विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली फिचर चलचित्र छनोट भएको छ । अविनाशविक्रम शाहले लेखन तथा निर्देशन गरेको ‘एलिफेन्ट्स इन द फग’ कान्सको मुख्य प्रतिस्पर्धा मानिने ‘अन सर्टेन रिगार्ड’मा छनोट भएको हो । कान्समा छनोट हुने फिचर चलचित्रमा यो पहिलो भए पनि समग्र नेपाली चलचित्रमा दोस्रो हो । शाहले नै निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले सन् २०२२ मा कान्सको ७५औँ संस्करणमा सर्ट फिल्म विधामा ‘स्पेसल मेन्सन अवार्ड’ जितेको थियो ।
‘एलिफेन्ट्स इन द फग’ नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ । चलचित्रमा अल्पसंख्यक समुदायका कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा दीपिका यादव, पुष्पा थिङ, आकांक्षा कार्की, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबागलगायतको अभिनय छ ।
‘अन्डरग्राउन्ड टकिज नेपाल’का तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती क्रिएसन्सका तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माता छन् । यो चलचित्रको छायांकन नोए बाक र सिरिलले गरेका छन् । सम्पादन एन्ड्यु बर्ड र पेरिस बर्जनको छ । ध्वनि, संगीत, कला निर्देशन र अन्य प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टिमको संलग्नता छ ।
यो छनोटले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच र मौलिक कथावस्तुको शक्ति पुनः एकपटक विश्वसामु उजागर गरेको छ । शाहले नै लेखेका ‘कालो पोथी’, ‘हाइवे’ र ‘तटिनी’ फिल्म विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेका छन् । पछिल्लो एक–डेढ दशकयता विश्वचर्चित फिल्म फेस्टिभल कान्स, बर्लिन, टोरन्टो, बुसान, भेनिस, लुकार्नो सनडान्सलगायतमा नेपाली सर्ट र फिचर फिल्मको उपस्थिति बाक्लै देखिन थालेको छ । मीन भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धाका लागि छनोट भएको थियो । त्यस्तै, क्यानडाको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रदर्शन भएको थियो । दीपक रौनियार निर्देशित फिल्म ‘हाइवे’ बर्लिन, ‘सेतो सूर्य’ र ‘राजागन्ज’ भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेका छन् ।
लेखक/निर्देशक शाह ‘एलिफेन्ट्स इन द फग’ कान्समा छनोट हुनुलाई ऐतिहासिक अवसरका रूपमा लिन्छन् । ‘कान्स फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा प्रायः नयाँ वा एक–दुईवटा फिल्म बनाइसकेका निर्देशकहरूबिच प्रतिस्पर्धा हुन्छ । मेरो यो पहिलो फिचर फिल्म भएकाले यहाँसम्म पुग्नु मेरो मात्र नभई, समग्र नेपाली कथाको उपलब्धि हो,’ उनी भन्छन्, ‘फेस्टिभलमा फिल्म पुग्नु अहिले सामान्य कुरा भयो । तर, कान्सजस्तो फेस्टिभलमा हाम्रो कथा पुग्नु आफैँमा महत्वपूर्ण हो । आफ्नो फिल्म धेरै दर्शकसम्म पुगोस् भन्ने अपेक्षा हरेक फिल्ममेकरको हुन्छ । नेपालजस्तो देशको कथा पनि विश्व प्लेटफर्ममा पुग्दो रहेछ भन्ने कुरा आफैँमा महत्वपूर्ण हो ।’
