएको १४ लाख भारतीय रुपैयाँ फेला परेको हो। स्रोत नखुलेको रकम भएकाले यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

सिंहका अनुसार पक्राउ परेका गुप्ता बर्रोहियास्थित न्यु गुप्ता पेट्रोल पम्पका सञ्चालकसमेत हुन्। यसअघि पनि जिल्लाका विभिन्न स्थानमा बरामद भएका अवैध मुद्रा तथा सुनसम्बन्धी घटनामा उनको नाम जोडिएको खुलेको छ। हाल गुप्तालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार