०८२ मा खेलकुद : राजनीतिले क्षति पुर्‍याएको वर्ष

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण
  • ०८२ मा खेल पदाधिकारीबिचको आपसी खिचातानीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनै सकेन, राष्ट्रिय खेलकुद परिषद्को ऐनविपरीत निर्वाचन गर्दा दुईवटा समानान्तर नेपाल ओलम्पिक कमिटी बने, परिषद्ले तीन महिना निलम्बन गरेपछि एन्फाले निर्वाचन स्थगित गर्यो जसका कारण नेपाल फिफाको प्रतिबन्धको सँघारमा पुगेको छ 

गत वर्ष ०८२ मा नेपाली खेलकुदमा धेरै उतारचढावहरू देखिए । व्यक्तिगत सफलता र टिम इभेन्ट्स खेलकुद प्रतियोगितामा नेपालको नाम अन्तर्राष्ट्रिय जगत्मा चुलियो । त्यहीँ नै पदाधिकारीबिचको आन्तरिक खिचातानीले पनि खेल वृत्तमा फोहोरी खेल भए । सफलताका कथासँगै असफलताहरू पनि गत वर्ष नेपाली खेलकुदले सामना गर्नुपर्यो । नेपाली खेलकुदको सधैँ एउटा पीडादायी पक्ष भनेको यो कहिले राजनीतिमुक्त हुन सकेन । 

यहाँ अक्सर राजनीतिको चेपुवामा खेलाडी पर्छन् । गत वर्ष ०८२ मा पनि खेल क्षेत्रमा यस्तै राजनीतिक घटनाक्रमले चर्चा पाए । नेपाल ओलम्पिक कमिटीको निर्वाचन, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्योल र अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन प्रमुख घटनाका रूपमा रहे । 

१०औँ राष्ट्रिय खेलकुद घोषणामै सीमित
राष्ट्रिय खेलकुद परिषद् स्वयंले कर्णाली प्रदेशमा मंसिर ०८१ मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरेको थियो । तर, परिषद्को घोषणा केवल घोषणामै सीमित भएको छ । कर्णाली प्रदेश प्रतियोगिता आयोजनाको पर्खाइमा छ । तेजुलाल चौधरी र बब्लु गुप्ता खेलकुदमन्त्री भए । उनीहरूले प्रतियोगिताको मिति घोषणा गरे, तर आयोजना गर्न सकेन । दशौँ राष्ट्रिय खेलकुद हुन नसक्नुको ठुलो पछाडि खेलकुद मन्त्रालय र परिषद्बिचको राजनीतिक खिचातानी थियो । 

तत्कालीन परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र खेलकुदमन्त्री तेजुलाल चौधरीबिचको टकरावले पनि प्रतियोगिता हुन सकेन । घिसिङले आयोजना गर्न तयार हुँदा चौधरीले भने १०औँ राष्ट्रिय खेलकुल आयोजना गर्न चाहेनन् । मन्त्री चौधरीले आफ्नो कार्यकालमा दुईपटक मिति सारे । ३६ खेलका खेलाडी गत वर्ष दशौँ राष्ट्रिय खेलकुदको प्रतीक्षामै बिताए । जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्कीको सरकारमा खेलकुदमन्त्री बनेका गुप्ताले निकै जोशका साथ प्रतियोगिता गत १ देखि १० फागुनसम्म हुने घोषणा गरे । तर, उनले मन्त्रिपरिषद्बाट आफ्नो निर्णय पारितसमेत गर्न सकेनन् । दशौँ राष्ट्रिय खेलकुदको आयोजक प्रदेश कर्णालीले भने पूर्वाधारका कारण प्रतियोगिता कुनै पनि वेला गर्न सकिने जनाएको छ । तर, खेलवृत्तको राजनीति खिचातानी गत वर्ष १०औँ राष्ट्रिय खेलकुद हुँदै भएन । 

दुईवटा ओलम्पिक कमिटी
खेल क्षेत्रभित्रको राजनीति विवादमा नेपाल ओलम्पिक कमिटी प्रमुख घटना रह्यो । जीवनराम श्रेष्ठले आफू तेस्रो कार्यकालका लागि चुनावमा उत्रने घोषणा गरेसँगै विवाद सुरु भयो । उनकै कार्यकालका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको विधानअनुसार निर्वाचन नभएको जनाउँदै बहिष्कार गरे । मन्त्री चौधरीले जीवनरामलाई ओलम्पिकबाट ‘आउट’ गर्ने रणनीति बनाउँदा ओलम्पिकको निर्वाचन थप जटिल बन्यो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले जति प्रयास गरेका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार एक व्यक्तिले दुई कार्यकालभन्दा बढी अध्यक्ष उठ्न पाउँदैनन् । तर, जीवनराम विधान संशोधन गरेर फेरि चुनाव लड्न मात्र निर्वाचितसमेत भए । ओलम्पिक विवाद अगाडि बढ्दै जाँदा सरकारले सातदोबाटोस्थित ओलम्पिक भवनमा तालवन्दी गर्यो । भर्जुअल मिटिङमार्फत अनलाइन भोटिङ गरेर ओलम्पिकको निर्वाचन भयो । सरकारले यसलाई मान्यता दिएन । मन्त्री चौधरीले ओलम्पिककै पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नयाँ ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्यो । 

जेन–जी आन्दोलनपछि खेलकुदमन्त्री चौधरीले राजीनामा दिए । त्यसपछि बनेका मन्त्री गुप्ताले यतातिर खासै ध्यान दिएनन् । बिस्तारै ओलम्पिक विवाद सेलाउँदै गयो पनि । अहिले सरकारले गठन गरेको ओलम्पिकको अस्तित्व नै छैन । 

तेस्रोपटक टी–२० विश्वकपमा सहभागी 
नेपाली पुरुष क्रिकेटका लागि गत वर्ष मिश्रित रह्यो । नेपालले तेस्रोपटक तथा समग्रमा दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेल्यो । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपाल समूह ‘सी’मा रह्यो । नेपालले विश्व प्रसिद्ध रंगशाला वानखेडेमा पहिलो खेलमा दुईपटकका विश्व च्याम्पियन इंग्ल्यान्डविरुद्ध सनसनी प्रदर्शन गर्यो । नेपाल खेलमा चार रनले पराजित भयो । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्यो । विश्वकपमा नेपालले स्कटल्यान्डलाई हराउँदै २०१४ पछि पहिलो पटक जित हात पारेको थियो । नेपाल समूह चरणमा इटालीसँग १० र वेस्ट इन्डिजसँग ९ विकेटको पराजित भयो । आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । 

यसअघि नेपाल यू–१९ विश्वकपको एसिया छनोटबाट छानिने अवसर गुमाउन पुग्यो । नेपाली सिनियर टोली आइसिसी विश्वकप लिग २ का लागि स्कटल्यान्ड पुग्दा उत्कृष्ट प्रदर्शन गर्यो । सो भ्रमणमा नेपालले नेदरल्यान्ड्सविरुद्ध दुई तथा स्कटल्यान्डविरुद्ध एक खेलमा जित निकाल्यो । यसैगरी, त्रिकोणात्मक टी–२० आई सिरिजमा उपविजेता बन्यो । गत वर्ष नै युएईमा नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० आई सिरिज २–१ ले जित्यो । नेपालले टी–२० विश्वकपको एसिया छनोटमा अपराजित रहँदै तेस्रो पटक विश्वकपमा स्थान बनायो । त्यसपछि युएईमा घरेलु टोली, अमेरिकाविरुद्धका लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले ४ खेलमा हारको सामना गर्यो ।

गत मंसिरमा नेपाल क्रिकेट संघले पहिलोपटक फलड लाइटमा त्रिवि मैदानमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग आयोजना गर्यो । यसपटक लुम्बिनी लायन्स नयाँ विजेता बन्यो । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पराजित भयो । महिला राष्ट्रिय क्रिकेट टोलीका लागि भने वर्ष २०८२ खराब रह्यो । महिला टोलीले युगान्डामा भएको चारदेशीय टी–२० आई सिरिजमा दुई खेलमा जित हात पार्यो । नेपालले थाइल्यान्डमा भएको महिला विश्वकपको एसिया छनोटको शीर्ष दुईमा स्थान बनाउँदै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

एथलेटिक्समा चम्केकी सन्तोषी
सन्तोषी श्रेष्ठले गत वर्ष चार फरक विधामा पाँच कीर्तिमान राखिन् । भारतमा भएको चौथो दक्षिण एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा उनले दश हजार र पाँच हजारमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले १० हजार मिटरमा ३४ मिनेट ४७.७७ सेकेन्डको नयाँ रेकर्ड राचखिन् । उनले पाँच हजार मिटरमा १६ मिनेट ३६ः६१ सेकेन्डमा नयाँ रेकर्ड स्थापित गरिन् । सन्तोषीले भ्यालेन्सिया म्याराथनमा दुई घण्टा ४० मिनेट २३ सेकेन्ड निकाली कीर्तिमान सुधार गरिन् । उनले लन्डन म्याराथन दुई घन्टा ४२ मिनेट ५० सेकेन्डका साथ नयाँ कीर्तिमान बनाइन् ।

तीन महिनासम्म एन्फा निलम्बन
गत वर्ष एन्फाका पदाधिकारी मैदानमा सक्रिय हुनुभन्दा पनि सातदोबाटोको एन्फा कम्प्लेक्समै व्यस्त देखिए । त्यो पनि निर्धारित समय भन्दा ‘अली निर्वाचन’ गराउने पक्षमा उनीहरू सक्रिय भए । पंकजविक्रम नेम्वाङ र असन्तुष्ट पक्षबिच लगभग वर्षभरि नै आन्तरिक विवादमा घम्साघम्सीमै समय विताए । नेम्वाङसँग कार्यसमितीमा बहुमत सदस्यहरूको साथ पाउँदा उनले प्रत्येक निर्णय एकलौटी रूपमा गरे । नेम्वाङका प्रत्येक निर्णयको विरोध असन्तुष्ट पक्षले गरिरहे । यही पदाधिकारीबिचको द्वन्द्व सतहमा देखियो । एन्फाले गत २६ माघमा ‘अर्ली इलेक्सन’ घोषणा गर्यो । तर, एन्फाले राष्ट्रिय खेलकुद परिषद्बाट निर्वाचनका लागि स्वीकृति आवश्यकता मानेन । सरकारले जिल्ला, प्रदेशपछि मात्र केन्द्रको निर्वाचन गर्न भनी एन्फालाई निर्देशन दियो । तर एन्फाले फिफा र एएफसीको विधानअनुसारै निर्वाचन जसरी पनि हुने उल्टै बतायो । राखेपले पटकपटक निर्वाचन स्थगित गर्न निर्देशन दिइरह्यो । राखेप र एन्फाबिचको द्वन्द्व यति बढ्यो कि राखेपले दशरथ रंगशाला नदिएको भन्दै एन्फाले नेपाल र हङकङबिचको मैत्री फुटबल प्रतियोगिता नै रद्द भयो । 

अदालत र राखेपको स्वीकृतिविना नै एन्फाले १३ चैतमा झापामा हुने निर्वाचनका लागि कार्यतालिका प्रकाशित गर्यो । यसको एक दिनअगाडि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गर्यो । राखेपको निलम्बनपछि झापा पुगेका एन्फा पदाधिकारीले निर्वाचन स्थगितको घोषणा गरे । आफूहरू निलिम्बन परेको जनाउँदै एन्फाले पहिलोपटक महिलातर्फको सहिद स्मारक ‘ए’ डिभिजन लिगसँगै चलिरहेको पुरुषतर्फका राष्ट्रिय लिगसमेत अनिश्चिकालीनसमयका लागि स्थगित गरेको छ । यति मात्र नभएर एन्फाले निलम्बनकै कारण देखाउँदै महिला राष्ट्रिय टोलीले फिफा सिरिजबाट नाम झिक्यो । अहिले नेपाली फुटबलको अवस्था ठप्प छ । प्रतियोगिता सञ्चालन नहुँदा खेलाडी प्रभावित बनेका छन् ।

