कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी ४ वैशाखमा निर्वाचन हुने भएको छ । २ वैशाखमा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र ४ वैशाखमा निर्वाचन गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिमा राजु कटुवाल र मुना भुसाल सदस्य छन् ।
रसाइलीका अनुसार दलको नेता चयनका लागि सर्वसहमतिको प्रयास गरिनेछ । सहमति नजुटे प्रतिस्पर्धाका आधारमा नेता चयन गरिने उनले बताए । संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् । केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद हुन् । प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ । मोहन आचार्य, भरत खड्का, निस्कल राईलगायतको पनि चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् । जसमध्ये २० समानुपातिक र १८ प्रत्यक्ष निर्वाचित हुन् ।
प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले कांग्रेसभित्र रस्साकस्सी छ । पूर्वसहमहामन्त्रीद्वय केसी र आङ्देम्बेले सहमतिमा दलको नेता बन्ने प्रयास गरेका छन् । आङ्देम्बेलाई १४औँ महाधिवेशन पक्षधरको पनि समर्थन छ ।
कांग्रेस सभापति गगन थापा सहमति जुटे केसी र नजुटे मोहन आचार्यलाई दलको नेता बनाउनुपर्ने पक्षमा छन् । पञ्चायतकालदेखि चुनाव लड्दै आएका, पाँचपटक मन्त्रीसमेत भइसकेका केसी अनुभवी सांसद हुन् । केसीकै कारण दलको नेता चयनमा ढिलाइ भएको नेताहरू दाबी गर्छन् । केसी सुरुमा ज्येष्ठ सदस्यका रूपमा सभामुखको भूमिकामा थिए । उनले दलको नेतामा दाबी गरेका कारण सभामुख निर्वाचनअघिसम्म दलको नेता चयनको विषय उठेन । रास्वपाका डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि सभा सञ्चालन गर्नुपर्ने केसीको भूमिका सकियो । त्यसपछि केसीले दलको नेताका लागि सहमतिको प्रयास गरे पनि सफलता हात पारेका छैनन् ।
सहमति नजुटेपछि कांग्रेस उपसभापति पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले सहमति नभएको अवस्थामा दलको नेतामा दाबी छाडिदिन केसीलाई भेटेरै आग्रह गरेका थिए । ‘तपाईंंको नाममा सहमति भयो भने ठिक छ । सहमति नभए दाबी छाडिदिनुपर्छ,’ उनीहरूले केसीलाई भनेका थिए । उपसभापति भुसालले सर्वसम्मत बनाउने प्रयास जारी रहेको बताइन् । ‘दलको नेता सर्वसम्मत बनाउने प्रयासमा छौँ । सर्वसम्मत बनाउने क्रममा कसको नाममा सहमति हुन्छ, त्यो सहमति भएपछि नै थाहा हुन्छ,’ उनले भनिन् ।
उपसभापति विश्वप्रकाश शर्मा आङ्दम्बेको नाममा सहमति जुटाउने प्रयासमा छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री बनेका आङ्देम्बे गत विशेष महाधिवेशनको विपक्षमा थए । १४औँ महाधिवेशन पक्षधर पनि आङ्दम्बेको पक्षमा देखिएको छ । नेता विमलेन्द्र निधिले आङ्देम्बे दलको नेतामा उपयुक्त पात्र भएको बताए । ‘संसदीय दलको नेतामा सहमहामन्त्री भइसकेको, जनजातिको छोरो भीष्मराज आङ्देम्बे उपयुक्त पात्र हुनुहुन्छ । सबै हिसाबले उहाँ उपयुक्त हुनुहुन्छ । यद्यपि, यो संसदीय दलको अधिकारको कुरा हो,’ निधिले भने ।
४ वैशाखमा संसदीय दलको नेता चयन हुने संसदीय दलको नेता चयन गर्न गठित समितिका संयोजक प्रकाश स्नेही रसाइलीले बताए । कांग्रेस सहमहामन्त्रीसमेत रहेका स्नेहीले भने, ‘२ वैशाखमा निर्वाचनको कार्यतालिका ल्याउछौँ । ४ वैशाखमा दलको नेता चयन गर्छौँ । सकेसम्म सहमतिको प्रयास हुन्छ । सहमति नभए चुनावी प्रक्रिया अगाडि बढ्छ ।’