उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– ९, राजाबासस्थित मदन भण्डारी लोकमार्गखण्डमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ।

सोमबार बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स.१०प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.५ख ६१७ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार त्रियुगा नगरपालिका– ९, डाँडाटोलनिवासी अन्दाजी ३५ वर्षीय हरि दनुवारको मृत्यु भएको हो।

स्थानीयवासीका अनुसार दनुवार पसलका लागि मासु लिएर घर फर्किने क्रममा थिए। सोही वेला अर्को मोटरसाइकलले ओभरटेक गर्ने प्रयास गर्दा उनको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको टिपरमुनि पुगेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

यद्यपि, घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनामा संलग्न टिपरचालक त्रियुगा नगरपालिका– ७, होक्सेनिवासी अन्दाजी २८ वर्षीय आशिष माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुझावित समाचार