कराँते वान प्रिमियरमा छाएकी एरिका 
कराँतेकी एरिका गुरुङलाई गत वर्ष विशेष रह्यो । एरिकाले सबैजसो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिइन् । एरिकाले प्रायजसो नेपालका लागि पदक दिलाइन् । यस वर्ष उनले कराँतेको वर्ल्ड च्याम्पियनसिपदेखि कराँते वान प्रिमियर लिग, कराँते वान सिरिज ‘ए’जस्ता महत्वपूर्ण र ठुला प्रतियोगितामा नेपाललाई सफलता दिलाइन् । एरिकाले कराँते वान प्रिमियर लिगमा दुईपटक रजत जितिन् । कराँते वान प्रिमियर लिगमा उनले कांस्य जितिन् । विश्व कराँते महासंघको आयोजनामा भएको डब्लुकेएफ कराँते वान सिरिज ‘ए’ मा उनले ऐतिहासिक स्वर्ण जितिन् । 

सुनमाया चर्चित ट्रेल रनर
सुनमाया बुढा अन्तर्राष्ट्रियस्तरकै चर्चित ट्रेल रनर हुन् । गत वर्ष सुनमायाले महत्वपूर्ण उपलब्धि हासिल गरिन् । उनले स्पेनमा भएको विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिन् । सुनमायाले दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना भएको अल्ट्रा ट्रेल १०० किमि रेसको उपाधि हात पारिन् । दिदी सुनमायाजस्तै बहिनी राममाया बुढाले पनि अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन गरिन् । गत वर्ष राममायाले विश्व ट्रेल मेजर सर्ट डिस्ट्यान्समा समग्रमा दोस्रो स्थान रक्षा गरिन् । पछिल्लो समयमा प्रिया राई ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शनका साथ अगाडि रहिन् । उनले एसिया ट्रेल मास्टर्सको लगातार दोस्रोपटक उपाधि जित्दै कीर्तिमान बनाइन् । उनी एसिया ट्रेल लगातार दुईपटक जित्ने पहिलो र एक मात्र महिला धावकसमेत हुन् । यस्तै, प्रियाले माघमा म्यानमारको कालावालमा कालाव अल्ट्रा ट्रेल रनअन्तर्गत ५० किमिमा स्वर्ण जितेकी थिइन् । प्रियाले निर्धारित दूरी पाँच घण्टा ३८ मिनेट ३९ सेकेन्डमा पूरा गरेकी थिइन् । प्रियाले कोर्स रेकर्डसहित स्वर्ण जित्दै अर्को कीर्तिमान बनाएकी हुन् ।

विश्व बक्सिङमा ऐतिहासिक कांस्य 
नेपाली मुक्केबाज चन्द्र थापामगरले विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक कांस्य जिते । नेपाली बक्सर चन्द्र थापामगरले युएईको दुबईमा भएको आइबिए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । उनले ५४ केजी तौल समूह (बान्टमवेइट) मा इरानी खेलाडी मेहदी काजेमीलाई युनानिमस डिसिजनका आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनल पुगेपछि नै नेपालका लागि पदक पक्का गरेका थिए । चन्द्र सेमिफाइनलमा काजकिस्तानका खेलाडी साकेन बिबोसिनोभसँग पराजित भएका थिए ।

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका खेलाडीले जितेको यो पहिलो पदक हो । च्याम्पियनसिपमा नेपालबाट चन्द्रसहित पाँचजना खेलाडीले प्रतिस्पर्धा गर्दा चन्द्रले मात्र पदक जिते । 

See More On

सुझावित समाचार