भ्रष्टाचार मुद्दा लागेर हाल कारागारमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी आफ्ना निकटस्थसँग हत्तपत्त फोनमा कुरा गर्दैन थिए । गोप्य कुराहरू ‘ट्र्याक’ हुन सक्ने डरले सुरक्षित ठानेर ह्वाट्सएप रोज्थे । त्यही ह्वाट्सएपबाट उनका भ्रष्टाचारजन्य गतिवधि, आपराधिक योजना र अवैध सम्पत्तिका प्रमाण फेला परेका छन् । अनुसन्धान गर्ने निकायहरूले उनको मोबाइलमा फेला पारेका विवरण चकित पार्ने किसिमका छन् ।
अधिकारीमाथि भ्रष्टाचार र अपराधको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीबाट छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनको मोबाइलबाट सुशीला कार्की नेतृत्वको चुनावी सरकार ढाल्ने प्रयास गरेकोदेखि अकुत सम्पत्ति साथीहरूको नाममा लुकाएको तथा विभिन्न व्यक्तिलाई वितरण गरिएको पैसाको विवरण भेटिएका हुन् । आफ्नो भ्रष्टाचार मुद्दा रोक्न अख्तियारका प्रमुख आयुक्तलगायत अधिकारीलाई अन्डरवल्र्ड समूह खडा गरी धम्क्याएको विषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । जसक्रममा उनको मोबाइलबाट उनका थप अनुचित गतिविधि फेला परेका हुन् । यो विषयमा उनीमाथि छुट्टै मुद्दा अभियोजनको तयारी छ ।
अधिकारीमाथि दुई वर्षअघिदेखि नै अख्तियारले छानबिन गर्दै आएको थियो । जेन–जी आन्दोलनपछि अनुसन्धानले तीव्रता पायो । सुशीला कार्की नेतृत्वको सरकारसमेत आफ्नो विपक्षमा भएपछि उनी सरकार गिराएर नयाँ चुनावी सरकार बनाउने योजनामा लागेको उनका कुराकानीमा देखिन्छ । प्राधिकरणकै उपनिर्देशक चाँदमाला श्रेष्ठ र बिचौलिया पृष्ठभूमिका ठेकेदार नवीनराज बस्नेतसँगको कुराकानीमा सरकार ढाल्ने योजनामा आफू सक्रिय रहेको उनले बताएका छन् ।

चाँदमालालाई गत ३० कात्तिकमा पठाएको सन्देशमा उनले क्यानको डिजीलाई फाल्ने कुरा गलत रहेको, अब हाम्रो सरकार आउने उल्लेख गरेका छन् । बस्नेतसँगको ह्वाट्सएप च्याटमा पनि उनीहरूबिच बारम्बार यस विषयमा कुरा भएको थियो । ४ मंसिरम भएको च्याटमा बस्नेतले सोेधेका छन्, ‘कहिले जाने भयो सरकार दाइ ?’ जसमा अधिकारीले ‘भेरी सुन (छिट्टै) भन्दै जवाफ फर्काएका छन् ।
आफूनिकट बैंककी कर्मचारी जुनु थापालाई पठाएको सन्देशमा पनि उनले देशको अवस्था राम्रो नभएको र आफूहरूको सरकार नआउन्जेल बस्नका लागि कुनै अपार्टमेन्टको साजसज्जा गराउन अधिकारीले ३ मंसिरमा भनेका थिए । त्यसको दुई सातापछि अर्थात् १७ मंसिरमा अख्तियारले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । आफू पक्राउ पर्न सक्ने संकेत पाएपछि उनले त्यसरी नयाँ अपार्टमेन्ट खोजेका थिए । न त उनको सरकार ढालेर अनुकूलको सरकार बनाउने योजना सफल भयो, न आफूविरुद्धको भ्रष्टाचार मुद्दा रोक्न । अख्तियारले उनीविरुद्ध हालसम्म तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । थप मुद्दामा अनुसन्धान पनि चलिरहेको छ ।
अन्डरवर्ल्ड र भारतीय तान्त्रिकबाट पनि नसकेपछि ओलीको शरण
केपी ओली नेतृत्वको सरकारका वेला प्रदीप अधिकारीमाथिको अनुसन्धान सुस्त गतिमा थियो । अख्तियारले छानबिनलाई तीव्रता दिएसँगै उनको छटपटी बढेको थियो । भ्रष्टाचार अनुसन्धानलाई रोक्न उनले जेन–जीका नाममा केही युवालाई अख्तियारमा पठाएर प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्न लगाएकोसमेत खुलेको छ । अर्जुन शाहीलगायत व्यक्तिलाई अख्तियारमा पठाएको विवरण उनले प्राधिकरणकै उपनिर्देशक चाँदमाला श्रेष्ठलाई पठाएको सन्देशमा उल्लेख छ । आफूलाई जेन–जी अगुवा बताउने शाही पछि ठगी मुद्दामा पक्राउ परेका थिए । जेन–जी आन्दोलनपछि उनले विभिन्न सरकारी कार्यालय गएर उच्चपदस्थलाई राजीनामा दिन धम्क्याउने गरेका थिए । अधिकारीले उनै शाहीलाई समेत प्रयोग गरेका थिए ।
