बाराको कलैयामा रहेको कारागार शाखा कार्यालयको नाममा दर्ता रहेको सरकारी जग्गामा हुँदै आएको अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सरकारी जग्गाको अतिक्रमण खाली गर्न ३० दिने हदम्यादको सूचना जारी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मिश्रद्वारा हस्ताक्षरित सूचनामा बारा जिल्लाको कलैया उपमहानगरपालिका– ४ (साबिक कलैया गाविस– ५) स्थित कारागार शाखा कार्यालय, कलैयाको नाममा दर्ता कायम रहेको कित्ता नम्बर १०३, १०२ र ४४४ नम्बरका सरकारी जग्गामा गरिएको अनुसन्धान, स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा विभिन्न व्यक्तिहरूद्वारा लामो समयदेखि गैरकानुनी रूपमा स्थायी तथा अस्थायी संरचना निर्माण गरी प्रयोग गरिएको पाइएको उल्लेख छ ।
उक्त जग्गा प्रयोग गर्ने सम्बन्धमा कुनै सरकारी निकायसँग सम्झौता नगरी आफूखुसी बसोबास तथा संरचना निर्माण गरिएको देखिएकाले सो कार्य प्रचलित कानुनविपरीत भएको सूचनामा जनाइएको छ ।
सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ को उपदफा ६ (क) बमोजिम उल्लिखित कित्ताहरूमा निर्माण भएका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र हटाउन भनिएको छ । तोकिएको समयभित्र संरचना नहटाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि सूचनामा जनाएको छ ।
२०२१ सालमा जग्गा जमिन नापनक्सा हुँदा कारागार बनाउन छुट्याइएको उक्त जग्गा हाल जिल्ला अदालत र नापी कार्यालयका कर्मचारीसहित सात–आठजनाले अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन् ।
यसअघि गत सोमबार प्रमुख जिल्ला अधिकारी मिश्राले जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई उक्त जग्गा खाली गराउन निर्देशन दिएका थिए।