वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगी घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस माग गरी दुःख हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उक्त टोलीले मस्राङगीलाई सेवाग्राहीबाट १५,००० (पन्ध्र हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ। साथै, उनको साथबाट स्रोत नखुलेको रु. ७७,६०० (सतहत्तर हजार ६ सय रुपैयाँ) समेत बरामद गरिएको छ।
यसरी जम्मा रु. ९२,६०० (बयानब्बे हजार ६ सय रुपैयाँ) नगद तथा तीन थान मोबाइलसहित उनलाई कार्यालयपरिसरबाट नियन्त्रणमा लिइएको हो। अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।