पोखरामा पहिलोपटक आयोजना गरिएको पोखरा फ्लेयर मास्टर च्यम्पियनसिपको उपाधि इटहरीका राई बादशाह किराँतले जितेका छन् । उनले अन्य ३६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते । कार्यक्रम कान्तिपुर होटेल ट्रेनिङ सेन्टर पोखराको आयोजना, कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेज पोखराको सहकार्य एवं सेतो बाघ भोड्काको प्रस्तुतिमा भएको हो ।
नेपाली बार टेन्डरलाई उजागर गर्दै व्यावसायिक तालिमलाई विश्वव्यापी रोजगारीको बाटोका रूपमा स्थापित गर्ने उद्देश्यसमेत रहेको यो राष्ट्रियस्तरको च्याम्पियनसिप हो । यसमा बुटवलका रोशन चौधरी उपविजेता, काठमाडौंका नवीन धामी तेस्रो, बुटवलका रेशम गुरुङले चौथो स्थान हात पारे । यसैगरी, इटहरीका उनै राई कक्टेलल बनाउने र काठमाडौंका विनोद गुरुङ उत्कृष्ट बोटल घुमाउने कलामा उत्कृष्ट भए ।
आयोजक कान्तिपुरका संस्थापक अध्यक्ष विजय पौडेलका अनुसार बारटेन्डरले दुईभन्दा बढी पेय प्रदार्थका बोतल घुमाएर नचाएर ग्राहकलाई खुसी बनाउनेसम्बन्धी प्रतियोगिता भएको हो । यसका विजेताले ४० हजार नगद, बार टुल सेटसँगै प्याराग्लाइडिङको टिकटलगायत पुरस्कार पाएका छन् । त्यस्तै, उपविजेताले २५ हजार नगदसँगै बार सामग्री, तेस्रोले १५ हजार नगद र बार सामग्री, चौथोले सात हजारसँगै बार सामग्री प्राप्त गरेका छन् । साथै, उत्कृष्ट कक्टेलले पाँच हजार नगद र बन्जी जम्पको टिकट, उत्कृष्ट बोतल घुमाउने कलाले पाँच हजार नगद पुरस्कार पाए । सँगै विजेता सबै ६ जनाले ट्रफी, गिफ्टह्याम्पर, सम्मानपत्र र प्रमाणपत्रसमेत पाएका पौडेलले जानकारी दिए । सहभागी अन्य सबैलाई मायाको चिनो र सहभागिताको प्रमाणपत्र वितरण गरिएको पौडेलले बताए ।
पौडेलले यो प्रतियोगितामार्फत युवालाई अन्तर्राष्ट्रियस्तरको करिअरतर्फ प्रेरित गर्ने र पर्यटन तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महŒवपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । च्यम्पियनसिपको निर्णायकमा युवराज पुन (काठमाडौं), ऐला विशेषज, सुरज महर्जन (स्टेप अप हस्पिटालिटी), विष्णु सारू र सिटिइभिटीका शैलेन्द्र शाही थिए ।