पर्सामा प्रहरी जवानको हत्या आरोपमा चारजना पक्राउ परेका छन्। २७ वर्षीय विकास चौरसियाको हत्या आरोपमा रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र भारतीय नागरिक १९ वर्षीय कन्हैया कुमार रहेको प्रहरीले जनाएको छ ।
सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान चौरसिया बिदामा वीरगन्ज आएका वेला आइतबार हत्या भएको थियो। सोनीसँग उनको निकटताको आशंका गरेर हत्या गरिएको अनुसन्धानमा खुलेको छ । सोनी वीरगन्जमा बस्दै आएकी थिइन्। उनका श्रीमान् सन्तोष वैदेशिक रोजगारीमा थिए। एक साताअघि नेपाल फर्किएका सन्तोषलाई प्रहरी जवान चौरसियाकी आफ्नी श्रीमतीसँग निकटता रहेको आशंका गरेर हत्याको योजना बनाएर आक्रमण गरेको अनुसन्धानमा खुलेको हो।
आईइबार साढे ४ बजेको समयमा वीरगन्ज- ११, रानीघाटमा प्रहरी जवान चौरसियामाथि धारिलो हतियार प्रहार गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाइएको थियो। सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर चौरसियाको उद्धार गरेर अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरिदिएका थिए।
प्रेम सम्बन्ध र रिस आवेगका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतले बताए।