सामाजिक सेवा गर्नका लागि पर्याप्त मात्रामा धनसम्पत्ति हुनुपर्छ भन्ने छैन । सामाजिक सेवा र कर्म गर्न मन हुनुपर्छ भन्रे चेतनाबाट प्रेरित भएर मधुवन नगरपालिका– ६ का दुर्गा वलीले निःशुल्क घरदेखि घाटसम्म अभियान चलाए ।
वलीले मधुवन नगरपालिकाभित्र बसोबास गर्ने स्थानीयले ज्यान गुमाएमा शवलाई निःशुल्क घरदेखि घाटसम्म पुर्याउने घोषणा गरेर निःशुल्क सेवा सञ्चालनमा ल्याए। वलीले सुरुवात गरेको शवलाई घरदेखि घाटसम्म अभियानबाट पालिकाभित्रका धेरैको शवलाई घाटसम्म पुर्याउने कामसमेत भएको छ । वलीले आफूसँग भएको चारपांग्रे गाडीलाई शव बोक्नका निम्ति प्रयोग गर्दै आएका छन् ।
व्यापार–व्यवसायमा आबद्ध वली व्यापार–व्यवसायसँगै राजनीतिमा पनि सक्रिय छन् । वली नेकपा एमाले बर्दियाका उपाध्यक्षसमेत हुन् । व्यापार–व्यवसाय, राजनीति र समाजसेवामा उत्तिकै सक्रिय वलीले करिब चार वर्षदेखि निःशुल्क घरदेखि घाटसम्म सेवा सञ्चालनमा ल्याए । उनले अहिलेसम्म घरदेखि घाटसम्म अभियान चलाएर चार सयभन्दा बढी शव बोकेको जानकारी दिए ।
उनले भने, ‘घरदेखि घाटसम्म अभियान मैले व्यक्तिगत खर्चमा सञ्चालन गरेको हुँ । यस अभियानमा जोडिएर काम गर्न पाउँदा सन्तुष्टि मिल्छ । मैले व्यापार–व्यवसाय गरेर आर्जन गरेको रकमको केही अंश घरदेखि घाटसम्म अभियानमा खर्च गर्ने गरेछु ।’ उनले भने, ‘पालिकाले पनि शववाहन खरिद गरेर सञ्चालनमा ल्याएको भए पनि अझै पनि स्थानीयहरूले दुर्गाजी शव बोक्नका लागि गाडी पठाइदिनु भन्नुहुन्छ ।’
पालिकाभित्र सञ्चालनमा रहेको यो अभियानलाई अन्य पालिकामा विस्तार गर्ने चाहना भए पनि स्रोतसाधनको सीमितताले गर्दा चाहेर पनि काम गर्न नसकेको वलीले जानकारी दिए । पछिल्लो समय देशभित्र रोजगारीको अवसर छैन । जसले गर्दा युवाहरू रोजगारीको खोजीमा विदेश गएका छन् भने केही युवाहरू उच्च शिक्षा हासिल गर्नका लागि घरबाहिर जाने क्रम पनि बढ्दो छ । त्यही भएर गाउँघरमा युवाहरू र श्रम गर्ने जनशक्ति पाउन गाह्रो छ । गाउँ रित्तिएसँगै शव बोक्ने मलामी पाउन मुस्किल भएको देखेर अभियान चलाएको उनले बताए ।
वलीले शव लिनका लागि नेपालगन्ज, कोहलपुर, गुलरियासमेत गाडी पठाउने गरेका छन् । सानै उमेरबाट विद्यार्थी राजनीति गरेका वलीले समाजमा आफूले सक्ने योगदान गर्नु भन्ने लागेर गाउँघरमा मलामी पाउन मुस्किल भएपछि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर यो अभियान चलाएको बताए ।
पालिकाले शववाहन खरिद गरी सञ्चालन गरेको भए पनि आफूले सक्ने वेलासम्म यो अभियान चलाइरहने वलीले जानकारी दिए । उनले भने, ‘यो अभियान सञ्चालन गरेर मैले गाउँघरमा सक्ने जति सहयोग गरेको छु । मैले गरेको काम राम्रो भनेर स्थानीयले सम्झिदिए पुग्छ । आजसम्म मैले समाजमा कमाएको धनसम्पत्ति यही नै हो भन्ने लाग्छ ।’
पछिल्लो समय वलीलाई राजनीतिक नेताको रूपमा मात्र नभएर घरदेखि घाटसम्मको अभियन्ताको रूपमा समेत चिन्न थालेका छन् । वलीले गरेको कामले वलीलाई फरक पहिचान दिएको छ । व्यापार–व्यवसाय, राजनीतिक र समाजसेवा सँगसँगै गर्दै आएका वलीले गरेको सञ्चालन गरेको निःशुल्क घरदेखि घाटसम्म अभियान धेरैका लागि प्रेरणा बन्ने गरेको छ ।