- २१ फागुनको निर्वाचन परिणामपछि युवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मुलुकमा आमूल परिवर्तनको अपेक्षा बढेको छ
मुलुकले अहिले नयाँ नेतृत्व पाएको छ– युवाहरूको । नयाँ नेतृत्वसँगै मुलुक एउटा महत्वपूर्ण मोडमा उभिएको छ, जहाँ दुई दिशा स्पष्ट देखिएका छन् । एउटाले समृद्धिको संकेत गर्छ भने अर्काले अस्थिरताको । विगत तीन दशकका निराशाजनक अनुभवबाट वाक्क भएका नेपाली जनता अब मुलुकमा अस्थिरता चाहँदैनन् भन्ने भर्खरैको निर्वाचन परिणामले स्पष्ट पारेको छ । त्यसैले, अस्थिरताको पाटोबारे थप बहस गर्नु आवश्यक देखिँदैन । तर, अब मुलुकलाई जनताले चाहेको सही दिशामा लैजाने कि नलैजाने एवं जनताको आशा र भरोसा बन्ने कि नबन्ने भन्ने निर्णय गर्ने जिम्मा नवगठित सरकारको काँधमा छ । यो कुरा उनीहरूको कार्य सम्पादनमा निर्भर रहनेछ र आगामी दिनमा क्रमशः स्पष्ट हुँदै जानेछ ।
पुरातन सोच, अदूरदर्शिता, सत्तालोलुपता, भ्रष्टाचार र नेताबिच हुने वाक्युद्ध, नातावाद र कृपावाद यिनै विशेषताले विगतको राजनीति भरिएको थियो । ०४६ को परिवर्तनको समयमा पंक्तिकार कक्षा ९ मा पढ्थ्यो । मुलुकमा प्रजातन्त्र पुनर्बहाली हुनु आफैँमा ऐतिहासिक उपलब्धि थियो र आजको नयाँ परिवर्तनका लागि पनि त्यो उपलब्धि नै एउटा महत्वपूर्ण आधार हो ।
विगत तीन दशकमा मुलुकमा व्यापक परिवर्तन भए । जनताले मौलिक हक, अधिकार र स्वतन्त्रताको अनुभूति गर्न पाए । नयाँ संविधान बन्यो । फेरि मुलुक जटिल द्वन्द्वमा फस्यो, त्रासदीको वातावरण मौलायो । लोकतन्त्र आयो, गणतन्त्र आयो । यस अवधिमा ठुल्ठुला राजनीतिक अभ्यास र अनुभव भए । मुलुकमा विकास नै नभएको होइन, तर विश्वमा भइरहेको तीव्र परिवर्तनको तुलनामा जनताले समृद्ध मुलुक देख्न नपाएका मात्र हुन् । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत तथा महत्वपूर्ण क्षेत्र आज पनि सामान्य नेपाली नागरिकको पहुँचभन्दा टाढा छन् । बेरोजगारीको उस्तै छ । नेतृत्वबिचको शक्ति संघर्ष, दम्भ र अहंकारको चक्रव्यूहमा मुलुक अल्झिरह्यो । गलत राजनीतिक अभ्यासले सहर मात्र होइन, गाउँ, समाज र परिवारसम्म विभाजन गर्यो ।
युवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मुलुकमा आमूल परिवर्तनको अपेक्षा बढेको छ । सायद अब यही नै नेपाली जनताको आशा हुनुपर्छ । भर्खरै सम्पन्न निर्वाचनका परिणामले नेपाली राजनीति क्रमशः ‘युवामय’ बन्दै गएको देखिन्छ । यसले मुलुकको भविष्य युवाको हातमा हुनुपर्छ भन्ने जनभावनालाई उजागर गरेको छ । त्यसैले यो परिवर्तन केवल उमेरको आधारमा मात्र नभई सोच, दृष्टिकोण र कार्यशैलीका हिसाबले पनि एउटा गहकिलो ‘ट्रान्सफर्मेसन’ हो । युवा मस्तिष्कको दैनिकी स्मार्ट प्रविधि, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष सपना र नयाँ युगको परिकल्पनासँग गाँसिएको छ । निर्वाचित सांसदको संख्यामा शिक्षित र आआफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका युवाको बढ्दो उपस्थिति