सबिना र प्रियंकाबिच स्वर्णका लागि प्रतिस्पर्धा हुने

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

विभागीय टोली नेपाल पुलिस क्लबकी सबिना श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी प्रियंका शाहीले महिला ५५ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै खेलाडी पाँचौँ कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेका हुन् । शुक्रबार सातदोबाटोस्थित कराँते एकेडेमीमा भएको खेलमा सबिनाले कोशी प्रदेशकी सिर्जना खुलाललाई १२–५ र प्रियंकाले कर्णाली प्रदेशकी प्रियंका शाहीलाई ३–० ले पराजित गरेका हुन् । 

पुलिसका एलोन श्रेष्ठ र बागमती प्रदेशका निश्चित घले पुरुष ५५ केजी तौल समूहको फाइनलमा पुगेका छन् । सेमिफाइनलमा एलोनले सुदूरपश्चिम प्रदेशका आनन्द कार्कीलाई ५–२ तथा निश्चिलले मधेश प्रदेशका रोहित ठाकुरलाई ६–५ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । एपिएफका राकेश मानन्धर र गण्डकी प्रदेशका बमिन गुरुङले पुरुष ५० केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । राकेशले पुलिसका सुजन तामाङलाई ६–० र बमिनले सुदूरपश्चिम प्रदेशका गजेन्द्र साउदलाई ७–३ ले हराउँदै फाइनलको यात्रा तय गरेका हुन ।

बागमतीकी पार्वती श्रेष्ठ र एपिएफकी अन्जली महर्जन ५० केजी महिलाको फाइनलमा पुगेका छन् । पुलिसकी एलिशा राई र आर्मीकी सम्पदा केसीले महिला ६८ केजी‌मुनिको तौल समूहको स्वर्ण पदकका लागि आज नै प्रतिस्पर्धा गर्दै छन् । मधेश प्रदेशका रितिक थिङ र एपिएफका मीनबहादुर पुरुष ६० केजी तौल समूहको फाइनलमा पुगेका छन् । एपिएफका मोहम्मद शेखु आलम र लुम्बिनीका कृष्ण बुढामगर पुरुष ८४ केजीमुनिको तौल समूहको फाइनलमा पुगे । 

पुलिसकी वर्षा बुढा र एपिएफकी आस्था लुहारले महिला ४५ केजीमुनिको तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दा पुलिसकै सन्तोष श्रेष्ठ र एपिएफका प्रदीप बैजाली मगर पुरुष ६७ केजी तौल समूहको फाइनल खेल्दैछन् । आर्मीकी श्रद्धा सुनार र पुलिसकी निरूपा दोङ तामाङले ६१ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा सात प्रदेश र तीन विभागका गरी दुई सय १० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको टिम च्याम्पियनले एक लाख ५० हजार, दोस्रोले ७५ हजार र तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला–पुरुषतर्फको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उदीयमान खेलाडीले प्राप्त गर्ने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

 आर्मी काताको सबै इभेन्ट्सको फाइनलमा
त्रिभुवन आर्मी क्लब पाँचौँ प्रतियोगिताको कातातर्फको सबै इभेन्ट्सको फाइनलमा पुगेको छ । प्रतियोगिताको महिला–पुरुष एकल र टिम सबैमा आर्मीका खेलाडी र टोली फाइनलमा पुगेका हुन् । त्यस्तै, नेपाल पुलिस क्लब महिला एकलबाहेक काताको सबै इभेन्ट्सको फाइनलमा पुगेको छ । त्यस्तै, एपिएफकी सन्जु देसार महिला एकल काताको फाइनल पुगेकी छिन् । उनले फाइनलमा आर्मीकी सानुमाया थिङको सामना गर्नेछिन् । पुलिसकी एलिसा रास्कोटी मगर र बागमती प्रदेशकी दीपा पुनले महिला एकल कातामा कांस्य पदक जितेका छन् ।

सुझावित समाचार