नेपाल–चीन अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिकोको कोदारीस्थित इको क्षेत्रमा पहिरो नियन्त्रण गर्न चिनियाँ अनुदान प्राप्त भएको छ । ११ वर्षदेखि गाउँलाई जोखिममा पारेर बगिरहेको इको पहिरो नियन्त्रणको काम अब केही दिनपछि सुरु हुने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण भण्डारीले बताए । नेपाल–चीन अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिकोको कोदारीस्थित इको क्षेत्रमा पहिरो नियन्त्रण गर्न चिनियाँ अनुदान प्राप्त भएको उनले जानकारी दिए ।
इको पहिरोमाथि एक सय ७५ घरपरिवारको बसोवास छ । पहिरोमुनि भोटेकोशी नदीले बर्सेनि कटान गर्छ । गाउँ जोगाएर पहिरो नियन्त्रण गर्न कठिन छ । नाका सधैँ सञ्चालनमा रहे पनि पहिरोका कारण बर्खाभरि कोदारी राजमार्ग बन्द हुने गरेको छ । गत बर्खामा करिब तीन महिना सडक बन्द भएपछि स्थानीयले पहिरोमै बसेर सडक बन्द गरेका थिए । स्थानीयको माग सम्बोधन गर्न डिभिजन प्रमुख भण्डारी पहिरो प्रभावित क्षेत्र पुगेका थिए ।
सिन्धुपाल्चोक जिल्ला प्रशासन, पूर्वसांसद माधव सापकोटा, भोटेकोशी गाउँपालिका– २ का वडाध्यक्ष कुमार श्रेष्ठ, सडक डिभिजन र सरोकारवाला निकायले इको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयमा बजेट माग गरेका थिए । मन्त्रालयबाट विनियोजित ४८ करोड ४९ लाख बजेटमा सडक डिभिजन कार्यालय चरिकोटले पहिरो नियन्त्रणका लागि ठेक्का लगाएर धमाधम काम भइरहेको थियो ।
‘बर्खाअघि नै पहिरो नियन्त्रण गर्ने गरी हामीले ठेक्का लगाएर काम गरिरहेका छौंँ,’ भण्डारीले भने, ‘तर, अहिले नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त भएपछि काम रोकेका छौंँ ।’ परराष्ट्रले पठाएको पत्रमा इको पहिरो नियन्त्रण चिनियाँ अनुदानमा गरिन लागेको उल्लेख छ ।
परराष्ट्रले सीमा क्षेत्र भएकाले इको पहिरो नियन्त्रण गर्न चीन सरकारलाई धेरैपटक पत्रमार्फत अनुरोध गरेको थियो । सरकारको पत्रलाई अन्ततः चीन सरकारले सकारात्मक जवाफ पठाएको हो । इको पहिरो क्षेत्रमा चिनियाँ टोली आएर स्थलगत अवलोकन गरेका छन् ।