शाहले फिल्मको कथा लेखनदेखि लगानी जुटाउने र कास्टिङसम्मका चरण चुनौतीपूर्ण रहेको अनुभव पनि सुनाए । ‘कहिलेकाहीँ आफूले चाहेजस्तो फिल्म बन्न नसक्ने हो कि भन्ने डर पनि थियो,’ उनी भन्छन्, ‘कथा लेखनको प्रक्रियादेखि फिल्म निर्माण गर्न निकै गाह्रो थियो । नेपाली कथा र मैले भन्ने खोजेको कुरा धेरै मान्छेले हेर्न पाउँछन् । यसले पनि फिल्ममेकरका रूपमा उत्साहित बनाएको छ । कान्समा छनोट भएपछि मैले विश्व सिनेमामा जसरी निर्माण शैली चलिरहेको, एउटा आवाज बोकेको फिल्म बनाउन सकेँजस्तो लाग्छ ।’
यस वर्षको कान्स १२ मेदेखि सुरु हुनेछ । उद्घाटन सत्रमा पियरे साल्भाडोरी निर्देशित सन् १९२० को परिवेशमा आधारित कमेडी सिनेमा ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिनेछ । यसपटक फेस्टिभलको निर्णायकमण्डलको नेतृत्व दक्षिण कोरियाली चर्चित सिनेमामेकर पार्क चान–वुकले गर्नेछन् । यस वर्ष बार्बरा स्ट्राइस्यान्ड र पिटर ज्याक्सनलाई मानार्थ पाल्मे डओरबाट सम्मान गरिने घोषणा गरिएको छ ।
कान्समा नेपाली फिचर चलचित्र छनोटको ऐतिहासिक उपलब्धिसँगै नेपाली फिल्म उद्योगप्रति अन्तर्राष्ट्रिय ध्यान आकर्षित हुने अपेक्षा गरिएको छ । चलचित्र समीक्षक डा. सचिन घिमिरे कान्सजस्तो प्रतिष्ठित फेस्टिभलमा नेपाली चलचित्र छनोट हुनु आफैँमा अर्थपूर्ण रहेको बताउँछन् । ‘एउटा चलचित्रकर्मीको लामो तपस्या, संघर्ष र मिहिनेतबाट मात्रै कान्सजस्ता फेस्टिभल पुग्न सम्भव हुन्छ । चलचित्रकर्मीको मिहिनेत र संघर्षलाई राज्यले बुझ्नुपर्छ । यस्ता चलचित्रर्मीका लागि राज्यतर्फबाट अतिरिक्त सहयोग र साथको अपेक्षा हुन्छ,’ उनी भन्छन्, ‘यस्तो वेला राज्यले अभिभाविकीय भूमिका निभाएर अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि सहयोग गर्नुपर्छ ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी कान्समा नेपाली फिचर चलचित्र छनोटलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरेको बताउँछन् । ‘यो नेपाली चलचित्र उद्योगका लागि गर्वको क्षण हो । व्यक्तिगत संघर्षबाट नेपाली चलचित्र त्यहाँ पुगेको छ, सरकारले पनि यस्ता अन्तर्राष्ट्रिय सफलतालाई प्रोत्साहन गर्नुपर्छ । हामी अब नेपाली फिल्मलाई विश्व बजारमा प्रवर्द्धन गर्न थप पहल गर्नेछौँ । यस्ता प्रयासलाई संस्थागत रूपमा सहयोग गर्ने योजना बनाइरहेका छौँ,’ उनले भने ।
अध्यक्ष डिसीका अनुसार कान्स फेस्टिभलमा चलचित्र विकास बोर्डले आफ्नै आधिकारिक स्थान (बुथ) लिएर नेपाली फिल्मको बजार विस्तार तथा प्रवर्द्धन गर्ने तयारी गरेको छ । ‘हामी आफैँले ठाउँ लिएर नेपाली फिल्मको बजार प्रवर्द्धन गरिरहेका छौँ । यहीबिचमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट हुनु एउटा अवसर पनि हो । यसपटक कान्समा नेपालको आफ्नै बुथमार्फत प्रचारप्रसारलाई थप प्रभावकारी बनाइनेछ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेटवर्क विस्तार र वितरणका सम्भावना बढाउने अपेक्षा गरिएको छ,’ उनले भने ।
बोर्डले यो उपलब्धिलाई प्रवर्द्धन गर्न चलचित्र निर्माण टिमलाई आर्थिक सहयोग गर्ने जनाएको छ । बोर्डले ट्राभल ग्रान्टसँगै अतिरिक्त बजेटमार्फत सहयोग गर्ने तयारी गरेको डिसीले बताए । अन्तर्राष्ट्रिय ठुला फेस्टिभलमा विगतमा आफ्नै स्थानको अभाव थियो । जसले नेपाली चलचित्र निर्माताले कठिनाइ भोग्दै आएको थिए । डिसीले नेपाली सिनेमा उद्योगलाई ब्रान्डका रूपमा स्थापित गर्न राज्यले प्रवर्द्धन, सहयोग र प्रोत्साहनको भूमिका खेल्नुपर्नेमा जोड दिए ।