जेन–जीदेखि एक्ट्रिमिस्ट ग्रुपका नाममा धम्क्याउँदा पनि काम नभएपछि उनले राजनीतिक रूपमा दबाब दिने योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ । एमाले अध्यक्ष केपी ओलीमार्फत आफ्नो मुद्दा तामेलीमा राख्ने प्रयास गरेको कुराकानीमा देखिन्छ । यसका लागि उनले एमालेनिकट ठेकेदार नवीनराज बस्नेतलाई खटाएका थिए । बस्नेतले आफू ओलीलाई भेट्न पटक–पटक गुन्डु गएको र ओलीका पिए राजेश बज्राचार्यसँग कुरा गरेको उल्लेख गरेका छन् ।
अख्तियारले अनुसन्धानलाई तीव्रता दिएपछि अधिकारीले बस्नेतलाई गत ९ मंसिरमा भनेका छन्, ‘कन्सलटेन्सलाई पनि बोलाएको छ भोलि, एकदम फास्ट ट्र्याक गर्दै छ भाइ ।’ च्याटमा बस्नेतले अधिकारीलाई भनेका छन्, ‘यति साह्रो प्रेसर किन दाइ, रोकिन्छ ढुक्क हुनु न, गति छाडेर भए पनि गर्छु दाइ, टेन्सन नलिनु ।’ त्यस्तै, आफू गुन्डुमा रहेको, साँझमा भेट्ने कुरा रहेको, अख्तियारका अन्य आयुक्तहरूसँग भेटघाटको तय गरिएको जस्ता कुराहरू उल्लेख छन् । उनीहरूबिच अख्तियारका आयुक्तहरूलाई भेट्ने कुराकानी पनि भएको छ । ओलीका पिए राजेश बज्राचार्यले भने अधिकारीको मुद्दा रोक्न प्रयास गरेको उनीहरूबिचको कुराकानीमा झल्किन्छ ।
ओलीमार्फत मुद्दा रोक्न उनीहरूबिच यसरी च्याट भएको एक सातापछि अख्तियारले पक्राउ गरी उनलाई नलिञ्चोकको हेलिपोर्ट निर्माणमा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । त्यसपछि पनि उनीविरुद्ध पोखरा विमानस्थलको भ्रष्टाचारमा दुईवटा मुद्दा दायर गरिसकेको छ ।
मुद्दा प्रभावित गर्न उनले त्यसअघि अन्डरवर्ल्डमार्फत अख्तियारका प्रमुख आयुक्त राईलगायतलाई धम्क्याउनेदेखि भारतीय तान्त्रिक बाबासम्मको प्रयोग गरेका छन् । एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको नाममा राजीनामा दिन दबाब दिँदै विदेशबाट धम्क्याइएको थियो । जसका लागि अधिकारीले नै दुई करोड रुपैयाँ दिएको प्रहरीको अनुसन्धानबाट खुलिसकेको छ । यसरी धम्की दिने प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइसकेको छ । त्यसरी धम्क्याउन आफूलाई १० करोड रुपैयाँ दिइएको र त्यसमध्ये दुई करोड रुपैयाँ हुन्डीमार्फत पठाइएको पुष्टि भइसकेको छ । पोखरा विमानस्थलको निर्माणमा संलग्न चिनियाँ ठेकेदारमार्फत त्यसरी अधिकारीले पाठकलाई दुई करोड हुन्डीमार्फत पठाएका थिए । यससम्बन्धी प्रमाण संकलनका लागि इन्टरपोलको सहयोगमा प्रहरीले काम गरिरहेको छ । यस प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वमहानिर्देशक अधिकारीको समेत बयान लिइसकेको छ ।