मुलुका लागि सकारात्मक संकेत हो । संसद् र सरकारमा दक्ष युवाको उल्लेखनीय उपस्थितिले अब मुलुक पुरानै अवस्था र पुरातन कार्यशैलीमा चल्न नसक्ने स्पष्ट पारेको छ । २१औँ शताब्दीको गतिसँगै अघि बढ्न अब नयाँ सोच र ऊर्जाको विकल्प छैन । दलनिकट कार्यकर्ता र सधैँ नेतृत्वबाट लाभ लिइरहेकाहरूबाहेक अधिकांश जनताले अहिलेको राजनीतिक रूपान्तरणलाई सकारात्मक र आशाका रूपमा हेरेका छन् । साथै नयाँ दलको उदयले इतिहास बोकेका पुराना राजनीतिक दललाई समयानुकूल नेतृत्व पुस्तान्तरण, अनुशासित राजनीति र नवीन सोच अवलम्बन गर्न घचघच्याएको छ ।
समृद्धिका लागि सन्तुलित कूटनीति : सही सोच, परिपक्व विचार, स्पस्ट दृष्टिकोण र गहिरो अध्ययनविना युवाको यो नयाँ सरकारका लागि राज्य सञ्चालन सहज छैन । परिणाम नसोची, केवल लहड र तातो जोसमा गरिने निर्णय सधैँ सकारत्मक हुन्छन् भन्ने हुँदैन । अर्कातर्फ, छिमेकी मुलुकसँगको सम्बन्ध दरिलो हुन सकेन भने मुलुकको सर्वांगीण विकासमा गम्भीर अवरोध आउन सक्छ ।
नेपाल दुई ठुला र उदीयमान विश्व शक्ति चीन र भारतको बिचमा रहेको छ । यसकारण भू–राजनीतिक दृष्टिकोणले नेपाल कमजोर होइन, बरु विश्वको केन्द्रमै अवस्थित एक महत्वपूर्ण राष्ट्र हो । त्यसैले हाम्रो भूपरिवेष्ठित अवस्थालाई चुनौतीका रूपमा मात्र नभई, अवसरका रूपमा पनि लिन सक्नुपर्छ । विशेषगरी, उत्तरतर्फ चीनले हासिल गरेको तीव्र आर्थिक, सामाजिक तथा विज्ञान–प्रविधिको विकासबाट लाभ लिन सक्नु र दक्षिणतर्फको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धलाई सन्तुलित रूपमा कायम राख्नु नै हाम्रो परराष्ट्र नीतिको मूल आधार हुनुपर्छ ।
तसर्थ, प्रभावकारी, फलदायी र सन्तुलित परराष्ट्र नीति अपरिहार्य छ । नेपालले सकारात्मक र व्यावहारिक कूटनीति अवलम्बन गर्न सक्यो भने आफ्नो मात्र होइन, दक्षिण एसियाकै समृद्धिका लागि समेत एक कुशल ‘मध्यस्थकर्ता’को भूमिका निर्वाह गर्न सक्छ । कूटनीतिमा विश्वास र भरोसा सबैभन्दा महत्वपूर्ण तत्व हुन् । त्यसैले विश्व शक्तिको चासोको केन्द्रमा रहेको हाम्रो देशले छिमेकी तथा टाढाका मुलुकसँग कस्तो सम्बन्ध राख्ने र कस्तो व्यवहार गर्ने भन्ने विषयमा स्पष्ट नीति, गहिरो ज्ञान र दूरदृष्टि राख्न आवश्यक छ । सोहीअनुरूप सम्बन्ध निर्माण गर्न नयाँ नेतृत्व सक्षम हुनुपर्छ, किनकि छिमेकको विकासबाट जति लाभ लिन सकिन्छ, त्यति नै मुलुकका लागि हितकर हुन्छ ।
विगतमा कतिपय नेतृत्वकर्ताले विदेशमा मात्र होइन, स्वदेशमै रहँदासमेत आफ्नो मर्यादा र कूटनीतिक ‘प्रोटोकल’ बिर्सिएका उदाहरण प्रशस्त छन् । यसकै कारण अपमानजनक घटना पनि भएका छन् । कूटनीतिक मर्यादासँग मेल नखाने अभिव्यक्ति दिने र राष्ट्रिय गरिमालाई कमजोर पार्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ । नेता, प्रशासक वा सर्वसाधारण, सबैका लागि अनुशासन अत्यन्त महत्वपूर्ण हुन्छ । साथै, राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा हाबी हुनु र सक्षम व्यक्तिलाई प्रभावहीन स्थानमा पठाउनुले हाम्रो कूटनीतिक दक्षतामाथि गम्भीर प्रश्न उठाएको हुनाले अब दक्ष कूटनीतिज्ञ पहिचान गरी उनीहरूलाई राष्ट्रिय हितमा परिचालन गर्नु अपरिहार्य छ ।
