पर्यटन, संस्कृति र खानालाई महत्व दिँदै फेवा नववर्ष महोत्सवको २१औँ संस्करण पोखरामा सुरु भएको छ । प्राकृतिकसँगै मानवीय अतिक्रमणमा परेको फेवातालको संरक्षण गरौँ भन्ने जनचेतना फैलाउने उद्देश्यसहित होटेल संघ पोखरा, नेपालको आयोजनामा सुरु भएको महोत्सव १ वैशाख ०८३ सम्म चल्नेछ ।
नेपाली कला तथा संस्कृतिको संरक्षण र संवद्र्धन गर्न पोखरा महानगरपालिका, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्घाटन गरिन् । प्रजिअ शर्माले पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले देशकै महत्वपूर्ण सहर रहेको बताइन् । सबैको सहकार्यले पोखरालाई सुरक्षित र सुन्दर सहरका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले आन्तरिकसँगै भारतीय र चिनियाँ पर्यटकका लागि पोखरा महत्वपूर्ण रहेको बताए । आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले फेवाताल–किनारको तीन किमि क्षेत्रमा तीनदिने महोत्सव चल्ने बताए । पर्यटकले सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको परिकारको स्वाद लिन पाउनेछन् ।
हाल पोखरा र आसपासका क्षेत्रमा गरी आठ खर्बभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भएको र त्यसमध्ये ६ अर्ब लगानी होटेलहरूमा रहेको अध्यक्ष सुवेदीले बताए । महोत्सव अवधिभर आउने पाहुनालाई संघमा आबद्ध होटेलले आवासमा २५ प्रतिशतसम्म छुट दिने संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।