प्रहरी स्रोतका अनुसार पाठकले अधिकारीले दुई करोड दिएपछि आफूले धम्क्याएको स्विकारेका छन् भने अधिकारीले भने पाठकसँग आफ्नो सम्बन्ध अस्वीकार गरेका छन् । जबकि, अधिकारीकै मोबाइलमा एक्ट्रिमिस्ट अर्गनाइजेसन अफ नेपालको लेटरप्याड भेटिएको थियो । जुन उनलाई ठेकदार नवीन बस्नेतले पठाएका थिए । यस प्रकरणमा बस्नेतसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ । उनको एउटा मोबाइल पनि अनुसन्धानका लागि प्रहरीले राखेको छ । तर, पछिल्लो चार महिनामा उनले पाँचवटा मोबाइल बोकेको अनुसन्धानबाट खुलेको छ । पुराना मोबाइल उनले अनुसन्धानमा देखाएका छैनन् । एक्ट्रिमिस्ट ग्रुपको लेटरप्याड बनाउनेदेखि अख्तियारको अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको तथा भारतीय तान्त्रिकमार्फत अख्तियारका आयुक्तहरूलाई असर पार्ने काममा बस्नेतको संलग्नताको प्रमाण फेला परिसकेको छ । तर, अझै प्रहरीले उनलाई पक्राउ गरेको छैन ।
ठेकेदार बस्नेतले भैरहवा विमानस्थलको ट्याक्सी–वे र अप्रोन निर्माणको ठेक्का पाएपछि उनीहरूबिच निकटता बढेको थियो । आफूले केपी ओलीमार्फत मुद्दा मिलाइने भन्दै अधिकारीसँग उनले करोडौँको नाफा लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसरी पनि भ्रष्टाचारबाट जोगिन अधिकारी भारतीय तान्त्रिक साराई किनेरा (जगदम्बे गुरु)को समेत शरणमा पुगेका थिए । अख्तियारका प्रमुख आयुक्तको फोटो पठाएर उनले ‘वह दुष्ट आद्मीको नष्ट करना चाहिए’ भन्दै म्यासेज पठाएका थिए ।
उनीहरूकै निर्देशनअनुसार ती तान्त्रिकले प्रमुख आयुक्त राईलगायतको प्रतिमा बनाएर आगोमा जलाई जप गरेको भिडियोसमेत प्रहरीले फेला पारेको छ । प्रहरीले ती तान्त्रिक बाबालाई समेत सोधपुछ गरी हाजिरी जमानीमा छाडेको छ । प्रहरीले पाठक र अधिकारीविरुद्ध आपराधिक लाभ, ज्यान मार्ने आपराधिक षड्यन्त्र गर्न नहुने तथा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ । यो मुद्दामा इन्टरपोलसमेतको समन्वयमा थप प्रमाण संकलनको काम भइरहेको काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराई बताउँछन् ।
बैंक कर्मचारीको नाममा सम्पत्ति
हालसम्मको अनुसन्धानमा अधिकारीले अकुत सम्पत्ति जुनु थापाको नाममा जम्मा गरेको प्रमाणहरू भेटिएका छन् । थापाको नाममा ललितपुरमा तीनवटा घर भेटिएका छन् । उनको परिवारको नाममा बैंकका स्रोत नखुलेको करोडौँ रकम डिपोजिट रहेको खुलेको छ । अवैध सम्पत्ति उनै थापालाई राख्न दिने गरेका प्रमाण पनि भेटिएका छन् ।
प्रदीपकी श्रीमतीसँगको गत ७ असोजमा भएको ह्वाट्सएप संवादमा पैसा रहेको सुटकेसको प्रसंग छ । जुन जुनुले नै लिएर गएको बताएको छ । अधिकारीले सो रकम आफूले नगनेको र करिब ३०–४०(लाख) होला भनेर च्याटमा भनेका छन् । अधिकारीविरुद्ध आयोगले अकुत सम्पत्तिको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रमाण संकलनका लागि थापाको घरमा समेत छापा मारेको छ । साथै, अकुत सम्पत्ति उनको नाममा लुकाएको सूचनाका आधारमा अख्तियारले पनि ती महिलालाई छानबिनको दायरामा ल्याएको छ ।
एक लाख डलर घुसको प्रस्ताव
ह्वाट्सएपमा भएको कुराकानीमा दक्षिण अफ्रिकी देशमा दर्ता भएका दुई एयरबसलाई नेपालको विमानस्थलमा अवतरण गर्न दिने र त्यसबापत एक लाख अमेरिकी डलर घुस दिने कुरा विवरणसमेत फेला परेको छ । अमेरिका बस्ने अधिकारीका साथी अर्जुनबहादुर खड्काले यस्तो प्रस्ताव गरेको देखिन्छ । कुराकानीअनुसार ती विमान लाओस वा मलेसियाबाट उड्ने नेपालमा प्राविधिक स्टकओभर गरेर अफ्रिकाको कुनै देशमा जाने कुरा उल्लेख छ । गत १९ असोजमा उनीहरूबिच यस्तो कुराकानी भएको छ । दुईवटा विमान नेपालमा स्टभओभरकै लागि एक लाख डलर घुसको प्रस्तावको पछाडिमा यसमा कुनै अन्य स्वार्थ जोडिएको हुन सक्ने आशंका गरिएको छ ।