शिक्षा, रोजगारी र युवा पलायनको चुनौती : मुलुकमा विभिन्न परिवर्तन भएका छन्, तर तिनलाई विकासका रूपमा व्यख्या गर्न सकिन्न । धेरैजसो परिवर्तन त समयले स्वाभाविक रूपमा ल्याएका रूपान्तरण अर्थात् ट्रान्सफर्मेसन मात्र हुन् । वास्तविक विकासको मापन त जनताको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । बाटोघाटो बन्नु मात्र विकास होइन, पूर्वाधारसँगै जनताको जीवनस्तर उकास्ने संरचना निर्माण हुनु नै विकासको सार हो । जबसम्म सामान्य नागरिकका लागि सहज स्वास्थ्य सेवा, सुलभ तथा गुणस्तरीय शिक्षा र गाँस, वास तथा रोजगारी सुनिश्चित हुँदैन, तबसम्म रूपान्तरणको अर्थ रहँदैन ।
हाम्रा युवा एसइई वा कक्षा १२ उत्तीर्ण गरेलगत्तै विदेश पलायन हुन बाध्य छन् । आफ्नै देशमा भविष्य देख्न नसक्नु र सपना पूरा हुने आधार नपाउनु राष्ट्रका लागि ठुलो क्षति हो । युवा पलायन रोक्न केवल भाषण र नाराले पुग्दैन । जबसम्म उनीहरूका सपना यहीँ साकार हुने वातावरण निर्माण गर्न सकिँदैन, तबसम्म मुलुक समृद्ध बन्न सक्दैन ।
विज्ञान र प्रविधि मुलुकको विकासका आधारस्तम्भ बन्न सक्छन् । विज्ञान कूटनीतिलाई प्रभावकारी बनाउँदै छिमेकी मुलुकमा भएका विज्ञान तथा प्रविधिको विकासबाट लाभ लिई मुलुकमै आधार निर्माण गर्नु आजको आवश्यकता हो । त्यसका लागि आवश्यक नीति र बजेट सुनिश्चित गर्दै विश्वविद्यालय तथा विज्ञान–प्रविधिमा कार्यरत संस्थालाई सक्रिय बनाउनु अपरिहार्य छ । नवगठित सरकारको १०० बुँदे प्रतिबद्धता पत्रमा विज्ञान तथा प्रविधिले उचित स्थान पाएको भने देखिँदैन । विगत एक दशकमा नेपालीले नै नेपालसँग सम्बन्धित थुप्रै वैज्ञानिक अनुसन्धान गरेका छन्, तिनलाई समेटेर राष्ट्रिय विज्ञान, प्रविधि र वातावरण संरक्षणसम्बन्धी आधारभूत नीति–निर्माण गर्न सकिन्छ ।
सुशासन र संस्थागत सुधार : मुलुकको समृद्धिको अर्को ठुलो बाधक भनेको भ्रष्टाचार, नातावाद, कृपावाद र परिवारवाद हो । घुसखोरी अन्त्य गरी एउटा पारदर्शी, प्रणालीगत र प्रक्रियागत शासन स्थापित गर्नु आजको आवश्यकता हो । तर, शिक्षण संस्था र सरकारी कार्यालयसमेत राजनीतिक भागबन्डाको सिकार बनेका छन् । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी दलीय आधारमा विभाजित हुँदा स्वच्छ शैक्षिक प्रतिस्पर्धा कमजोर बनेको छ, जसले निष्पक्ष युवाको भविष्य प्रभावित पारेको छ । आजको युवा पुस्ता विश्वविद्यालयमा राजनीति होइन, ज्ञान र सपना खोज्छ । नेतृत्व विकास र राजनीतिमा सहभागिता त दक्षता हासिल गरेपछि उनीहरूले स्वेच्छाले रोज्न सक्छन् ।
