विराटनगरमा चोरी गरेका सिटी सफारीहरू कबाडी बनाएर बिक्री गर्ने गरेको पाइएको छ। चोरी गरिएका सिटी सफारीहरू सिधै बिक्री गर्दा पक्राउ पर्ने भयले चोरको गिरोहले कबाडखानामा लगेर पुरानो बनाएर टुक्राटुक्रा बनाएर बिक्री गर्ने गरेको फेला परेको हो।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका– ६, सरौचियामा रहेको व्यवसायी विजय सहनीको कबाडी गोदाममा बिहीबार छापा मार्दा चोरी भएका सिटी सफारीका विभिन्न पार्टपुर्जाहरू फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी लीलाराज लामिछानेका अनुसार कबाडी गोदाम छापा मार्ने क्रममा प्लास्टिकका पुराना सामानले छोपेर चोरीका सिटी सफारीहरू लुकाएर राखिएको फेला परेका थिए। प्रहरीले गोदाममा छापा मार्न लागेको थाहा पाएपछि धनी विजय सहनी भने फरार भएका छन्।
प्रहरीले सिटी सफारीको संगठित चोरीबारे अनुसन्धान थालेको जनाएको छ। प्रहरीका अनुसार कबाडी व्यापारीहरूले चोरहरूलाई प्रयोग गरेर साइकल, मोटरसाइकल, पानी तान्ने मोटर आदि गोदाममा ल्याउन लगाएर बिक्री गर्दै आएका छन्।