नयाँ वर्ष ०८३ मनाउन पर्यटकीय राजधानी पोखरामा आन्तरिक एवं बाह्य पर्यटक ओइरिएका छन् । अंग्रेजी नयाँ वर्षजस्तै नेपाली नयाँ वर्ष मनाउन हाल पोखरामा देश–विदेशका विभिन्न सहरका गरी ३५ हजारभन्दा बढी पर्यटक यहाँ जम्मा भएका छन् ।
नेपाली कला तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने, प्राकृतिक र मानवीय अतिक्रमणमा परेको फेवातालको संरक्षण गरौँ भन्ने जनचेतना फैलाउनुका साथै पर्यटन, संस्कृति र खानालाई महत्व दिएर फेवा नववर्ष महोत्सव ०८३ चलिरहेको छ । होटेल संघ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको २१औँ संस्करणको महोत्सव मंगलबारसम्म चल्नेछ ।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले अंग्रेजी नयाँ वर्षझैँ नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्व दिइएको बताए । महोत्सव हेर्न र नयाँ वर्ष मनाउन हाल पोखरा पर्यटकले भरिएको उनले जानकारी दिए । ‘अहिले पोखरामा ३५ हजार हाराहारी पर्यटक आएका छन् । उनीहरूमध्ये आन्तरिक ५० र बाह्य पर्यटक ५० प्रतिशत छन्,’ उनले भने । बाह्य पर्यटकमा सबैभन्दा धेरै भारतीय रहेको सुवेदीको भनाइ छ । उनका अनुसार पोखरा र आसपासमा सञ्चालनमा रहेका होटेलको ४० हजार बेड क्षमता छ, जसमा करिब ९५ प्रतिशत होटेल पर्यटकले भरिभराउ छन् ।
लेकसाइडमा भेटिएका अछामका नरेन्द्र बुढाले घरको कामले पोखरा आए पनि मौकाले महोत्सवमा सहभागी हुन पाएको र रमाइलो पनि लागेको बताए । भारत उडिसाका राममोहनले मुक्तिनाथ दर्शनका लागि आएकामा पोखरामा नयाँ वर्षको महोत्सव चलिरहेको थाहा पाएर एक दिनको बसाइ लम्ब्याएको बताए ।
पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवाताल–किनारको ड्यामसाइडदेखि लेकसाइडको गैराको चौतारासम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवका अवसरमा त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टले आफ्ना भान्सा सडकमै राख्ने र सडकबाटै पर्यटकलाई सेवा दिने गरेका छन् । महोत्सवमा रेस्टुरेन्टसँगै खाना र अन्यका गरी चार सयभन्दा बढी स्टल सडकमा राखिएका छन् । पर्यटकले पनि सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको स्वाद लिने सुवेदीले जानकारी दिए । महोत्सवमा नेपालका विभिन्न जातीय तथा धार्मिक–संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, भजन, रत्यौली, सारंगी, पर्यटकीय स्थलको जानकारी, खेलकुद, लाइभ ब्यान्ड, सडकमै विभिन्न मनोरञ्जनात्मक, खेलकुद कार्यक्रमसमेत हेर्न पाउने अध्यक्ष सुवेदीले जानकारी दिए । यस वर्ष मुख्य आकर्षण पञ्चेबाजा प्रतियोगिता छ । यसमा विभिन्न १५ समूहले प्रतिस्पर्धा गरेको उनले जानकारी दिए ।
महोत्सव अवधिभर आउने पाहुनालाई संघमा आबद्ध होटेलले आवासमा २५ प्रतिशतसम्म छुट प्रदान गरेको होटेल संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । यस्तै, अन्य व्यवसायीले समेत महोत्सव अवधिभर विभिन्न छुट दिएका छन् । आन्तरिक एवं बाह्य गरी तीन लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको आयोजक संघकी सचिव पार्वता पाण्डेले बताइन् ।