सरकारी निकायमा पनि दलीय आस्थाका आधारमा काम हुने प्रवृत्तिले आमनागरिकले पाउने सेवालाई प्रत्यक्ष असर पुर्याएको छ । राजनीतिक विचार हुनु स्वाभाविक भए पनि सार्वजनिक स्थल र सरकारी संयन्त्रमा दलीय भागबन्डा अन्त्य गर्दै योग्यता र क्षमताका आधारमा सेवा प्रवाह हुनुपर्छ । सरकारले शैक्षिक र सरकारी क्षेत्रमा राजनीतिक संगठन खारेज गर्नु सकारात्मक छ ।
हामी २१औँ शताब्दीको प्रारम्भमै छौँ । आजको युवा पुस्ताले मुलुकको जुनसुकै कुनाबाट पनि विश्व नियाल्न सक्छ । विश्वमा भइरहेका गतिविधि प्रत्यक्ष रूपमा अनुभूत गरिरहेको पुस्ताले ढाँट र झुटलाई सजिलै स्विकार्दैन । इतिहासबाट सिक्दै नयाँ इतिहास रचना गर्नु नै आजको आवश्यकता हो । शैक्षिक गुणस्तर वृद्धिसँगै विश्वविद्यालयमा रचनात्मक अभ्यासलाई प्राथमिकता दिनुपर्छ र समयअनुसार परिवर्तन पनि आवश्यक छ । मुलुकको विकाससँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण निकायका जिम्मेवार पदमा राजनीतिक वा गुटगत भागबन्डाभन्दा पनि क्षमता र दक्षताका आधारमा नियुक्त गर्ने पद्धति स्थापित गर्नु अत्यावश्यक छ ।
अहंकार कि सहकार्य : नयाँ सरकार अवसर र चुनौतीको दोसाँधमा छ । जनताले दिएको म्यान्डेट र विश्वासको कदर गर्दै अघि बढ्नु सरकारको प्रमुख जिम्मेवारी हो । मुलुक अपरिपक्व निर्णय, प्रतिशोध, हचुवा वा केवल युवा जोसका आधारमा चल्न सक्दैन । यसका लागि गहिरो अध्ययन, अभ्यास, विज्ञसँगको परामर्श, संवेदनशीलता, दूरदृष्टि र पारदर्शिता आवश्यक हुन्छ । अनुभव मात्र सबै कुरा होइन, तर ज्ञान, सोच, विज्ञता र दीर्घदृष्टि विकासका निर्णायक पक्ष हुन् । ‘हामी सबै विज्ञ छौँ’ भन्ने अहंकार पनि हितकर हुँदैन । विगतका अनुभवले देखाएका छन्, नेतृत्वको अहंकारले मुलुकलाई जटिल परिस्थितिमा पुर्याएको छ । जिम्मेवार नेताहरू आपसी द्वन्द्व, आरोप–प्रत्यारोप र सत्ताप्राप्तिको दौडमा लाग्दा मुलुक राजनीतिक प्रयोगशाला बनिरह्यो । अन्ततः यही पृष्ठभूमिबाट जेन–जेड आन्दोलनको उदय भयो र आज युवा नेतृत्वमा नयाँ सरकार बनेको छ ।
अबको नेतृत्वले अहंकार त्यागेर सहकार्य र आपसी विश्वासको वातावरण निर्माण गर्नुपर्छ । पूर्वाग्रहविहीन वातावरण सिर्जना गर्दै मुलुकको सर्वांगीण हितका लागि नयाँ बाटो तय गर्न आवश्यक छ । पुराना दलको खबरदारी पनि उत्तिकै आवश्यक छ । यो उनीहरूका लागि आत्मसुधारको अवसर पनि हो । पुराना पुस्ताले क्रमशः विश्राम लिँदै राजनीतिक दलमा युवाको उदय हुनु जरुरी छ ।
अन्त्यमा, युवाहरूको विशेषज्ञतालाई सही ठाउँमा उपयोग गर्ने, सन्तुलित कूटनीतिमार्फत अन्तर्राष्ट्रिय लाभ लिने, शिक्षा र स्वास्थ्यमा आधारभूत सुधार गर्ने र सुशासन कायम गर्ने दिशामा सरकार दृढतापूर्वक अघि बढोस् भन्ने नै आमनेपाली जनताको चाहना हो । नयाँ ढंगले कार्यसम्पादन गर्दै यी पक्षलाई सम्बोधन गर्न सकिए मात्र समृद्ध र आत्मनिर्भर नेपालको सपना साकार हुनेछ । अन्यथा, यो सरकार पनि अहंकार, दम्भ र प्रतिशोधमै केन्द्रित भयो भने मुलुकको रूपान्तरणका लागि जलेका अमूल्य सम्पदा र भएका बलिदान व्यर्थ जानेछन् ।
(डा. कट्टेल चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङका नेपाली वैज्ञानिक हुन्)